‘शैक्षिक सुधारका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ’
बरहथवा (सर्लाही) । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षा क्षेत्रमा परिवर्तनका लागि शिक्षक शिक्षिकाहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
आज सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा सरस्वती माध्यामिक विद्यालयको हीरक जयन्ती (६०औं स्थापना दिवस) समारोहमा उहाँले विद्यालयमा शिक्षक शिक्षिकाहरूले नियमित पढाउने, गृहकार्य दिने र दिएको गृहकार्य जाँच मात्र गर्दा पनि शिक्षाक्षेत्रमा धेरै सुधार हुने धारणा राखे।
सामुदायिक विद्यालयलाई बेवास्ता गर्दा शिक्षाको स्तर माथि उठ्न नसकेको भन्दै मुख्यमन्त्री सिंहले यसमा सबै गम्भीर बन्नुपर्नेमा जोड दिए। ‘यसै प्रदेशमा अभिभावकहरू सचेत बन्दा केही सामुदायिक विद्यालय उदाहरणीय बन्दै गएको छन्। सामुदायिक विद्यालयको सुधारका लागि सबै पक्ष जिम्मेवार र चिन्तित हुने र दरबन्दीअनुसार शिक्षकको व्यवस्था भएमा मधेशमा शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने छ । यसका लागि हामी सबैले आफ्नो क्षेत्रबाट योगदान गरौं’, उनले भने।
मुख्यमन्त्री सिंहले प्रदेशको साक्षरता दर वृद्धि गर्न आवश्यक बजेट विनियोजन गर्नाक साथै दलित, मुस्लिम, जनजाति तथा जेहेनदार विद्यार्थीलाई छात्रावृत्तिको व्यवस्था गरिएको समेत बताए।
उनले मुख्यमन्त्री सिंहले शिक्षकलाई चार महिनामा मात्र तलब भत्ता दिने परिपाटी उपयुक्त नरहेको भन्दै हरेक महिनामा तलब दिने बनाउनुपर्ने बताए।
कार्यक्रममा ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्य, पूर्वप्रतिनिधिसभा सदस्य प्रमोद साहलगायतले मुख्यमन्त्री सिंहलाई ईश्वरपुर नगरपालिकाको शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारका तर्फबाट सहयोग गरिदिन अनुरोध गरेका थिए।
कार्यक्रममा सर्लाही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख लालमणि आचार्य, सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख कालिदास धौबजी, ईश्वरपुरकी उपप्रमुख रन्जितादेवी चौधरीलगायतको उपस्थिति रहेको थियो।
Facebook Comment