राजनीतिक र आर्थिक स्थिरताका लागि वर्तमान सरकार : सभापति देउवा

डिसी नेपाल
१८ माघ २०८१ १५:२१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राजनीतिक अस्थीरताका कारण मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले वर्तमान सरकार गठन गर्नुपरेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले विगतमा स्थिर सरकार नहुँदा मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले अहिलेको सरकार गठन भएको बताए।

उनले एमालेसँग सरकार गठनको बेलामा भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहेको प्रतिवद्धता उल्लेख गरे। एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन हुने उनले बताए।

सभापति देउवाले सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त नहुने उल्लेख गर्दै सुरुको अवधिमा धेरै राम्रा काम गरेको र भविष्यमा असल परिणाम देखिनेगरि काम गर्ने जिकिर गरे। उनले सरकारले ल्याएको अध्यादेशले मुलुकको आर्थिक प्रणालीका साथै सुशासनमा सुधार हुने विश्वास व्यक्त गरे।

देउवाले राजनीतिक दलहरुका बीच सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने भन्दै यसबारेमा छलफल प्रारम्भ गरिसकेको उल्लेख गरे। लोकतन्त्रको विकल्प खोज्न नहुने र यसलाई थप सुदृढ बनाउँदै नागरिकको जीवनसँग जोड्न सक्नुपर्ने उनले बताए।

उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकता गर्न पाउने सुविधाका रुपमा बुझ्न नहुने धारणा राखे। देउवाले संसदमा विचाराधीन सवै विधेयक संसदको चालू अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *