लघुकथा : बेवारिसे

भूमिका गैरे तिमिल्सिना
२६ माघ २०८१ ८:४९

` गन्हाएर बाटोमा हिँड्नै नसकिने भयो । के मरेछ , कुन्नि ?´

बिहानीको घुमाइमा रमिताले कवितासँग भनिन् ।

कविताले नाक छोप्दै थपिन् , “ यता उता हेर्यो खै केही देखिदैन त ? कति साह्रो गन्हाएको हो छ्या ? कुकुर हो कि , बिरालो ? ´´

राम मन्दिर अगाडिको घुम्ती भएको बाटोमा गन्हाएर हिँड्नै नसकिने भएको कुराले गाउँलेलाई चिन्तित बनायो । गाउँका भद्र भलाद्मी जुटे , स्थानिय क्लब पनि जुट्यो । सबैले यताउता खोजी गरे तर केही फेला परेन । अन्तिममा प्रहरी चौकीमा खबर गरियो ।

प्रहरीको टोली आयो । चेक जाँच गरे । निषेधित ठाँउ भनि कसैलाई नि प्रवेश गर्न दिएन । खोज्दै जाँदा अरेली काँडाको झाडीभित्र एउटा बोरा भेट्यो । बोराको मुख बाँधिएको थियो । पुलिसले फोटो खिच्यो र बोरा खोल्यो, मान्छेको शव फेला पर्यो ।

सबै चकित परे । `को मान्छे हो ? कसको छोरा हो ? हेर ! घर परिवारले कति खोजेका होलान् ।´´अनेकन् तर्कनाहरूबारे खासखुस चलिरहेको थियो ।

पुलिसले  `मृतकको कोहीसँग वैरभाव वा भनाभन भएको थियो ?´  भनेर स्थानीय जनतासँग सोधिरहेका थिए ।

स्थानीय सुरेश भने मनमनै गुन्दै थिए , `आफ्नो जीवनभरि कमाएको पहिचान कतै त्यहीँ बोराभित्रको बेवारिसे शवमा टुङ्गिने त होइन ?”

गैंडाकोट ४, नवलपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *