एनआरटी क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

डिसी नेपाल
२२ माघ २०८१ २१:४८

धरान (सुनसरी)। केएफसिटी झापालाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी क्लब काठमाडौँ २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धरान रङगशालामा आज भएको खेलको ४८ औँ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। उनले रोबर्ट कोबिनाको पासमा गोल गरेका हुन्।

खेलको ६०औँ मिनेटमा सरोज घिसिङले र ८० औँ मिनेटमा रोहन खड्गीले एनआरटीका लागि गोल गर्दै सहज जितका लागि सहयोग गरेका थिए। उता ६२ औँ मिनेटमा केएफसिटी झापाका खेलाडी रोबेर्ट खोङजो सात्वना गोल फर्काउन सफल भएका थिए।

आजको खेलमा एनआरटीका शिशिर लेखी म्यान अफ दि म्याच घोषित भए। उनले ट्रफीसहित १० हजार नगद प्राप्त गरे। बुधबार आरटिसी भुटान र चर्च ब्याइज युनाइटेडबीच खेल हुनेछ।

यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित रू १० लाख र उपविजेताले नगद रू पाँच लाख पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले नगद रू एक लाख, सर्वाधिक गोलकर्ताले रू ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रू २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *