आहा ! रारा पोखरा गोल्डकप: संकटा क्लब थण्डर बोल्डसँग पराजित
कास्की। पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा पाहुना टोली भारत सिक्किमको थण्डर बोल्ड नर्थ युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा आज भएको खेलमा प्रतियोगिताको तीन पटकको च्याम्पियन संकटा फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै पाहुना टोली थण्डर बोल्डले प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भयो।
खेलको १७औँ मिनेटमा संकटाका मनिष पौडेलले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको २४औँ मिनेटमा थण्डर बोल्टले गोल फर्काउँदै खेल बराबरीमा ल्याउन सफल भयो।
संकटाका पौडेलले डी बक्सभित्रबाट पासाङ लामाको पासलाई सदुपयोग गर्दै गोल गरका थिए। थण्डर बोल्टले भने पेनाल्टीमा गोल गर्यो। थन्डरका टालाले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे। करन राईलाई लडाएपछि थण्डरले पेनाल्टीको मौका पाएको थियो।
खेलको ७७औँ मिनेटमा थण्डरका करन राईले टिमका लागि दोस्रो गोल गरे। खेलमा फर्किन संघर्ष गरिरहेको संकटाले ८४औँ मिनेटमा पुनः अर्को गोल खायो। थण्डरका आदर्श तामाङले विपक्षी टिमका किपर डिबक्सबाट बाहिर रहेको अवस्थामा मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
प्रतियोगितामा शनिबारदेखी क्वाटरफाइनलका खेलहरु सञ्चालन हुनेछन्। पाहुना टोली ब्रिगेड ब्वाइज क्लब यूके र विभागिय टोली नेपाल पुलिस क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ। २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन्।
Facebook Comment