व्यापारीको लाभ र नेताको कमिसनका लागि पाथीभरा केबलकार बन्न दिनु हुँदैनः लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभका लागि केबलकार बनाउन दिन नहुने बताएका छन्।
आइतबार काठमाडौंमा पाथिभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताएका हुन्।
उनले सरकारले एक जना व्यापारीको फाइदा, केही राजनीतिक नेताहरुको कमिसन र शेयर सुरक्षाको लागि जनतामाथि गोली चलाएर केबलकार बनाउन दिन खाजेको आरोप लगाए।
उनले भने, ‘तोप्लेजुङमा सरकारले कुनै व्यापारीको फाइदा, केही राजनीतिक नेताहरुको कमिसन, शेयर सुरक्षाको लागि जनतामाथि होली चलाएर, निर्मम दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी छैन।’
उनले पाथीभरा मन्दिरमा केबलकारको आवश्यकता, स्थानीय जनताको फाइदा, मन्दिरको मौलिकताको सुरक्षा, सनातन परम्परामाथि आक्रमण र सुरक्षाका विषयमा विश्लेषण गरेर मात्रै केबलकार निर्माण कार्यअघि बढाउनुपर्नेमा जोड दिए।
उनले सरकारले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताए। उनले केबलकार निर्माण कार्य रोक्दै सरकारले जनतामाथि गरिएको प्रहरी दमन रोकी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै आतंकको अन्त्य गर्न ध्यानाकर्षण गराए।
उनले सरकार व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धित विषयहरुमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्ने चेतावनी दिए।
Facebook Comment