लघुकथा : बाध्यता

प्रकाशचन्द्र खतिवडा
२६ माघ २०८१ ६:४२

“ओ विलाप जी। ” कसैले बोलायो उसलाई। उसले पुलुक्क हेर्‍यो।

कलेज पढ्दाको साथी गुणराज रहेछ। “अरे यार। कस्तो संयोग? कति बर्षपछि भेट भो हाम्रो।” विलापले आश्चर्य प्रकट गर्‍यो।

तिसौं बर्ष पछि पनि उनीहरुले एक अर्कालाई चिने। उनीहरु ०४२-०४४ सालतिर महेन्द्र मोरङ कलेज विराटनगरमा पढ्थे। उनीहरुको डेरा पाञ्चाली मिनि होस्टेलमा थियो। गुणराजको घर संखुवासभा। विलपको घर भोजपुर।ओल्लो पल्लो कोठामा आवत जावत चलिनै रहन्थ्यो।

विलाप उसको साहित्यिक उप नाम हो। उसको वास्तविक नामले कसैले पनि चिन्दैनन् उसलाई । कलेजका कार्यक्रमहरुमा राम्रा र मिठा कविता सुनाउँथ्यो। गुणराज संगीत प्रेमी थियो। उ गीतार बजाउँथ्यो।

उनीहरुको भेट आज भोजपुरको टक्सारमा आकस्मिक भएको हो। विलाप हेड सर हो। विद्यालयको कामले टक्सार पुगेको थियो। गुणराज घरेलुको प्रमुख भएर टक्सार आएको रहेछ। सँगैका साथी एउटा विद्यालय प्रमुख। एउटा कार्यालय प्रमुख। संयोग मान्नै पर्छ।

चिया पसलमा बसेर गुणराज चिया पिइरहेको थियो। चिया पिउनु पर्‍यो भनेर विलाप पनि चिया पसलमा पुगेको थियो। उनीहरुको भेट त्यही भयो। दुवैले अंकमाल गरे। विराटनगर बस्दाका क्षणहरु सम्झे।

लामै भलाकुसारी गर्ने उद्देश्यले गुणराजले विलापलाई त्यो बिहानको खाना सँगै खाने आग्रह गर्‍यो। विलापलाई अलि हतारै भए पनि दश बजे सम्ममा त फुर्सद भई हाल्छ भन्ठानेर गुणराजको आग्रह विलापले शिरोधार्य गर्‍यो।

दश बजेपछि विलापको जि.शि.का. र जि.वि.स. मा काम थियो। उसको विद्यालय भवन बनिरहेको थियो। भवन निर्माण सम्बन्धि काम लिएर उ भोजपुर आएको हो।

घर व्यवहार, पढाइ, जागिर र राजनीति सम्बन्धि लामै भलाकुसारी गरे उनीहरुले। विराटनगर पढ्दा उनीहरु बामपन्थी राजनीति गर्थे। त्यो वेला पार्टीहरु प्रतिवन्धित थिए ।

एक दलीय पञ्चायती व्यवस्था थियो। पञ्चलाई छलेर राजनीति गर्नु पथ्र्याे। अहिले व्यवस्था फरक भएको छ। देशमा बहुदलीय प्रजातन्त्र छ। मानव अधिकारको बाहाली भएको छ।

राजनीति गरिरहेका भए विलाप र गुणराज पक्कै पनि सांसद बन्ने थिए। तर पढाइ पछि घर व्यवहारका बाध्यात्मक पस्थितिले गर्दा उनीहरुले जागिर खान थाले।

आफ्नो पार्टीलाई आर्थिक र नैतिक सहयोग उपलब्ध गराएर उनीहरु दुनियाँका नजरमा स्वतन्त्र नागरिक जस्तै देखिएता पनि उनीहरु भित्रको राजनीति मरेकै थिएन। जागिर खानु उनीहरुको बाध्यात्मक परिस्थिति थियो।

सुन्दरहरैंचा-६ ,दुलारी, मोरङ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *