पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान विचार भएकाहरू एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्तावप्रति राप्रपा अनुदार देखिनुलाई आश्चर्यजनक रुपमा लिएको बताएका छन्।
आज पार्टीको लुम्बिनी, पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कर्णाली क्षेत्रका पदाधिकारी, सदस्य तथा जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा बोल्दै थापाले अहिले एक/एक व्यक्तिको पनि महत्त्व र आवश्यकता भएको बेलामा सबै विचार मिल्ने पार्टी, समूह, अभियान एक ठाउँमा बसौंभन्दा राप्रपाले प्राथमिकता नदिनु अचम्मको रहस्य भएको बताए।
‘उहाँहरूको आफ्नो केही आन्तरिक समस्या पनि हुन सक्ला। अब त्यो हामिले जान्ने कुरा भएन,’ थापाले भने। राप्रपासँग तत्काल एकता हुन नसकेता पनि एजताको ढोकालाई खुल्ला राख्दै अब विचार मिल्ने अन्य अभियान, समूह र पार्टीसँग छलफल गरेर राप्रपा नेपाल आन्दोलनमा जाने उनले स्पष्ट पारे।
‘सिद्धान्त केन्द्रित भएर इमानदारीपूर्वक आन्दोलनमा जान तयार हुने सबैसँग छलफल गर्छौं। र, आन्दोलनमा जान्छौं। अहिले एजेन्डा स्थापित गर्ने अनुकूल समय छ,’ उनले भने।
बेरोजगारी, धर्म परिवर्तन, आर्थिक मन्दी जस्ता डरलाग्दो समस्या यो व्यवस्था र प्रणालीले सामना गर्न नसक्ने भन्दै थापाले धार्मिक आस्था र विश्वासमाथि हमला गर्दै धर्म, संस्कृति र पहिचानलाई कमजोर बनाउने विदेशी पैसाको प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्दै थापाले छानबिन र कारवाहीको समेत माग गरे।
सो अबसरमा उनले संगठन र आन्दोलनलाई सँगै लैजानु पर्ने भएकोले विषयको गाम्भिर्यतालाई बुझेर काम गर्न भर्चुअल बैठकमा सहभागी नेता कार्यकर्तामा आग्रह गरे।
Facebook Comment