माओवादीको नेतृत्वमा टिक्न प्रचण्डलाई चुनौती

डिसी नेपाल
२१ माघ २०८१ ११:४३

काठमाडौं। विगत ४ दशकदेखि आफ्नो पार्टीको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब भने पार्टीको नेतृत्वमा टिकिराख्नु निकै चुनौतीपूर्ण देखिएको छ।

झण्डै ४० वर्षको अवधिमा विभिन्न राजनैतिक शक्तिसँग एकता, पार्टी विभाजन, पार्टीको नाम नै परिवर्तन हुँदै अहिलेसम्म आइपुग्दा पार्टीमा धेरै कुरा फेरिए। केवल पार्टी प्रमुख फेरिएका छैनन्। अब भने पार्टीभित्र नेतृत्व परिवर्तनको संकेत देखिन थालेको छ।

पार्टीको नेतृत्व परिवर्तनका लागि पार्टीको बैठकमा लिखित प्रस्ताव पेश गरेका उपमहासचिव जनार्दन शर्माको प्यानलले पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महाधिवेशनमा अधिकांश पदाधिकारी जितेपछि पार्टीभित्र प्रभाकर बलियो भएको र प्रचण्ड कमजोर हुँदै गएको विश्लेषण गरिएको छ।

पछिल्ला केही वर्षयता अध्यक्ष प्रचण्डले आफू र आफ्नो परिवारलाई केन्द्रमा राखेर राजनीति गरिरहेका छन्। उनको यो परिवारवादलाई मन नपराउनेहरु पार्टी छाडेर अलग भइसकेका छन्। प्रचण्डका पुराना सहयात्रीहरु मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेल, नेत्रबिक्रम चन्द जस्ता नेताहरु पार्टीबाट अलग भइसकेका छन्।

नेतृत्वको विरोध गर्दा पार्टीबाट पाखा पारिने डरले पार्टीमा बसेका नेताहरु मात्र अहिले प्रचण्डका साथमा छन्। प्रभावशाली नेताहरु पार्टीबाट अलग हुँदै गएपछि एक समयको सबैभन्दा ठूलो र प्रत्यक्ष निर्वाचनमा एक्लै बहुमत ल्याएको दल माओवादी अहिले अरु दलसँग गठबन्धन नगरी चुनाब लड्न नसक्ने अवस्थामा पुगेको छ।

निर्वाचनकै बेलादेखि अरु दलको साथ खोजेर केही सिट जुटाउने र सत्तामा जाने अवसर मिलेमा आफैं प्रधानमन्त्री बन्न अघि सर्ने प्रचण्डको शैलीविरुद्ध अहिले पार्टीभित्र विद्रोह सुरु भएको छ। पार्टीको विद्यार्थी संगठनमा जनार्दनको प्यानलको प्रभावशाली जितलाई त्यसैको संकेतको रुपमा हेरिएको छ ।

प्रचण्डले भाइलाई राष्ट्रिय सभा अध्यक्ष, बुहारीलाई संघीय मन्त्री, छोरीलाई महानगरपालिकाको मेयर, ज्वाइँलाई प्रदेशसभामा मन्त्री पदका लागि अगाडि सार्दा समेत उनको परिवारवादविरुद्ध बोल्न नसक्ने माओवादी नेताहरुको बीचमा जनार्दन शर्माको अग्रसरतालाई प्रचण्डका लागि चुनौती मानिएको छ।

पार्टीको विद्यार्थी संगठनको महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका विजयप्रकाश सापकोटालाई पार्टी अध्यक्षले आन्तरिक रुपमा समर्थन गरेको थाहा पाएपछि उनका विरुद्ध प्यानलै खडा गरेर निर्वाचनमा होमिएको जनार्दनको प्यानलले अध्यक्ष त जित्न सकेन तर उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित बहुमत पदमा जितेको छ। यसलाई जनार्दनको शक्ति प्रदर्शन मानिएको छ।

विद्यार्थी संगठनको महाधिवेशनका क्रममा प्रभाकरले आफूलाई सघाउने गरी अब विभिन्न संगठनमा क्रान्ति शुरु भइसकेको दाबी गरेका थिए। उनले पार्टीमा विधि र पद्धति स्थापित गर्न नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया सुरु गरेको पनि दावी गरेका थिए। विद्यार्थी संगठनमा उनको प्यानलको जितले उनको दावीलाई पुष्टि गरेको छ।

पार्टीको बैठकमा नेतृत्व परिवर्तनको लिखित प्रस्ताव पेश गर्ने प्रभाकरले यसअघि नै पार्टीको विशेष अधिवेशनको माग समेत गरिसकेका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत उनले नेतृत्व परिवर्तनको प्रस्तावसहित फरक मत ल्याउन खोजेको भए पनि उनलाई रोकिएको माओवादी स्रोत बताउँछ।

पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापित गर्नुपर्ने र सबै संगठनमा निर्वाचन हुनुपर्ने माग गर्दै आएका प्रभाकरले आगामी महाधिवेशनमा अध्यक्ष पदमै उम्मेदवारी दिने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *