लघुकथा : वेदना
`आमा! जति काम गरेपनि घरमा कहिले जस पाइनँ। नन्द, देवर , सासू ,ससुरा सबैको चित्त बुझाउँदा बुझाउँदै हैरान भएँ। ´छोरीले आमासँग फोनमा रूँदै भनी।
`पहिला न जा! भनेर कत्ति सम्झाउँदा पनि मानिनस्। नाई, मलाई त्यै केटो चाहिन्छ भनेर हिँडिस्। अब पछुताएर के फाइदा? दु:ख पाइस् मङ्गले आफ्नै ढङ्गले!´ आमाले दिक्क मान्दै भनिन्।
बिन्ती भाउमा छोरीले भनी, `बिहान उठेदेखि एकछिन फुर्सद हुँदैन। घरको काम कसैले सघाउने होइन? घरको कुरा कतै बाहिरकाले थाहा पाउँछन् कि भनेर यतिञ्जेल मौन बसेर सहेँ। सबैले अनेकन् लाञ्छना लगाउँछन्। म यहाँ बस्नै सकिनँ। आफ्नै जन्मघर आउँछु।´
`ऊ बेला घरको चालचलन, आनीबानी केही बुझ्न पाइएन।’ हतपत गरिस्। घर छाडने कुरा नगर् छोरी! ´भनेर आमाले सम्झाइन्।
आमा छोरी निक्कै बेर कुरा गरे। तिता मिठा गन्थन गरे। फोन राखेपछि आमा घरधन्दामा लागिन्। धेरै बेरपछि आमाका मनमा कुरा खेल्न थाले, `अघिपछि कहिले फोन नगर्ने मान्छे आज एकाबिहानै साह्रै बिलौना गरी। केही त पक्कै होला? हैन, यसलाई केही समस्या त छैन? साह्रै तनाव भएर त होइन? ´हत्त न पत्त छोरीलाई फोन गरिन्। धेरै पटक फोन गर्दा पनि फोन उठेन।
केही बेरपछि छोरीकी सासूले फोन गरेर भनिन्, `झट्टै आउनु पर्याे, सम्धिनीज्यू! यहाँ तपाईंकी छोरी सुसाइड नोट लेखेर झुन्डिएकी छे।´
गैंडाकोट ४ नवलपुर
Facebook Comment