आत्मविश्वास साथ स्टेज चढेका राउटेहरू…

डिसी नेपाल
२४ माघ २०८१ १६:०७

काठमाडौं। मुखियाको छोरो दीपक शाही। उनी नेपाली भाषा खरर बोल्न सक्छन्, भिडभाडमा कुरा गर्न सक्छन्। नेपाली गीत गाउन सक्छन्। उनले धक फुलाएर गाए, पर्ख पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समाएर सँगै रमाउँला।

उनीसँगै जिकी र सुरमान पनि स्टेज उक्लिए। महिलालाई खासै ठाउँ नदिने राउटेको सायद यो नै पहिलो छलफल हो, जहाँ २ महिला र २ पुरुष आत्मसम्मानका साथ स्टेजमा चढे। उनीहरूले राउटे जंगलमै जिन्दगी नामको छलफल कार्यक्रममा थोरै बोले धेरै सहजकर्ता दीपक सापकोटाका कुरा सुने।

महिलालाई किनअहिलेसम्म मुखिया नबनाएको? दिपकले गरेको ठाडो प्रश्नमा दिपक शाहीले भने, ‘पूर्खादेखि नै यो चलन छैन। आईमाई शरम मान्छन्, त्यहिभएर।’

सुरमानलाई बोल्न नखोज्दा नखोज्दै सोधियो, स्कुल जान, पढ्न मन छैन? उनले सिँधै भनिन्, ‘पढ्न मन छैन। मुखियाले पठाउँदैन पनि।’

दिपक शाहीले पनि यहि कुरा थपे। ‘हामीलाई मुखियाले स्कुल जान दिँदैन। तर, पनि क, ख, ग, घ हामीले पढेका छौं। नाम लेख्न आउनथालेको छ।’

स्टेजमा उक्लिएका नविन शाही बोल्न सकेनन्। उनले आफू बिरामी भएको भन्दै माइक समाउँनै मानेनन्। जिकीले उनकै मौलिक भाषामा सुमधुर गीत गाइन्।

सुरमानले बोल्न मन नगरे पनि पहिलो पटक काठमाडौं देख्दाको अनुभव भने बाँडिन्। उनले भनिन्, ‘काठमाडौं राम्रो लाग्यो।’

कुरा धेरै गर्नु र भात धेरै चपाउनु राम्रो होइन भन्ने चलन भएका राउटे समुदायले मुखले कम बोले पनि भावभंगीले धेरै बोले। यति धेरै भिडमा माइक समातेर प्रश्नको सामना गर्न तयार उनीहरू सुर्खेतदेखि काठमाडौं यही छलफलका लागि आएका हुन्।

दिपक शाहीले आफू १० या १२ चोटी काठमाडौं आइसकेको बताउँदै पहिलेको भन्दा नेपाल सरकारले धेरै सुविधा बढाएको बताए।

सहजकर्ता दीपक सापकोटाले सरकारले घर बनाइदिए बस्ने भन्ने प्रश्न गर्दा उनीहरूले सहजै अस्विकार गरे। उल्टै प्रश्न गरे, ‘घरमा किन बस्ने, हामीलाई त चक्कर लाग्छ।’

बलो, बन्चरो र ओदान बोकेर विभिन्न जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे काठबाट बनेका सामानबाट अन्न साँटेर जीवीकोपार्जन गर्न समुदाय हो। उनीहरू बाँदर मारेर खान्छन्। दिपक शाहीले हाँस्दै भने, ‘मासु मिठो त बाँदरकै हुन्छ।’

तर, अहिले यी सबै काम कम भएको छ। उनीहरू पहिलेको जस्तो धेरै काठका सामान बनाउँदैनन्। सरकारले ल्याएको बन सम्बन्धी नीति उनीहरूलाई पनि राम्रोसँग थाहा छ। भन्छन्, ‘धेरै रुख काट्यो भने कानुन लाग्छ। ठिक्क काट्नुपर्छ।’

उनीहरू अहिले घरमा नबसे पनि चौरमा बस्छन्। ‘बाक्लो या पातालो जंगल जस्तो भए पनि यसको नजिकै भएको चौरमा बस्न रमाइलो लाग्छन्’, दिपक शाहीले माइमा फु… फु… गर्दै भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *