प्रतिनिधिसभा बैठक : गृहमन्त्री र आईजीपीमाथि छानविन गर्न माग
काठमाडौं। प्रतिनिधिसभा बैठकमा सांसदहरूले समयसामयिक विषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन्।
एकीकृत समाजवादी सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक, नेपाली प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँबरलगायतमाथि अनुसन्धानको माग गरेका छन्।
सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र राममाथि गृहमन्त्री लेखकको निर्देशनमा प्रहरीले ज्यादति गरेको भन्दै उनले अनुसन्धान गरी कारबाहीको माग गरेका हुन्।
अन्तरजातीय विवाह गरेका नेहा र सत्येन्द्रलाई प्रहरीले भारत पुगेर पक्रेर ल्याएको घटना बाहिरिएको थियो । अदालती विवाह गरेका जोडीविरुद्ध पुनः अर्को अदालतमा मुद्दा दायर भएको थियो।
उक्त घटनाको बारेमा बोल्दै नेता ज्वालाले भने, ‘उक्त दम्पतीलाई मुम्बइबाट पक्राउ गरेर ल्याएर यातना दिने, यातना दिनका निम्ति, अत्याचार गर्नका निम्ति निर्देशन दिने गृहमन्त्री र आईजीपीलगायतलाई छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्,’ उनले भने।
बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।
आजको बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परेका उल्लेख गर्दै माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरिन्।
सांसद अशोककुमार चौधरीलेले स्वर्गद्वारी गुठीका मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद मेटमणी चौधरीले एक हप्ता भइसक्दा पनि गुठी पीडितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीडित बिरामी पर्न थालेको बताए।
सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाइन्। कानुन बमोजिम दर्ता भएका व्यवसायीको जीउधनको सुरक्षाको समेत उनले माग गरिन्।
सांसद छविलाल विश्वकर्मा र प्रभु साहले भारतमा चलिरहेको महाकुम्भ मेलामा भागदौडमा परि केही नेपाली नागरिकले ज्यान गुमाएका तथा हराइरहेको विषयमा सरकारले सोधखोज गर्नुपर्ने बताए।
सांसद अम्मरबहादुर रायमाझीले यही माघ २४ गते कमलपोखरीस्थित सानदार मःमः हाउसमा आगलागी हुँदा ११ कामदार घाइते भएको उल्लेख गर्दै उक्त घटनाको अनुसन्धान र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे।
सांसद लेखनाथ दाहालले गत असोज दोस्रो साता आएको बाढीपहिरो पीडितका लागि राहत, पुनःस्थापना तथा पुनःनिर्माणका काममा ढिलाइ भइरहेको बताए। बिपी राजमार्ग अहिलेसम्म पनि पुनःनिर्माण हुन नसकेको विषय उनले संसदमा उठाए।
Facebook Comment