रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश
चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
यसअघि साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोपमा लामिछानेविरुद्धको मुद्दामा बुधबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो। लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसूरमा अदालतमा मुद्दा दर्ता भएको थियो।
साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको थियो।
चितवन अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए।
यसैगरी जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए।
त्यस्तै प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा. नारायणदत्त कंडेलले बहस गरेको विश्वकर्माले जानकारी दिए।
यसअघि लामिछाने रुपन्देहीमा एक करोड, काठमाडौंमा ६० लाख र कास्कीमा ६५ करोड धरौटीमा छुटेका थिए।
Facebook Comment