एकीकृत निर्वाचनसम्बन्धी विधेयक सदनमा पेश गर्न सरकारलाई समितिको निर्देशन
काठमाडौं। राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचन सम्बन्धी विधेयक सदनमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एकीकृत निर्वाचन सम्बन्धी विधेयक तर्जुमा गरि संघीय संसदमा यथाशीघ्र पेश गर्न सरकारलाई निर्देशन दिएको हो।
त्यस्तै बैठकले निर्वाचन आयोगको रिक्त निर्वाचन आयुक्त पदमाा यथाशीघ्र नियुक्त गर्न समेत निर्देशन दिएको छ। बैठकमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिले नै पुरै प्रणाली परिवर्तन भन्दा पनि हालको निर्वाचन प्रणालीभित्र सुधारको खाँचो रहेको बताए।
नेपालभित्र मतदातालाई आफू अनुकुलको स्थानमा मतदान गर्ने लगायतका व्यवस्था सुधार गर्ने गरि अघि बढेको उनले बताए। उनले सम्माननीय भनिने पदमा महिलाको प्रतिनिधित्व सुनिश्चिततामा आयोगले जोड दिएपनि कार्यान्वयन हुन नसकेको उल्लेख गरे।
थपलियाले अहिलेको संविधान र कानूनले कुनै पनि दललाई बहुमत ल्याउनबाट नरोकेको स्पष्ट पारे।
उनले निर्वाचन प्रणाली सुधारका लागि सुझाव धेरै दिएपनि कार्यान्वयन हुन नसकेको उल्लेख गरे। बैठकमा राष्ट्रियसभा सदस्यहरुले निर्वाचनमा धेरै सुधार भएपनि पर्याप्त नरहेको धारणा राखेका थिए।
Facebook Comment