छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित सडकमा दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा.५ ख २९९९ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोक बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बसमा सवार ६ जनामध्ये ५ जनाको नारायणी सामुदायिक अस्पताल चितवनमा र १ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पश्चिम, सरावल गाउँपालिका-१ सालबासस्थित सडकमा प्रदेश ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपन्देही अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
चितवन, खैरहनी नगरपालिका-८ मगनीचोकस्थित सडकमा वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १६२२ नम्बरको बसको ठक्करबाट रिक्सा चालक सोही नगरपालिका-३ गोठशोर बस्ने ४४ वर्षीय बलराम मैनालीको शनिबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका रिक्सामा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comment