नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भएका खेल संघहरुलाई स्पष्टीकरण सोध्ने राखेपको निर्णय

डिसी नेपाल
२४ माघ २०८१ १७:२९

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले अदालतको आदेश विपरित नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ/संस्थाहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

कार्यकारी समितिको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनको लागि परिषद्बाट भएको निर्देशन विपरित निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ/संस्थाहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकले ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भई तोकिएको समय भित्र स्पष्टीकरण पेश नगरेकोले कराते महासंघलाई ३ दिनभित्र आफ्नो उचित कारण सहित लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

त्यस्तै परिषद्ले दिईएको शर्त पालना गर्ने नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल भलिबल संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल बक्सिङ संघलाई सफाई पेश गर्न ३ दिन समय सिमासहित मौका दिने निर्णय गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

त्यस्तै अदालतको आदेश विपरित विद्युतीय माध्यामबाट निर्वाचन गरेको भनिएको ओलम्पिक कमिटिको कुनै पनि बैठक लगायतका काम कारबाहीहरुमा राष्ट्रिय खेल संघ र महासंघहरुलाई सहभागी नगर्न÷नगराउन सार्वजनिक रुपमा सूचना जारी गर्ने निर्णय राखेपले गरेको छ।

बैठकले नेपाल ओलम्पिक कमिटिको बैंक खाता रोक्का, वैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक्का र भौतिक सम्पत्तिको अनाधिकृत रुपमा उपयोगमा रोक्काको लागि सम्बन्धित नियामक निकायहरुमा पत्राचार गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *