संबिधान संसोधनका लागि आन्तरिक कार्यदल बनाइएको छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका बारेमा पनि धारणा राखेका छन्।
आजदेखि सुरु भएको हिउँदे अधिवेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक्ताका आधारमा संविधान संशोधन हुने बताएका छन्।
‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ। यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले)ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ,’ उनले भने, ‘त्यससँगै सरकार पक्षीय दलसँगको छलफल गरिनेछ। विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ।’
उनका अनुसार पहिचान गरिएका विषयमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालासँग छलफल गरिने छ। ‘हामी स्पष्ट छौं, पार्टीहरूका आ–आफ्नै धारणा र पोजिसन हुन सक्छन्। मिलेका कुरामा साझा धारणा बनाइने छ। नमिलेका कुरामा बहस र छलफल गरिने छ। संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो। बहस/छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउँछ। र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ।’
Facebook Comment