विज्ञान, पूर्वीय चिन्तन र अध्यात्म ज्ञान
‘विज्ञा, पूर्वीय चिन्तन र अध्यात्म ज्ञान तीनवटा महत्त्वपूर्ण पक्षहरू हुन्। यी सबैका बीच केही सम्बन्धहरू पनि रहेका हुन्छन्, यद्यपि तिनीहरूका दृष्टिकोण र पद्धतिहरू भिन्न रहेको पाइन्छ।
विज्ञान साँचो र प्रमाण आधारित ज्ञानको खोजीमा केन्द्रित छ, जबकि पूर्वीय चिन्तन र अध्यात्म ज्ञान आन्तरिक अनुभव र जीवनको अर्थलाई अन्वेषण गर्छ। विज्ञान र अध्यात्मको बीचमा कहिलेकाहीं द्वन्द्व र भिन्नताहरू समेत देखिन्छन् तर यी तीनवटा पक्ष एकअर्कामा परिपूरक र सहअस्तित्वमा रहन सक्छन्।
विज्ञानले त्यस्तो ज्ञानलाई जनाउँछ जसले प्रकृति र ब्रह्माण्डको घटनाहरूलाई वैज्ञानिक विधिहरूबाट अध्ययन गर्दछ। यसमा प्रयोग, अनुसन्धान, परिकल्पना, परीक्षण, र प्रमाणहरूलाई महत्त्व दिइन्छ।
विज्ञानका अनुसार, सबै कुराहरूको व्याख्या तार्किक, प्रमाणित र मापनयोग्य आधारमा गरिनु पर्छ। यसको मुख्य उद्देश्य सत्य र वास्तविकता जान्नु हो, जसका लागि वैज्ञानिक पद्धति प्रयोग गरेर तथ्य र प्रमाणहरू संकलन गर्नुपर्ने हुन्छ।
विज्ञानले संसारका विभिन्न घटनाहरूको व्याख्या गर्दा विशेष ध्यान दिन्छ, जस्तै शारीरिक र जैविक प्रक्रियाहरू, भौतिक र रासायनिक परिवर्तनहरू, र ब्रह्माण्डको संरचना। यसका उपलब्धिहरूले मानव सभ्यतालाई ठूलो स्तरमा सुधार्न र जीवनलाई सहज र आरामदायी बनाएका छन्।
चिकित्सा विज्ञान, इन्जिनियरिङ, खगोलशास्त्र, जैविकी जस्ता क्षेत्रहरूमा विज्ञानका योगदानहरू स्पष्ट छन्। तर, विज्ञानको दृष्टिकोण मुख्यतः बाह्य संसारको अध्ययनमा केन्द्रित छ र यसले मनुष्यको आन्तरिक अनुभव र आत्मज्ञानलाई प्राथमिकता दिनु हुँदैन।
पूर्वीय चिन्तनको अर्थ हिन्दू धर्म, बौद्ध धर्म, जैन धर्म, ताओवादी र अन्य प्राचीन पूर्वीय धार्मिक र दार्शनिक परम्पराहरूबाट प्राप्त ज्ञानको अध्ययन हो।
यी परम्पराहरू जीवन र ब्रह्माण्डको गहिरो समझमा आधारित छन् र प्रायः साधना, ध्यान, योग र आत्मज्ञानको माध्यमबाट यथार्थलाई बुझ्न खोज्छन्। पूर्वीय चिन्तनले केवल भौतिक संसारको अस्तित्व र घटनाबारे मात्र नभई मानिसको मानसिक, आत्मिक र आध्यात्मिक पक्षका बारेमा पनि गहिरो विवेचन गर्दछ।
पूर्वीय चिन्तनको एक प्रमुख सिद्धान्त आध्यात्मिक एकता हो। हिन्दू धर्म र बौद्ध धर्ममा “आत्मा“ वा “ब्रह्म“ को अवधारणाले सबै जीव र ब्रह्माण्डको एकत्वलाई जनाउँछ। ताओवादी चिन्तनमा पनि विश्व ब्रह्माण्ड र मनुष्यको बीचको सम्वन्धलाई एउटा पवित्र सम्पूर्णता र एकताको रूपमा हेर्छ।
यस्ता चिन्तनहरूले मानव अस्तित्वको अर्थ र उद्देश्यलाई आत्मा, ध्यान र साधनाको माध्यमबाट बुझ्न खोज्छ। पूर्वीय चिन्तनले शान्ति, सन्तुलन र आन्तरिक विकासलाई प्राथमिकता दिइन्छ। यसले मानिसलाई बाह्य सुख र भौतिकताको पछि नलाग्न र आन्तरिक सुख र आत्मज्ञानको खोजी गर्न प्रोत्साहित गर्दछ।
अध्यात्मको शाब्दिक अर्थ स्वयम्को अध्ययन हो। प्रत्येक जीवनको एक-एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो। शरीर भित्र चैतन्य छ, प्राण छ। त्यसभित्र आकाश पनि छ। यसबाहेक जे छ, त्यो अध्यात्म हो। अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो।
यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ। आत्मालाई परमात्माको अंश मानिन्छ। आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन-मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो।म को हु? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ।स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ।
आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ। अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ। यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ। भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन।
अध्यात्मिक ज्ञानले निरन्तर मानव स्वभाव, संस्कार, बानी, व्यहोरा र उसको प्रवृत्ति तथा मन–बुद्धिलाई सुुसंस्कृत कुशल र विवेक सङ्त बनाउने पक्षमा जोड दिन्छ। अध्यात्मिक ज्ञान जसले मानिसलाई स्व-अनुशासित, स्व-संयमित, शान्त, सहनशील, गुणवान्, चरित्रवान् र नैतिकवान् व्यक्तित्व प्रदान गर्न सक्दछ।
मानिसलार्ई एक असल मानिस बनाउन सकोस् जसले सबैलाई मनसा, वाचा, कर्मणा र व्यवहारले सुख र खुशी बाँड्न सक्छ। अध्यात्मले मानव चेतनाको जागृतिसँग सरोकार राख्दछ।
यसले व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी तथा त्यसले पार्ने असरसँग सम्बन्धित रहन्छ। त्यसो हुँदा हिंसा, कृत्रिम वाद एवं प्रतिवादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ।
अध्यात्म ज्ञान भन्नाले त्यो ज्ञानलाई जनाउँछ जुन मानव अस्तित्वको गहिरो अर्थ र उद्देश्यसँग जोडिएको छ। यो ज्ञान विशेष गरी आन्तरिक, अनूभूत र आध्यात्मिक अनुभवहरूमा आधारित छ।
अध्यात्मिक ज्ञानले व्यक्तिलाई बाह्य संसारका सम्पत्ति र सुखबाट माथि उठेर आत्मा र ब्रह्मसँगको गहिरो सम्बन्धलाई अनुभव गर्न मद्दत गर्दछ।अध्यात्म ज्ञानका विभिन्न मार्गहरू छन्, जस्तै ध्यान, साधना, प्रार्थना र योग।
यसमा मुख्यतः व्यक्ति आफ्नो अन्तरात्मामा गहिरो डुब्की लगाउँछ र सत्यको खोजी गर्दछ। अध्यात्मिक ज्ञानले व्यक्तिलाई आफूलाई बुझ्न र आफ्नो जीवनको वास्तविक उद्देश्य पहिचान गर्नमा मद्दत गर्दछ।
यसका अनुसार, जीवन केवल भौतिक सुख र सम्पत्ति सँग सीमित छैन, बरु यो आत्मा, चेतना र सर्वव्यापी एकताको अनुभव हो। अध्यात्मिक चिन्तनका अनुसार, संसार केवल भौतिक वस्तुहरूको सन्दर्भमा मात्र होइन, बल्कि चेतना र ऊर्जा (आध्यात्मिक रूपमा) को स्तरमा पनि काम गरिरहेको छ। यसैले, अध्यात्मले भौतिक र मानसिक अवस्थाको समग्रता बुझ्नका लागि नयाँ दृष्टिकोण दिन्छ।
विज्ञान र अध्यात्मका बीच द्वन्द्व प्रायः देखिन्छ। विज्ञान भौतिक संसारका नियम र घटनाहरूको प्रमाणित अध्ययनमा ध्यान केन्द्रित गर्छ।अध्यात्म आन्तरिक अनुभव र चेतनाका विषयमा आधारित छ। तसर्थ, यसलाई एकअर्काबाट पृथक र विरोधाभासी समझ्न सकिन्छ।
यद्यपि, धेरैजसो वैज्ञानिकहरू पनि अध्यात्मिक र आध्यात्मिक सिद्धान्तहरूलाई आफ्नो अनुसन्धानको एक अंगको रूपमा समावेश गर्ने प्रवृत्ति देखाउँछन्। आजको आधुनिक विज्ञानले पत्ता लगाएको छ कि चेतना र ब्रह्माण्डको संरचना भौतिक हदसम्म सीमित छैन।
त्यसैले, विज्ञान र अध्यात्मका विचारमा साझा आधारहरू पत्ता लगाउनको लागि नयाँ दृष्टिकोण अपनाइरहेको छ। उदाहरणका लागि, क्वान्टम भौतिकी र ब्रह्माण्डविज्ञानका केही सिद्धान्तहरूले ब्रह्माण्डको गहिरो एकता र कनेक्टिविटीलाई पुष्टि गर्न थालेका छन्, जसले अध्यात्मिक शिक्षासँग मेल खान्छ।
अध्यात्मिक चिन्तनका प्रमुख तत्त्व, जस्तै सार्वभौमिक एकता, मानवता र अन्तरआत्मिक विकास, विज्ञानका केहि सिद्धान्तहरूसँग मिल्न सक्छ। यद्यपि, विज्ञान प्रमाण र तथ्यका आधारमा काम गर्छ भने अध्यात्म अनुभव र आन्तरिक जाँचमा आधारित छ। यी दुईको सन्तुलनले अझ प्रगति र समग्र समझमा योगदान पुर्याउन सक्छ।
पूर्वीय चिन्तन प्राचीन परम्परामा आधारित छ, यसमा समाहित भएका केही विचारहरू आजको विज्ञानसँग मेल खान्छन्। उदाहरणका लागि, योग र ध्यानका माध्यमबाट मानव शरीर र मस्तिष्कको स्वास्थ्यमा सुधार ल्याउने ज्ञान धेरै आधुनिक चिकित्साशास्त्र र न्यूरोबायोलोजीका अध्ययनसँग मेल खान्छ।
पूर्वीय चिन्तनले मानव शरीरलाई एक ऊर्जा प्रणालीको रूपमा हेरिएको छ जसको प्रभाव विज्ञानले पत्ता लगाएको छ। समग्र ब्रह्माण्डको एकता र बहुस्तरीय अस्तित्वको अवधारणाले पनि आधुनिक भौतिकी र खगोलशास्त्रसँग समानता राख्दछ।
अध्यात्मिक ज्ञानले व्यक्तिको मनमा सकारात्मक, शुद्ध र शुभ चिन्तनहरूको धारा प्रवाह गर्दछ, जसले बुद्धिको तीव्रता र निर्णय क्षमता सुधार गर्छ। यसले व्यक्तिलाई परोपकारी, सहयोगी र सर्वहितकारी बनाउँछ, र नकारात्मक सोच र कुभलोका भावना उत्पन्न नगर्न मद्दत गर्दछ।
वास्तविक अध्यात्मिक चिन्तन भनेको केवल आफ्ना लागि होइन, अपितु आलोचना र द्वेषको सामना गर्दा पनि दयाभाव, क्षमाभाव र शुभकामनाको भावना राख्नु हो।
यस प्रकारको उच्च अध्यात्मिक चेतना र चिन्तनले व्यक्तिको जीवनलाई महान र प्रेरणादायक बनाउँछ, र मानिसलाई विकास र सकारात्मक परिवर्तनका लागि मार्गदर्शन गर्छ।समाजमा हिंसा तथा संघर्ष पैदा गर्ने अन्धविश्वास एवं विवेकहीनता,असंगत वा कट्टरपन्थी सिद्धान्त अव समाप्त हुनुपर्ने आवाज समेत उठेको पाईन्छ।
पछिल्ला केही दशकतर्फ हेर्दा आद्यात्मलाई वैज्ञानिक दृष्टिकोण र विज्ञानलाई आद्यात्मिक दृष्टिकोणबाट जोड्ने प्रयासहरु गरिए। वैज्ञानिक तथा आद्यात्मवादीहरुले यो प्रतिवादन समेत गरे कि दुवै मिलेर जगत एवं चेतनालाई जानेर कसरी एक अर्काेमा पूरक भूमिका निर्वाह गर्न सकिन्छ।
भौतिक विज्ञान,आत्मविज्ञान ,नीतिशास्त्र ,पर्यावरण-परिस्थिति ,चिकित्सा एवं ध्यान योग तथा दूर सञ्चार र मनो–सञ्चारमा समान रुची राख्ने एक समुदाय विकसित भैसकेको अवस्था छ। विकास तथा पर्यावरणको सम्वन्धमा नैतिक सिद्धान्तको महत्व र त्यसको व्यवहारिक प्रयोगमाथी समेत जोड दिन थालियो।
मानव समाजका लागि वर्तमान समयको माग विज्ञान एवं अध्यात्म दुवैको आवश्यकता हो। कुनै समयमा विज्ञान र अध्यात्म परस्पर विरोधीको रुपमा हेरिन्थ्यो। परन्तु हरेक मनुस्यलाई विज्ञानसँगै सामाजिक,नैतिक र अद्यात्मिक मूल्यहरुको अपरिहार्यतामा जोड दिइदैछ।
भौतिक सुख-सम्पन्नतालाई अत्याधिक महत्व दिइनु र मानवताको अस्तित्वको मुख्य आधार आद्यात्मिकतालाई उपेक्षा गर्नुको परिणाम आधुनिक समाजले भोगिरहेको छ। धर्म,अद्यात्म र विज्ञान परस्पर विरोधी होइनन् सहयोगी हुन भन्ने कुरा अलवर्ट आइन्टाइनको ‘ धर्म विनाको विज्ञान लङगडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ भन्ने भनाईबाट समेत प्रष्ट हुन्छ ‘।
आद्यात्मरहित विज्ञान र वैज्ञानिक दृष्टिकोणविहीन आद्यात्म दुवै अपुरो हुन्छ। यि दुवैलाई अलग अलग प्रयत्नले कार्य गरिनुको वदलामा विज्ञान र आद्यात्म संगठित रुपले एकजुट भई कार्य गर्ने हो भने विश्वमा खुशी,सम्पन्नता र सुख-शान्तिको स्थापना तिव्र गतिले वढ्नेमा शंका रहँदैन।
भौतिक उन्नतीको साथै आद्यात्मिक उचाँईलाई एकैसाथ सम्पन्न गर्न सकेमा निसन्देह सदाकालको लागि विश्वमा सम्पन्नता प्राप्त हुनसक्छ। अध्यात्मिक ज्ञानले प्रतिपादन गरेका सिद्धान्तहरूलाई दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा केवल रीति, रिवाज,आडम्बर र मान्यताका रूपमा मात्रै सीमित हुन पुगेको अवस्था विधमान छ।
अल्वर्ट आइन्स्टाइन, जर्मन दार्शनिक मुलर, इमानुयल कान्ट, फ्रेन्च दार्शनिक सोफेनहावरदेखि भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम र अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामासम्मले पूर्वीय दर्शनमा भएको अध्यात्मिक पक्षको महत्तालाई कुनै न कुनै रूपले अंगीकार गरेका छन्।
आइन्स्टाइनले त अध्यात्मबिनाको विज्ञानलाई कमजोरको संज्ञा दिएका छन्। सोफेनहावरको श्रीमद्भगवतगीता सम्बन्धी चर्चाले पूर्वीय दर्शनमा भएको अध्यात्मको स्थानलाई पाश्चात्य समाजमा नयाँखालको ऊर्जा दिएको छ।
अध्यात्मबिनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घचघच्याएको छ। हाम्रो समाजमा आज अध्यात्मलाई धार्मिक क्रियाकलाप, गेरुवस्त्र धारण, चन्दने निधार एवं कर्मकाण्डसँग जोड्ने गरिन्छ जुन अत्यन्तै असुहाउँदो र संकीर्णताको परिणति एवं अध्यात्म बुझाइको कमी हो भन्ने लाग्छ।
अध्यात्म सांसारिकताभन्दा समस्त मानवहितको शक्ति तथा जीवनमुक्तिको आधारशिला हो। यसले व्यक्तिलाई समुद्रजस्तो गम्भीर बनाउने मात्र होइन, मानसिक सन्तुलन पैदा गर्छ। त्यसैले आजको हरेक क्षेत्रबाट विक्षिप्त समाजमा अध्यात्मिकताको विषयले प्रश्रय पाउनु जरुरी छ।
हामी सबैको साझा चाहना छ कि संसार चिरकालसम्म सुख, शान्ति, समृद्धि र सुमधुर सम्बन्धको थलो बनोस्। धरती निवासी सम्पूर्ण मानवजाति कुनै पनि प्रकारको रोग, शोक, भोक, चिन्ता र भय-त्रासले पीडित नहोउन्। सबैले स्वास्थ्य, सम्पत्ति र खुशी सदाका लागि प्राप्त गर्न सकून्।
समाजमा कुनै पनि प्रकारको भेदभाव, थिचोमिचो ,अन्याय,अत्याचार तथा पापाचारको स्थिति नरहोस्। हत्या, हिंसा, लडाईं, झगडा, युद्ध, संघर्षको वातावरण सदाका लागि समाप्त होस् सबै प्राणीको जीवनचक्र सही ढंगले चलोस्।
विविध प्रजाति लुप्त हुने स्थिति, वातावरणीय प्रदूषण तथा असन्तुलनको संकट न रहोस्। प्रकृतिका तत्वहरू समेत आफ्नोे मर्यादामा रहेर सधै सुख दिने काम गरुन्। कुनै पनि प्रकारको प्राकृतिक प्रकोपको चपेटामा पर्न न परोस्।
प्रकृति सदा वसन्तवहार होस्। मानौ संसार स्वर्ग, पाराडाइज तथा रामराज्य बनोस्। मानिस मानिसकाबीच अत्यन्तै घनिष्ठ र सुमधुर सम्बन्ध कायम होस्। वसुधा भौतिक प्रचुरता, विपुलताका साथै अध्यात्मिक दिव्यता र अखण्डताले भरपूर होस्।
यस्तो संसारको परिकल्पनालाई मूर्त रूप दिन साच्चै अध्यात्मिक चिन्तन-ज्ञान र राजयोग साधनाले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। तसर्थ प्रत्येक नर-नारीको प्रयत्न र पुरुषार्थ अध्यात्मिक सुदृढीकरण गर्नुपर्ने रहेको छ। अतः जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै अध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन।
अध्यात्मिक सुख र आनन्द आफूभित्रैबाट प्राप्त हुन्छ । त्यो सुख मन, बुद्धि, चित्त र अहंकार शान्त भएपछि प्राप्त हुन्छ । मन शुद्ध गराउने साधन हो योग र ज्ञान । योग र ज्ञानबाट मन, बुद्धि र चित्तलाई आफ्नोे स्वरुपमा राख्न सकिन्छ । मानिसको स्वरुप हो आत्मा ।
आत्माको ज्ञान नभए आफैलाई चिन्न सकिदैन । हामीले शरीरलाई आत्मा भन्छौं । यो हाम्रो भूल हो । आत्मा अविकारी छ, अविनाशी छ र अमर छ । शरीर मर्दछ । अध्यात्मवादीहरुले आत्मा र ईश्वरमा आस्था राख्छन । भौतिकवादीहरुले शरीरमा आस्था राख्छन । ज्ञान भनेको आत्मालाई परमात्मामा जोड्नु हो ।
संसारमा कुनै पनि मानिस कर्म नगरी शान्त भई बस्न सक्दैन । मन शान्त भए आत्माको अनुभव हुन्छ । योगीहरुले समाधिद्वारा शान्त मनमा आत्माको अनुभव गर्दछन । भौतिकवादीहरुले योग पनि गर्न सक्दैनन् ज्ञान पनि गर्न सक्दैनन् । उनीहरुले सकाम कर्म गर्छन् ।
सकाम कर्मद्वारा आत्माको खोजी गर्छन । निस्काम कर्म गर्न सक्दैनन । फलको आशा राखेर कर्म गर्छन। त्यसैले परमानन्द प्राप्त गर्न सक्दैनन । मानिसको स्वरुप आत्मा भएझैं परमानन्द ईश्वरको स्वरुप हो । आनन्द कहिले नाश हुँदैन ।
मनमा कुनै संकल्प नउठाएपछि परमानन्द प्राप्त हुन्छ । संकल्प उठाए मन चञ्चल हुन्छ र आफ्नोे स्वरुपलाइ भुलिन्छ । फलको आशा राखेर कर्म गर्नेहरु यस दुःखरुपी संसारमा जन्म लिइरहन्छन् र मर्छन पनि । सांसारिक बन्धनमा बाधिरहन्छन्, मुक्त हुन सक्दैनन्।
धन र पदको मोहमा परेर आफ्नोे स्वरुपलाई भुल्छन् । भौतिक उन्नतिलाई सत्य ठानेर भौतिक उन्नति गर्दागर्दै रोइर मर्छन । अध्यात्मिक मार्गमा लागेका मानिस आत्मालाई साक्षी राखेर राष्ट्रको र समाजको सेवा गर्दा गर्दै हाँसेर मर्छन्।
आजकलका मानिसमा सत्बिचार र सत्विवेक देखिँदैन । अनुशासन देखिँदैन । नैतिकता आचरण सभ्यता देखिदैन । चित्त शुद्ध छैन । सत्यता, ज्ञान र धर्म छैन, भौतिकवादको प्रभाव बढेको छ । बेदले भन्छ-आचरण मानिसको गहना हो ।
कुनैपनि मानिस जन्मिएपछि अमृत र मृत्यु दुबै उसले शरीरमा नै लिएर आएको हुन्छ। मनुष्य मोहबाट मृत्युलाई र सत्यबाट अमृतलाई प्राप्त गर्दछ। अतः अब म हिंसाबाट दूर रहेर सत्यको खोजी गर्नुपर्दछ।
काम र क्रोधलाई हृदयबाट निकालेर दुख र सुखको समान भाव राख्नुपर्दछ। तथा सबैको लागि कल्याणकारी बनाएर मृत्युको भयबाट मुक्त हुनुपर्नेछ। यज्ञमा तत्पर रहेर मन र इन्द्रीयहरुलाई वशमा राखेर ब्रह्मयज्ञ (वेद-शास्त्रहरुको स्वाध्याय) मा लागेर मुनिवृत्तिले रहनेले मृत्युसँग डराउनुपर्ने अवस्था नै रहँदैन।
एकातर्फ नास्तिक मान्छेहरू भौतिक शरीर रहुन्जेलको सुखलाई नै वास्तविक सुख मान्छन् भने अध्यात्मिक मान्छेको सोचाइ फरक हुने गर्छ। अध्यात्मले जहिले पनि कर्म के हो? असल र खराब कार्यको फल यही लोकमा मात्रै सीमित नभएर अर्काे जन्मसँग समेत जोडिएको भन्दै कुनै पनि लालसाले अर्काे जन्मको बन्धनमा हामीलाई फसाउने बताउने गर्छ।
जबसम्म हामी कर्मको बन्धनमा बेरिएर बसेका हुन्छौं, त्यतिबेलासम्म हामी पुनर्जन्मको जालोमा बेरिइरहेका हुन्छौं भन्ने मान्यता छ। आफ्नोे भाग र भोग अनुसारको कर्म निवृत्ति नगरेसम्म मान्छेले निरन्तर त्यही कर्मको जिम्मेवारी पूरा गर्न पनि पुनर्जन्म लिइरहनुपर्छ भन्ने अध्यात्मिक मत छ।त्यसैले अध्यात्म एउटा यस्तो ज्ञान हो।
जसले सबै कुरा कुनै कर्ताको हातमा रहेकोले कुनै पनि कुरामा मरिहत्ते गर्नु आवश्यक नरहेको बताउँछ।केवल ज्ञानी पुरुषले जो जीवित मूर्तिहरू हुन्, हामीलाई प्रेमको सही परिभाषा दिन सक्छन्।
साँचो प्रेम त्यो हो जुन कहिल्यै बढ्दैन र घट्दैन पनि। सम्मान गर्ने व्यक्तितर्फ कुनै उत्कटता हुँदैन, न त अपमान गर्ने व्यक्तिप्रति कुनै घृणा नै हुन्छ। संसारमा हुने यस्तो प्रेमलाई निर्दोष मान्ने गरिन्छ।
अध्यात्मले मृत्युको बारेमा जानकारी दिएर मृत्युप्रति मान्छेको डरलाई भगाउने काम गर्छ। आत्मा कहिलै मर्दैन भन्ने केही हिन्दु दर्शनको मत छ। त्यसैले एक पटक आत्मालाई राम्रोसँग बुझ्न सक्यो भने मात्रै त्यो मान्छे मृत्युबाट डराउँदैन भन्ने अध्यात्मको मत छ।
आर्थिक विकास गरेर र धन सम्पत्ति जम्मा गरेर मात्रै जन्म, मृत्यु, वृद्धावस्था र रोगजस्ता जीवनका समस्याहरूलाई रोक्न सकिँदैन। विश्वका धेरै भागहरूमा यस्ता कैयौँ राज्यहरू, व्यक्तिहरू छन्, जो जीवनका सुख सुविधाबाट परिपूर्ण छन्। धनधान्यले पूर्ण छन्।
आर्थिक रूपले विकसित छन् तर त्यहाँ पनि सांसारिक जीवनका समस्याहरू जस्ताको जस्तै छन्। तिनीहरू विभिन्न तरिकाबाट शान्तिको खोजी गर्दैनन्।
तर त्यो शान्ति तिनीहरूले त्यस समयमा मात्र पाउन सक्नेछन्।सांसारिक भौतिक सुख सुविधाका लागि गलत कार्यमा तल्लीन हुनु नदिन आत्म साक्षात्कारको बाटोमा अग्रसर गराउनु पर्दछ।
योगाभ्यास र अध्यात्मिक ज्ञानवृद्धका क्रियाकलापले कर्मचारीहरू भौतिक, मानसिक क्रियाबाट पूर्णतया संयमित हुनेछन्। यसबाट कर्मचारीले शुद्ध मनले आफैलाई देख्न सक्नेछन् र आफैमा आनन्दित हुन सक्नेछन्।
यस आनन्दमय स्थितिमा प्रभावकारी सेवा प्रवाह गर्न सक्नेछन् र आफ्नो छुट्टै पहिचान सहित स्थापित हुन सक्नेछन्। आध्यत्मिक सुख प्राप्त भएपछि उसलाई अरू कुनै सुखले आकर्षित गर्न सक्दैन। यही नै भौतिक संसर्गका कारणले उत्पन्न समस्त दुःखहरूबाट हुने वास्तविक मुक्ति हो।
निष्कर्ष
विज्ञान, पूर्वीय चिन्तन र अध्यात्म ज्ञान तीनवटा क्षेत्र हुन् जसले मानव जीवनका विभिन्न पक्षहरूलाई गहिरो र समग्र दृष्टिकोणबाट बुझ्नमा मद्दत पुर्याउँछन्।
विज्ञान बाह्य, भौतिक संसारको अनुसन्धान र विश्लेषण गर्न केन्द्रित छ, जबकि पूर्वीय चिन्तन र अध्यात्म ज्ञान आन्तरिक, आत्मिक र आन्तरिक अन्वेषणमा आधारित छन्।
यी सबैले आफूलाई परिपूर्ण बनाउने र जीवनका उद्देश्यलाई बुझ्नका लागि एक नयाँ दिशा प्रदान गर्दछ। यदि हामी यी तीनवटै विचारधाराहरूलाई एकअर्कासँग समाहित गर्न सक्छौं भने, हामी हाम्रो जीवनमा सम्पूर्णता र सन्तुलन हासिल गर्न सक्छौं।
अध्यात्म ज्ञानले अनुशासित, मर्यादित र सन्तुलित बनाउन सिकाउँछ र यो विश्वजनीन सत्य हो। अध्यात्मको ज्ञान र व्यवहारिक उपयोगले मात्र यस जननीरुपी धर्ति मातालाई जोगाउन सक्छ। पूर्वीय अध्यात्म दर्शनका मूलभूत पक्षहरु मनन्योग्य छन्।
मानव जातिको अस्तित्व जोगाउन मानव जातिको अस्तित्व जोगाउन गीता, उपनिषद, ब्रम्हसूत्र र बुद्धवाणीहरुलाई विश्वले राम्ररी अध्ययन र मनन गर्नु जरुरी छ। मानव सभ्यतामा अनुशासित, मर्यादित र सन्तुलित जीवनका लागि अध्यात्म ज्ञानको सिञ्चन आवश्यक छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्।)
Facebook Comment