धार्मिक यात्रा : हरिद्वार, ऋषिकेशदेखि मथुरासम्म

बंशीकुमार शर्मा
१९ माघ २०८१ ६:५८

वैदिक सनातनहरुमा दान, धर्म, जप, यज्ञ, पूजा, अचर्ना र तीर्थ जाने परम्परा अनादिकालदेखि चल्दै आएको पाइन्छ। महापुरुषको जन्मस्थल, ऋषिमुनिहरूको साधनास्थल, साधुसन्तको वासस्थल, देवदेवीको क्रीडास्थल एवंम् मठमन्दिरचैत्य-गुम्बालगायत आध्यात्मिक महत्व र गरिमा बोकेका स्थानलाई तीर्थस्थल भनिन्छ।

ऋग्वेदले तीर्थको वर्णन गरेको छ। पृथ्वी आफैँ पुण्यवती, प्राणदायी, आमा स्वरुपा भएकीले सबै स्थान तीर्थस्थल हुन्। महाभारतमा भनिएको छ–

“यथा देशाः शरीरस्य केचिन्मध्येतमा स्मृताः।
तथा पृथिव्यां देशाश्च केचित्पुण्यतमा स्मृताः।।
प्रभावादुद्भूताद् भूमेः सलिलस्य च तेजसा।
परिग्रहान्मुनीनां च तीर्थानां पुण्यता स्मृताः।।”

अर्थात् “जसरी शरीरका केही अङ्गहरू पवित्र मानिन्छन्, त्यस्तै पृथ्वीका केही भागहरू महत्वपूर्ण वा पवित्र मानिन्छन्। जसलाई तीर्थस्थल भनिन्छ। जुन स्थानमा भूमिको अद्भूत प्रभाव हुन्छ, पानीको प्रवाह वा संगम छ, ऋषिमुनि एवं महात्माहरू बस्दछन्, जन्मन्छन् वा आउँछन्, त्यस स्थानलाई तीर्थस्थल भनिन्छ।

वैदिक ग्रन्थमा सत्ययुगमा पनि ब्रह्मा, विष्णु र महेश्वरले तीर्थाटन गर्नुभएको वर्णन आउँछ। त्यसैगरि त्रेतायुगमा रामचन्द्र भगवान् र द्वापरयुगमा श्रीकृष्ण भगवान् वलराम लगायत पाण्डवले समेत तीर्थाटन गरेको वर्णन महाभारतमा पाइन्छ। तीर्थस्थलहरू भावनात्मक, आध्यात्मिक र भौतिकदृष्टिले पवित्र भएकाले शास्त्रीय नियमले गर्नुपर्दछ।

तीर्थस्थलमा साधना, चिन्तन, मनन र आध्यात्मिक शान्तिका लागि जाने हो। शास्त्रअनुकूल विधिपूर्वक तीर्थ गए अपेक्षित फल प्राप्त हुन्छ। जीवन धन्य, भक्तिभाव आर्जन तथा आत्मशुद्धी गराउन तीर्थ जानै पर्दछ।

प्राचीनकालदेखि नै तीर्थ यात्रा जाने परम्परा थियो र, छ पनि। वैदिक सनातनीहरु तीर्थयात्रामा जानु, पूजाअर्चना तथा धर्मकर्म गर्नु, दान दक्षीणा दिनु, धर्मको संस्कार हो। पद्मपुराणमा साढे तीन करोड तीर्थको बारेमा वर्णन गरिएको छ। भौतिक यात्रा आध्यात्मिक यात्राको माध्यम हो। तीर्थयात्रीहरू एक विशेष विचारका साथ यात्रामा निस्कन्छन्। त्यसलाई नै धार्मिक यात्रा भनिन्छ।

सनातन धर्मावलम्वीहरुको पवित्र तीर्थस्थल हरिद्वार ऋषिकेश हुन्। यिनको दर्शन गर्ने हाम्रो तीव्र इच्छा अनुसार भगवत्कृपा २०८१ मंसिरमा हामीलाई प्राप्त भयो।

हरिद्वार ऋषिकेश वृन्दावन मथुरा जानको लागि मंसिर ९ गते आइतवार बिहान ९ बजे तुलसीपुरबाट गाडीमा यो पंक्तिकार र मेरी श्रीमती रेखा गौतम नेपालगंज गयौँ। ने

पालगंज बाँकेमा अवस्थित रेखाका कान्छा मामाको घरमा दिउँसो १ बजे पुगी पूर्व योजना अनुसार रेखाका कान्छा मामा धनेश्वर आचार्य र माइजू बिनिता आचार्यसहित हामी चार जना उसैदिन अपरान्ह नेपाल भारत जमुना नाकाबाट आआफना झोला झिम्टी बोकेर सामग्री चेकजाँच गराएर रुपैडिहा पुग्याैं।

त्यहाँको बसपार्कमा हरिद्वार जाने गाडी भेटियो। गाडी छिमेकी मुलुक भारतीय स्थानमा दौडिए पनि गाडीभित्र सबै नेपाली थियौँं विकट जिल्ला कालिकोट, डोल्पा, हुम्ला, दैलेखका साथीहरु रोजगारीको सिलसिलामा सपरिवार जाँदारहेछन्।

अधिकांश निर्माण, सडक मजुदरीका लागि जाँदा रहेछन्। कता-कता नेपालीहरु मजबुरीले त्यो चीसो ठाउँमा मजदुरी गर्न गएको देख्दा मन कटक्क काट्यो। साना-साना बालबालिकाहरुलाई आफूसँगै लगेर जानु उनीहरुको विवशता र बाध्यता रहेछ।

यस विषयमा केहीलाई मैले सोधेको थिएँ उनीहरुको छोटो जवाफ नेपालमा काम केही पाइँदैन गाँउ घरमा गरेको मजदुरीले छ महिना मात्र खान पुग्छ। घर परिवार र गर्जो टार्नको लागि विदेशी श्रमको भर पर्नु हाम्रो बाध्यता हो।

यात्राभरि सहयात्री हुंँदै मंसिर महिनाको चिसो मौसमलाई वेवास्था गर्दै हामी हरिद्वार ऋषीकेशका लागि बढ्यौं। गाडीमा धार्मिक भजन गुञ्जीरहेको थियो। बस भारतीय भूभागमा गुडेतापनि बाहिरका झिलमिल दृश्यमा रमाउँदै र रात्रीकालीन चहलपहल हेर्दै सोमबार विहान ९ बजे हरिद्वार बसपार्कमा पुग्यौं। त्यहाँ दर्शनार्थीको सागर देखियो।

ठूला ठूला गेट बनाएर हरिद्वार दुलही जस्तै शृंगारिएको रहेछ। हामीहरुले एक आपसमा छुुट्टियौला कि भन्ने डरले एक अर्काको हात पकड्दै मानव सागरमा मिसियौँ। हामीले पहिला कोठा खोज्ने र झोला झाम्टा राखेर मात्र भगवानको दर्शन गर्न जाने निधो गर्‍याैं।

त्यही अनुसार ट्याम्पो चढेर लज खोज्न हिड्यौँ। हरिद्वार वसपार्कबाट एउटा अटो लिएर बासस्थानका लागि लज खोज्याँै। हरिद्वारको बजारमा केशव गेस्टहाउसको दोश्रो तलाको चार जना बस्न मिल्ने कोठा एक हजार तिरी बुक गर्‍याैं।

एक घण्टा जति फ्रेस भएर दर्शन गर्ने हरिपैडी तिर लाग्यौँ। हामी बसेकै लजदेखि करिब दुईदेखि तीन किलोमिटरको बाटोमा नै हरिपैडी लगायत मठ मन्दीरहरुको दर्शन गर्न मिल्ने रहेछ। लजबाट गंगा हरिकी पैडी जानलाईप्रति व्यक्ति १० रुपैयाँ अटो भाडा तिरी गएर नुहाईधुवाई गर्‍याैं।

घाटमा श्रद्धा तर्पण गर्नाले पितृ मोक्ष हुने शास्त्रीय मान्यता अनुसार पितृ तर्पण दिएर मनसा देवी र चण्डी देवीको दर्शन गर्न उडन खटौला चढेर गयौँ। देवीहरुको दर्शन गरेर खाना खाएर एक छिन कोठामा बिश्राम गरी सन्ध्याकालीन हरिकी पैडीमा महाआरतीको दर्शन गर्‍याैं।

गंगामा सन्त, महन्त, सन्यासी, भक्तालुहरु सबै गंगा आरती हेर्न जाँदा रहेछन्। त्यस क्षेत्रमा पुगेपछि मनमा शान्ति र आनन्दको महशुस भयो। त्यो मनोरम दृष्यलाई जति हेरे पनि हेरी रहाँै जस्तो लाग्ने तर समयले नेटो काटेकाले र दिनभरको थकानले गर्दा नौ बजे कोठामा गयाैं।

लजमा खाना खाने ब्यवस्था नभएकाले हामीले बाहिरै खाना खाएका थियौँ। हरिद्वार शास्त्रमा उल्लेख भए अनुसार स्वर्गको द्वार हो। यो पाहाडको फेदी गंगा नदीको किनारमा अवस्थित छ।

यहाँ गंगोत्रीबाट निक्लेकी गंगा बद्रीकेदारबाट आएकी अलकनन्दा र मन्दाकिनी (रुद्रप्रयागमा) मिलेर देवप्रकाशमा मिली गंगा समागम भई ऋषीकेश हुँदै हरिद्वारमा सलल बगेकी छिन्।

हरिद्वारमा गंगा स्नान गर्नाले पुण्डरिक यज्ञ गरेसमान फल प्राप्ति हुन्छ भन्ने शास्त्रमा उल्लेख छ। स्नान गर्नाले पनि कुलको उद्धार हुने तथा पवित्र हरिद्वारमा गंगास्नान, दान, उपवास गरेमा अश्वमेध यज्ञ गरेसमान फल पाइन्छ भन्ने शास्त्रमा उल्लेख गरेको छ।

हरिकी पैडीलाई ब्रह्मकुण्ड पनि भनिन्छ। राजा भगिरथले गंगाजीलाई मत्र्यलोकमा ल्याए पछि श्वेत नाम गरेका राजाले ब्रह्माजीको घोर तयस्या गरेछन् उनको तयस्यादेखि ब्रह्माजी प्रसन्न भएर वर माग भन्दा राजाले ब्र्रह्मा बिष्णु महेश्वरको यहाँ बास होस् यो ठाउँ हजुरका नामले ठूलो तीर्थस्थल बनोस् भन्ने माग गरेकाले ब्रह्माजीले तथास्तु भन्नु भएछ त्यसैले हरिकी पैडी वा ब्रह्मकुण्डको नामले प्रसिद्ध रहेछ।

यस ठाउँमा आएर राजा विक्रमादित्यका दाजु राजा भतृहरीले तपस्या गरेर अमरत्व प्राप्त गरेका थिए। दाजुको संझनामा राजा बिक्रमादित्यले सर्वप्रथम यस ठाउँमा तीर्थालुहरुको स्नानको लागि ब्यवस्थित गरिदिएका हुन् भन्ने इतिहासमा उल्लेख छ।

यस कुण्डमा एकातिरबाट गंगाको धार आउने र अर्कोतर्फबाट जलाधार निक्लने रहेछ। जस्ले गर्दा पानीको बहाव एकैनासको हुन्छ। यस कुण्डमा बिष्णुचक्र (पादुका) ,मनासादेवी ,गङ्गाधर महादेवका मन्दिरहरु र राजा मानसिङको छत्र (छाता) समेत छन्।

यहाँ प्रत्येक बाह्र वर्षमा जब चन्द्र र सूर्य मेष राशिमा हुन्छन् र बृहस्पति कुम्भ राशीमा स्थित हुन्छन् अनि यहाँ महान् पुण्यमेला अथात् महाकुम्भ मेला लाग्दछ। छ वर्षमा अर्धकुम्भ र प्रत्येक वर्ष वार्षिकमेला लाग्ने गर्दछ।

यस समयमा ब्रह्मकुण्डमा स्नान गर्न साधु, सन्त, महन्त र तीर्थालुहरुको उल्लेख्य उपस्थिती हुन्छ। हरिद्वारलाई बिभिन्न नामले पनि चिनिन्छ। यहाँ असंख्य मन्दिर र अखडाहरु छन्, जहाँ सामान्यतया आवास र प्रसाद निशुल्क व्यवस्था छ।

खाना बाड्ने बेलामा जो कोही पनि लाइनमा बसेमा बिना भेदभाव खान पाइन्छ। हरिद्वारमा केही सुपथ मूल्यका धर्मशाला छन् तर ठूला होटेलहरु पनि छन्। हरिद्वार समस्त हिन्दुमात्रको लागि नभई सम्पूर्ण सनातनी ओम्कार परिवारको उच्चतम आस्थाको केन्द्र हो। हिन्दुहरुको लागि गंगा पवित्रतम नदी हो।

हरिद्वारको पुनः दर्शन गर्ने मनसा बाचा राखी भोलीपल्ट ११ गते बिहान ७ बजेतिर ऋषीकेशको लागि यात्रा आरम्भ ग¥यौँ। यात्रामा हरिद्वारको बारेमा चर्चा गर्दै बिहान ९ बजे ऋषीकेश आइपुगियो। ऋषीकेशमा बास बस्नका लागि प्रशस्त मात्रामा धर्मशाला, आश्रम तथा लज छन्। हामी अमृत माधव आश्रममा बास बस्ने निधो गर्‍यौँ। सरसमान राखेर आश्रमका गुरुलाई सोधेर मन्दिर दर्शन गर्न गयाँै। स्नान गर्नको लागि त्रिवेणीघाट प्रसिद्ध छ। त्यस घाटमा गएर स्नान गर्‍यौँ।

त्यहाँ जप तपर्ण गरेर जानकी झुला हुँदै राम झुला, लक्ष्मण झुलाको दर्शन गर्‍यौँ। गंगापारि प्रसिद्ध स्वर्गाश्रम अत्यन्तै रमणीय ठाउँ छ। भरत मन्दिर , विशाल गीता मन्दिर ,राम मन्दिर, वराह मन्दिर , चन्द्रेश्वर मन्दिर आदि मन्दिरहरु छन्।

यहाँ प्रतिवर्ष चैत्र देखि असाढसम्म सतसङ्ग मेला लाग्दछ। सो समयमा नरनारीहरुको उल्लेख्य उपस्थिति हुन्छ। हरिद्वार ऋषीकेशमा संस्कृत विद्यालय , महाविद्यालयहरु छन्। नेपालीहरु पनि संस्कृत पढ्न बसेका थिए।

हामीले आश्रममा बैतडीका संस्कृत पढ्दै गरेका विद्यार्थीलाई भेट्यौं। आश्रमका गुरुले दाङका धेरै विद्यार्थीहरु आफ्नै आश्रममा बसेर पढेको कुरा भन्नु भयो। ऋषीकेश पवित्र भागिरथी गंगाको किनारामा अवस्थित छ। नदीको दुवै किनारमा साधु संन्तहरुका आश्रम अखडा छन्।

यो अत्यन्तै पबित्र भूमि हो। यहाँ स्नान, ब्रत उपासना, जप तथा यज्ञ गर्नाले ठूलो पुण्य मिल्ने शास्त्रहरुमा उल्लेख छ। त्यस दिन साँझ आश्रमामा मठाधिश सहित भजन कीर्तनमा हामी सहभागी भयाैं।

ऋषिहरुको तपोभूमि ऋषीकेशमा जति बसे पनि समय थोरै हुन्छ। मानिसले जन्मेपछि एक पटक भएपनि दर्शन गर्नुपर्ने ऋषीकेश हो। हरिद्वारमा शान्तीकुञ्ज , पतञ्जली योगपीठ हेर्ने इच्छा भएकाले हामी ऋषिकेश देखि हरिद्वारको लागी भोलिपल्ट बिहान ७ बजे यात्रा आरम्भ ग¥यौँ। बिहान १० बजे हरिद्वार शान्तिकुञ्जमा पुग्यौँ।

पं श्री राम शर्मा आचार्यको नाममा चलेको शान्तिकुञ्ज धाम विशाल छ। त्यहाँ गायत्री देवी मन्दिरको दर्शन गर्‍यौं। सप्तऋषीहरुको नामबाट (आश्रम) भवनहरु बनेका छन्। हामीले अत्री गोत्रका प्रवर्तक अत्री ऋषि भवन अगाडि फोटो खिचायाैं।

शान्तिकुञ्जमा योग ध्यानका लागि टाढा टाढाबाट मानिसहरु आउँदा रहेछन्। तुलसीपुर १० बनगाउँ निवासी ठाकुर प्रसाद शर्मा अठालेसँग हाम्रो भेट भयो। आश्रममा नेपाली सम्पर्क कार्यालय पनि छ।

त्यहाँ बस्ने नेपालीहरुसँग पनि भेट भयो। त्यहीँ गायत्री ध्यान , कैलाश ध्यानकेन्द्र लगायत ध्यानकेन्द्रहरु छन्। ध्यानमा आउने तीर्थालु सबैलाई खानपिन र बस्नका लागि उचित ब्यबस्था गरेको छ। त्यहाँको बजारमा हामीले पनि किनमेल गर्‍यौं।

मैले पुस्तकहरु किने र पुस्तक राख्ने णतो किने। घर ल्याउनका लागि प्रसाद मिठाई शुद्ध पाइने भएकोले केही मिठाइहरु किन्यौँ र करिव ३ बजेतिर त्यहाँबाट वृन्दावनका लागि यात्रा आरम्भ गर्‍याैं। हरिद्वारका लागि गाडी राति १० बजे पाइयोे भने त्यसदिन ट्रेन छुटिसकेको रहेछ। हामीले त्यहीँ गाडीमा जाने निर्णय गर्‍याैं।

हरिद्वार नगर पतञ्जली आश्रम हुँदै भोलिपल्ट १३ गते बिहानै ७ बजे पबित्र भूमी वृन्दावन पुग्याैं। मथुरा र वृन्दावन भनेको माथुर मण्डल वा व्रजमण्डल हो। व्रजमण्डल ८४ कोषमा फैलिएको छ।

“व्रज” भारतको उत्तर प्रदेश राज्यको यमुना किनार, मथुरा-वृन्दावन क्षेत्रमा रहेको हिन्दुहरूका लागि एक पवित्र तीर्थस्थल हो। धार्मिक ग्रन्थ ऋगवेद, महाभारत, भगवतगीता, कृष्णलीला ग्रन्थादिमा श्रीकृष्ण भगवानको जन्मथलो र उहाँले बाल्यकाल बिताएका बिभिन्न ठाउँहरूको बारेमा उल्लेख गरेको पाइन्छ।

वृन्दावनमा प्रशस्त मात्रामा धर्मशाला, होटेलहरु छन्। आफ्नो गच्छे अनुसार शुल्कमा कोठा पाइन्छ। हामीले चाँहि यमुना गङ्गाको तटमा अवस्थित राधा माधवआश्रमको दोश्रो तलामा चार जना बस्ने मिल्ने कोठा बुक गरि फ्रेस भएर मन्दिर दर्शन गर्न निस्कयाैं।

मन्दिरै मन्दिरको शहर जताहेर्‍यो उतै मन्दिर हामी त एकछिन अलमलमा पर्‍याैं। सडकमा हिड्दै थियाैं। कहाँबाट बाँदर आएछ विनिता आचार्यको त चश्मै उडाइदियो। गजब के रहेछ भने केही खाने चिज दिएपछि बाँदरले लगेको सामान फिर्ता गर्दाे रहेछ।

हामीलाई त्यहीँ नजिकै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले भनेपछि दुईवटा फ्रुटी दियौ अनि चस्मा फिर्ता गरिदियो। सडक र मन्दिरमा बाँदरबाट फूल प्रसाद सामान जोगाउन कठिन रहेछ। मुख्य मन्दिरमा आराध्यदेव श्री बाँके विहारी मन्दिर छ।

बाँकेविहारीको मूर्ति अति भव्य छ। यहाँको श्रृङ्गार पूजा आरती अत्यन्त रमणीय मनमोहक र सुन्दर हुन्छ। यमुना नदीका तटमा रहेका मठ मन्दिरहरुको दर्शन गर्‍यौं। यमुनाको तटमा ऊँट सवारी रहेछ। हामीले पनि ऊँट चढेर यमुना किनारै किनार एक छिन यात्रा गर्‍यौं।

ऊँट चालकले समय पूरा भयो भनेर पहिलेकै ठाउँमा ल्याइदियो। त्यसदिन बिहानको खाना खाएर नीधिवन र अन्य धेरै मन्दिरहरु घुम्यौँ। नीधिवनभित्र रात्रीको समयमा भगवान् कृष्ण राधासँग सधैं आउनुहुन्छ त्यो कसैले हेर्नु हुँदैन हेरेमा अनिष्ट हुन्छ भन्ने विश्वास छ।

रात्रीको समयमा नीधिवनका बाँदर पनि सबै बाहिर जान्छन् भन्ने किंवदन्ति छ। त्यसभित्र एउटा मन्दिर शैयासहित छ। त्यहाँ राधा कृष्णलाई लगाउने श्रृङ्गार सामग्री, लुगाकपडा, गहना, खानेकुरा, आदि राखिदिने अथवा चढाउने चलन अहिलेसम्म बिद्यमान छ।

विहान ढोका खोलेर हेर्दा सबै सामान प्रयोग गरिसकेका अवस्थाका हुन्छन् भन्ने जनविश्वास छ। मलाई चाहिँ नीधिवन भनेको ठूलै जंगल होला जस्तो लाग्थ्यो तर ससाना होचा र धेरै पुराना पोथ्रे रुखहरु रहेछन्।

त्यहाँ सोध्दा तुलसीको वन हो भन्थे तर तुलसीको बोट जस्तो मलाई चाहिँ लागेन। नीधिवन घुमिसकेर हामी इस्कोनको कीर्तन हेर्न मन्दिरमा गयौँ। प्रेममन्दिर, भव्य र आर्कषक छ। हरेकृष्ण धाम पनि भब्य छ। नौतले मन्दिर, पागलबाबा मन्दिर छ।

८४ कोसमा फैलिएको ब्रजमण्डलको वृन्दावन दर्शन गर्दा अलौकिक आनन्द प्राप्त भयो। प्रेम मन्दिरबाट फर्किंदा अँध्यारो भइसकेको थियो। त्यसैले हामी सरासर आश्रममा आएर बास बस्यौँ। भोलिपल्ट बिहान ६ बजे भगवान् श्रीकृष्णको जन्मभूमि मथुराकोलागि कार बुक गर्‍यौं र बिहान ८ वजे मथुरा आइपुग्यौँ।

ब्रजमण्डलको केन्द्र मथुरा हो। ब्रजमण्डलका तीर्थहरु मथुराका चारैतिर छन्। मथुरा वृन्दावनमा रहेका तीर्थहरुमा राधाकुण्ड, श्यामकुण्ड, गोवर्धन पर्वत, वरसाना, नन्दगाउँ चारैतिर छन्। यी ठाउँ एक ऐतिहासिक स्थल हुन्।

मथुरा श्रीकृष्णको जन्मभूमि हो। प्राचीन भारतको मथुरा सहरमा आज भन्दा ५,२५७ वर्ष अगाडी भगवान् श्रीकृष्ण जन्मनु भएको थियो। उहाँलाई आमा देवकीले कंशको कारागारभित्र जन्माएकी थिइन्।

भगवान् श्रीकृष्ण्को जन्मभूमी दर्शनकोलागि हामी पनि दर्शनार्थीको लस्करमा मिसिआैं। उच्च सुरक्षाबिच ठूलो क्षेत्रमा रहेको मन्दिर परिसरमा प्रवेश गर्दा मनमा छुट्टै आनन्द आउँदो रहेछ। झोला सामान ,मोबाइल, घडीलगायत धातु, फूल-प्रसाद केही पनि लिएर जान नपाउने यस मन्दिर प्रवेश गर्दा निशुल्क लकरको व्यवस्था गरिएको छ।

लकरमा सामान राख्दा बहुमूल्य सामानहरु देखाएर उल्लेख गरेर राख्नु पर्छ। सुरक्षा जाँचपछि विशाल भवनमा प्रवेश गर्‍यौं। बिहानै भएकाले दर्शन गर्न खासै समय लागेन। बाहिर निस्केपछि भब्य मन्दिरलाई अवलोकन गर्‍यौं।

कृष्णलीला समेटिएको गुफा रहेछ त्यसभित्र पनि गएर अवलोकन गर्‍यौं लकरबाट मोवाईल पर्स सरसामान बुझे पछि चारैतिर हेर्दै फोटा खिचायौँ। त्यहीँ नजिकै प्रसादहरु पाईदा रहेछन्।

महिलाहरुले घर ल्याउनका लागि चुरा टिकुली प्रसाद किनमेल गरिसकेपछि हामी नजिकै रहेको द्वारिकाधिस दरवार दर्शनका लागि गयौँ। अगाडी पट्टी यमुनाका तिरमा कृष्णको मूर्ति रहेको विश्रामघाट रहेछ। त्यहाँ प्रत्येक दिन बिहान बेलुका आरती हुन्छ।

यमुनामा डुंगाहरु चल्दा रहेछन् हामीले पनि डुगांमा चडेर त्यहाँ भएका सवै घाटहरुको दर्शन गर्ने र श्रीकृष्ण भगवानले शयर गरेको यमुनामा शयर गर्ने ईच्छाले डुंगामा चढेर जलयात्रा गर्‍यौं। सधै स्थल यात्रा गरेका हाम्रालागि जलयात्रा रोमाञ्चित यात्रा थियो।

एक घण्टा समय बितेको पत्तै भएन। नाउले समय पूरा भयो भनेर घाटमा ल्याईदियो। जल यात्रा गर्दा घण्टाको प्रतिव्यक्ति एक सय लाग्ने रहेछ। जलयात्रा पछि यमुना नजिकै रहेको मन्दिरको दर्शन र पूजा अर्चना गर्‍यौं। पवित्र तीर्थस्थल मथुरामा देवीदेवताका मठमन्दिरहरु असंख्य छन्।

मथुराका चारैतिर शिवका विशेष मन्दिरहरु पनि छन्। ती हुन् पूर्वमा पिपलेश्वर ,पश्चिममा भूतेश्वर, दक्षीणमा रंगेश्वर र उत्तरमा गोकर्णेश्वर। जन्माष्टमी ,यमद्वितीया र जेष्ठ शुक्ल द्वादशीका दिन स्नान , दर्शन गर्नका लागि टाढा टाढाबाट सन्त महन्त तीर्थालुहरु आउँछन्।

मथुरा अनादिकाल देखि नै पावन भूमि मानिएको छ। सृष्टिको आरम्भमा नै मनुको पौत्र (नाती) ध्रुवलाई देवर्षी नारदले मथुरामा गएर भगवानको आराधान गर् भनी उपदेश दिएको श्रीमद्भागवत गीतामा उल्लेख गरिएको छ।

भगवान श्रीकृष्णको जन्म चरित्र र जीवनलीला त हामी सबैले कृष्ण चरित्र लगायतका ग्रन्थहरुमा पढे, सुनेर जानेकै छौँ। सो कुरा यहाँ वर्णन गरिरहनु परेन।

कृष्णको जन्मस्थली परिभ्रमण गर्दै १३ गते दिउस ११ बजे लखनउका लागि यात्रा आरम्भ गर्‍यौं। आग्राको बसपार्क हुँदै साझ ७ बजे लखनउ आइपुगियो।

त्यस रात लजमा बसी भोलि पल्ट १४ गते लखनउका ऐतिहासिक स्थानहरु चार्वाक भुलभुलैया अडम्वेकर पार्क लगाएत ठाउँहरुको अवलोकन भ्रमण तथा किनमेल गरेर साँझ ७ बजे रुपैडिहा प्रस्थान गर्न गाडीमा चढ्यौँ।

भारतको उत्तर प्रदेश राज्यका विभिन्न नगरहरु पार गर्दै १५ गते बिहान ५ बजे रुपैडिहा बजारमा आइपुगियो। त्यहाँ देखि अटोरिक्सा हुँदै नेपालगञ्जमा आएर खाना खाई कोहलपुर अमलिया हुँदै बेलुका ३ बजे दाङ तुलसिपुर आइपुगियो।

यसरी आठ दिनको तीर्थयात्रा अविस्मरणीय बन्यो। यात्रा अवधिभर भगवान् र पितृका कृपाले हामीहरु स्वगृहमा सकुशल आइपुग्यौंँ। हरेक तीर्थयात्रा अन्य यात्राहरु भन्दा अत्यन्त महत्वपूर्ण हुँदा रहेछन्।

यस्तो यात्रामा कुनै मानसिक थकावट नभई स्वच्छता र स्फूर्ति प्राप्त हुँदो रहेछ। जीवन केवल ज्ञानका लागि हो भन्ने पवित्र भावना जागृत हुँदो रहेछ। कुनै स्वार्थ, लाभको चाहना नभई विछट्टै आनन्द र महत्वबोध हुँदो रहेछ। पुनरपि धार्मिक यात्राको कामना गर्दछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *