कोशीका मुख्यमन्त्रीद्वारा एचपीभी खोपको शुभारम्भ
काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन्।
सुनसरीको बर्जु गाँउपालिका स्थित राम सीता माध्यमिक विद्यालय खोप केन्द्रबाट उनले एचपीभी खोप अभियानको शुभारम्भ गरेका हुन्। सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले सरकारले सीमित साधन स्रोतबाट जनताको जीवन सुरक्षाका लागि खोप कार्यक्रम संचालन गरिरहेकोले यसबाट भरपुर फाइदा लिन आग्रह गरे।
उनले कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएकाले सम्बन्धित सबैलाई सबै खोप दिने वातावरण बनाउन सबैको सहयोग आवश्यक भएको धारणा राखे। एचपीभी खोप आगामी वर्षदेखि नियमित खोपमा समावेश हुने भएकाले यसपटकको खोप अभियानलाई पूर्ण सफल बनाउन उनले आग्रह गरे।
अभियानअन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको छ।
कोशी प्रदेशका सुनसरी, ताप्लेजुङ, धनकुटा लगायत ८ जिल्लामा माघ २२ गते देखि, मोरङ, उदयपुर सहित ४ जिल्लामा माघ २३ गते देखि र इलाम र संखुवासभामा माघ २७ गते देखि खोप अभियान संचालन हुने र फागुन ४ गते समापन भएपछि छुटेका किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
Facebook Comment