रुखले च्यापिँदा बालकको मृत्यु
बागमती। मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ। इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतमा रुखले च्यापिँदा गम्भीर घाइते भएका १२ वर्षीय बालकको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आज दिउँसो स्थानीय भागिरथ पुडासैनीले बारीमा रहेको रुख काट्ने क्रममा ढल्दा निजका नाति आदर्श च्यापिएका थिए। टाउको र दुवै हातमा गम्भीर चोट लागेका बालकलाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय चौकीबाट प्रहरी सहायक निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। बालकको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Facebook Comment