कमजोर जगमा सेलिब्रेटिको प्रेम, भत्केको पत्तै हुँदैन
काठमाडौं। सेलिब्रेटी समाजका रोडमोडल हुन्। उनीहरूलाई फलो गर्नेको ठूलै जमात हुन्छ। धेरैले सेलिब्रेटीको सिको गर्छन्। तर, तिनै सेलिब्रेटी बेला-बेला विवादमा तानिँदा त्यसले समाजमा दिने सन्देश कस्तो होला? हामी सहजै अनुमान लगाउन सक्छौं।
धेरै सेलिब्रेटीको विवादको कारण पारिवारिक सम्बन्ध बन्ने गरेको छ। विवाह र डिभोर्सको चर्चामा अधिकांश नेपाली सेलीब्रेरी रहुँदै आएका छन्। हुनत यो नितान्त व्यक्तिगत मामिला हो। तर, सेलीब्रेटीका गतिविधिप्रति समाजको नजरमा हुन्छन्।
शुक्रबार मात्रै गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्। काठमाडौं जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन्।
गत वैशाखमा बागलुङका विष्णु सापकोटासँग विवाह गरेकी एलिना एक वर्ष नवित्दै सम्बन्धविच्छेदको किनारामा उभिन पुगेकी छन्।
एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका-उपशंका गरेको आरोप लगाएकी छन्। यसले उनको वैवाहिक सम्बन्धमा विश्वासको जग कमजोर रहेको देखाएको छ।
यो नयाँ रोग होइन। भुवन केसीदेखि एलिनासम्म आइपुग्दा थुप्रै सेलिब्रेटीले सम्बन्ध विच्छेदको नमिठो स्वाद चाखेका छन्।
सदावाहर नायक भुवन केसीले पहिली पत्नी विजया मल्लसँग सम्बन्ध विच्छेद गरेको वर्षौं भएको छ। दुई सन्तानकि आमा वजयासँग सम्बन्ध विग्रिएपछि उनले सुस्मिता बमजनसँग विवाह गरे। हाल भुवन अभिनेत्री जिया केसीसँगको सम्बन्धमा छन्।
नेपालका पूराना नायक हुन् शिव श्रेष्ठ। उनको प्रेम वैवाहिक जीवन पनि सफल रहन सकेन। दुई दशक लामो सम्बन्धलाई किनारा लगाउँदै उनले श्रीमती गंगा श्रेष्ठसँग सम्बन्धविच्छेद गरे। त्यसपछि उनले निकै कम उमेरकी युवतीसँग बिहे गरे।
रीमा विक चर्चित कार्यक्रम सञ्चालिका एवं मोडल हुन्। उनका थुप्रै फ्यान छन्। उनले २०१५ सेप्टेम्बरमा रोबर्ट विकसँग विवाह गरेकी थिइन्। उनको बैबाहिक जीवन पनि दुई वर्ष टिक्न सकेन। श्रीमान्सँग डिभोर्स गरेर रिमा अहिले एक्लै रमाइरहेकी छन्।
अभिनेतृ प्रियंका कार्कीको बैबाहिक जीवन पनि सुखद छैन। कार्कीले अमेरिका निवासी रोचक मैनालीसँग बिहे गरेकी थिइन्। उनको पहिलो श्रीमान्सँग डिभोर्स भयो। पछि उनले अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरिन्। अहिले प्रियंकाकी एक छोरी छन्।
कुनै समयकी चर्चित अभिनेत्री सञ्चिता टुईंलेटले पनि पहिलो पतिसँग डिभोर्स गरेर अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन्। निखिल पनि बहिले नै विवाहित थिए।
पुरानी अभिनेत्री गौरी मल्लको बैबाहिक जीवन पनि सुखद छैन। प्रज्वल भण्डारीसँगको वैवाहिक सम्बन्ध टुंग्याएकी गौरी हाल कमेडी दरबारसँग जोडिएकी छन्।
१५ वर्षकै उमेरमा विवाह गरेकी अभिनेतृ मौसमी मल्लले ९ वर्षपछि बैबाहिक सम्बन्धलाई विश्राम दिएकी थिइन्। मनिषा कोइरालाको सम्राट दाहालसँग सम्बन्धविच्छेद भयो। निर्देशक प्रशन्न पौडेलले नायिका सिम्पल खनाललाई डिभोर्स दिए।
गायिका अञ्जु पन्तले संगीतकार मनोजराजसँग १० वर्षपछि सम्बन्ध टुंग्याएर अर्को बिहे गरिन्। गायिक मिलन अमात्यले मेन्सन अमात्यलाई डिभोर्स दिइन्।
नायिका रेखा थापाको चलचित्र निर्देशक छविराज ओझासँग डिभोर्स भयो। उनले दोस्रो बिहे जाजरकोटका बलराम शाहीसँग गरेकी छन्। छविसँगै नायिका शिल्पा पोखरेलको डिभोर्स भयो।
नायिका वर्षा सिवाकोटीले पनि बिबाह गरेको एक वर्ष नपुग्दै सम्बन्धविच्छेद गरेकी थिइन्। सिवाकोटीले २०७९ वैशाख ९ गते अमेरिका बस्दै आएका इन्जिजियर आशिष गेलालसँग लगनगाँठो कसेकी थिइन्। त्यो सम्बन्ध धेरै टिक्न सकेन।
नायिका अरुणिमा लम्सालले व्यापारी अमित अर्यालसँग विवाह गरेकी थिइन्। उनको सम्बन्ध लामो जान सकेन। अभिनेत्री लम्सालले अमित अर्यालसँग १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याएकी थिइन्।
त्यसपछि उनले गत भदौ ३ गते युवराज श्रेष्ठसँग दोस्रो बिहे गरिन्। बिबाहको छोटो समयमै उनीहरूको सम्बन्धविच्छेदको चर्चा चलेको छ।
लम्सालले विवाहका तस्बिर सामाजिक सञ्जालबाट हटाएसँग यस्तो चर्चा चलेको हो। अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन्। फोटो हटाउने मात्र होइन, इन्स्टाग्राममा एकअर्कालाई पछ्याएको देखिँदैन।
श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन्। उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन्।
विवाहको ६ महिना पनि नबित्दै उनीहरुको सम्वन्धमा दरार आएको बताइन्छ। श्रीमान्ले आफूलाई चिट गरेको आरोप अरुणिमाले लगाउन थालेकी छन्। हाल अरूणिमा आफ्नी छोरी र बाबुआमाका साथमा अमेरीका बस्दै आएकी छन्।
यस क्षेत्रका जानकार अविश्वासकै कारण कलाकारहरू सम्बन्ध राम्रो नहुने गरेको बताउँछन्। एकअर्काप्रति गरिने शंका नै सम्बन्धविच्छेदको प्रमुख कारण हुने गरेको छ। विवाहपूर्व स्वतन्त्र रुपमा हिँडिरहेका कलाकार विवाहपछि त्यो गुमेको महशुस गर्ने भएकाले यस्तो हुने गरेको बताइएको छ।
Facebook Comment