नागरिकको इतिहास लेखन

एउटा नागरिकका कारण भोट र नेपालबीच युद्धको तयारी

डा. विजयप्रसाद मिश्र
२७ माघ २०८१ ७:२४

पृष्ठभूमि

नेपालमा इतिहास भन्ने वित्तिकै राजा महाराजाको इतिहास भन्ने बुझाइ थियो।

विस्तारै इतिहासको दायरा फराकिलो हुँदै गयो। मेरो विद्यावारिधीको शोध निर्देशक, गुरुका पनि गुरु, प्रा. डा. तीर्थप्रसाद मिश्रले राजामहाराजाको मात्र होइन एउटा नागरिक अर्थात् ग्याल्बु शेर्पालाई केन्द्रविन्दुमा राखेर नेपाल र तिब्बत बीच भएको घटनालाई इतिहासको पुस्तकका रुपमा पस्किने काम गर्नुभएको छ।

मिश्रले ‘नेपाल- भोट विवाद : ग्याल्बु (ग्याल्पो) काण्ड ( १९२८–३०)’ लेखेर यसको आंशिक आवश्यकता पुरा गर्नु भएको छ।

इतिहासका विभिन्न पाटाहरु छन्। पुस्तकमा ग्याल्बु शेर्पा नेपाली नागरिक हुन् कि तिब्बती नागरिक हुन् भन्ने एकिन नहुँदा नेपाल र तिब्बतबीच झण्डै युद्धको स्थिति आइसकेको घटनाले देखाउँछ।

एउटा नागरिकका लागि नेपालले गरेको युद्धको तयारी हेर्दा नेपालको इज्जत विश्वसामु बढाउने काम भएको थियो भन्न सकिन्छ। सायद नागरिकलाई मूख्य पात्र बनाएर लेखिएको इतिहास नेपालमा धेरैले पुस्तकमा अनुसन्धानात्मक पद्दती प्रयोग गरेर सप्रसंग व्याख्या गरिएको छ। पुस्तक प्राज्ञिक दृष्टिकोणले अति नै महत्वपूर्ण र अध्ययन अनुसन्धानकर्ताहरुको लागि समेत उत्तिकै उपयोगी छ।

सन् १९५३ डिसेम्बर २७ मा धनकुटाको कचिडेमा जन्मिनु भएका प्रा. डा. तीर्थप्रसाद मिश्रले २४ वटा पुस्तक र १५० भन्दा बढी अनुसन्धानात्मक लेखहरु प्रकाशित गरिसक्नु भएको छ।

१५ जना शोधार्थीलाई निर्देशन गरी विद्यावारिधि गराई सक्नु भएका मिश्र नेपाल इतिहास केन्द्रीय विभागको विभागीय प्रमुखदेखि त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक, नेपाल र एसियाली अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक, नेपाल नेत्रज्योतिसंघको केन्द्रीय अध्यक्ष लगायत दर्जनौ संघसंस्थामा नेतृत्व गरेर विभिन्न पदबाट विभुषित हुनु भएका प्रोफेसर मिश्रको यो पुस्तकले इतिहासमा नयाँ शैली कायम गरेको छ।

लेखकले कुनै सानो घटनालाई पनि एकैपटक विषयवस्तुमा प्रवेश गरेर व्याख्या विश्लेषण गर्नुभन्दा फराकिलो दायरामा रहेर घटना अघिको पृष्ठभूमि, कारणहरु, तत्कालिन कारण, घटना विवरण, विभिन्न पक्षमा त्यसघटनाले पारेको प्रभाव र निष्कर्ष समेत उल्लेख गर्दा पढ्ने पाठकहरुलाई समग्रतामा बुझ्न सजिलो मात्र हुँदैन, यसले कुनै घटना, परिघटना, अप्ठेरो र सहज परिस्थितिहरुमा मानिसले वा नेतृत्वकर्ता वा समाधान गर्ने हैसियतमा रहेका मानिसहरुले त्यसलाई कसरी हेर्ने, अनुभुति गर्ने र कुनै निर्णयमा पुगेर एक्शनमा जानु अघि के कस्ता कुरामा ख्याल गर्नु पर्ने रहेछ भन्ने ज्ञान दिन पनि यो पुस्तक उपयोगी भएको छ।

प्रा. डा. तीर्थप्रसाद मिश्रले लेख्नु भएको ‘नेपाल- भोट विवाद : ग्याल्बु (ग्याल्पो) काण्ड (१९२८–३०)’ नामक पुस्तकको परिमार्जित दोस्रो संस्करणको प्रकाशन २०८१ सालमा क्लासी प्रिन्टिङ् प्रेस, राधे राधे, भक्तपुरले गरेको छ। प्रकाशकमा गुरुआमा पुष्पा मिश्र हुनुहुन्छ।

विश्वविद्यालयमा प्राध्यापनरत प्राध्याकपकहरुको सेवा अवधि १०-१५ बर्ष कटेपछि केही वर्ष पूरै अनुसन्धानमा लगाउनु पर्ने हो। अनुसन्धानमा बढी ध्यान नदिइएकै कारण इतिहासका केही पुस्तकहरु विभिन्न स्रोतबाट तानतुन पारेर सम्पादक जस्तो देखिने गरी लेखक भएर प्रकाशन गरेको हो कि भन्ने अनुभुति पाठकहरुलाई हुने गरेको यदाकता टिप्पणी सुन्न पाइन्छ।

तर प्रा. डा. तीर्थप्रसाद मिश्रले यो पुस्तक लेख्दा आधार मानिएका स्रोतहरुभित्र प्राथमिक स्रोतहरु प्रशस्त परेकोले पुस्तक उत्कृष्ट छ। उहाँले अनुसन्धानका लागि धेरै स्रोतहरुलाई आधार मानेर केही स्थानहरुमा स्रोतहरुले उल्लेख गरेका सन्दर्भहरुमा समेत आफ्नो फरक मत राखेर लेखकीय धर्म निर्वाह गर्नु भएको छ।

पुस्तकमा धेरै उदाहरणहरु छन् जसमध्ये चीनियाँ यात्री यु आन च्वाङ्ले यात्रा बर्णनमा नेपालमा कृषक भन्दा व्यापारी बढी खेखेको कुरालाई साइटेशन गरेको भएपनि त्यसमा आफ्नो विमति जनाएर फुटनोटमा नेपालमा व्यापारी भन्दा बढी त्यसवखत पनि किसान नै रहेकाले त्यस्ता सूचना सम्परीक्षण गर्नु आवश्यक छ भन्ने आँट गर्नु पनि लेखक पुस्तकको विषयवस्तुमा कन्फिडेन्ट रहेको भन्न सकिन्छ।

मिश्रले आफू त्रिभुवन विश्वविद्यालयमा कार्यरत छँदै प्रशस्त पुस्तक र अनुसन्धानात्मक लेखहरु लेखिसक्नु भएको देखिन्छ नै अझै ‘रिटायर्ड बट नट टायर्ड’ भन्ने जस्तो झन झन् सक्रियतापूर्वक पुस्तक र लेख लेखन कार्यलाई जारी राख्नु भएकोले नै यो परिमार्जित संस्करण हाम्रो हात–हातमा परेको छ। उहाँको लेखन कार्यमा देखिएको सक्रियताले हामी चेलाहरुलाई पनि गुरुको शैली पच्छाउन उत्साहित गरेको छ।

शीर्षक चयन र आवरण पृष्ठमा चित्रको प्रयोग 

लेखक मिश्रले राख्नु भएको पुस्तकको नाम चयन गर्दा नेपाल भोट विवाद भएको त्यो पनि एक व्यक्ति गयाल्बु र सालसमेत गरी तीनवटै सन्दर्भलाई शीर्षकमा अटाएर शीर्षक भनेको पुस्तकको झ्याल हो भन्ने भनाईलाई अनुशरण गरेको देखिन्छ। पुस्तकको शीर्षकबाट नै पुस्तकमा के-के उल्लेख छ भन्ने बुझ्न पाठकलाई सहज हुनेगरी पुस्तकको नाम चयन गरिएको छ।

साथै आवरण पृष्ठमा आकाशबाट चट्याङ् परेजस्तो देखाएर भोटको प्रकाशनिक दरवार र नेपालको सिंह दरवारको बीचमा चट्याङ्का झिल्काहरु देखाएर नेपाल भोट बीच कस्तो चर्को विवाद भएको थियो भन्ने सन्देश दिन खोजिएको छ भने प्रशासनिक भवनको तल रातोमा ३६ लेखेकोले दुबैदेशबीच क्रान्तिको प्रतीक रातो र एकअर्काबीच अनुहार नै नहेर्ने गरी रिसाएको मुडमा बसेको र पछि फेरि ६३ त्यो पनि नीलो रंगमा लेखेर शान्तिको प्रतीकको रुपमा रहेको नीलो रङ्गले ६ र ३ आपसमा वार्ता गरेर सहमतिमा पुगेको सन्देश दिन पुस्तकको आवरण पृष्ठ समेत सफल भएको छ।

ग्याल्वुको कैद अवस्थामै मृत्यु भए पनि उक्त काण्डलाई पछि अङ्ग्रेजको मध्यस्ततामा भोटलाई नेपालको श्री ३ सरकारसँग लिखित माफी माग्न लगाएर नेपालको इज्जत बढाउने काम भएको कुरालाई सगौरब यस पुस्तकमा व्याख्या विश्लेषण गरिएको छ।

अध्याय विभाजन 

पुस्तकलाई सात अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायमा नेपाल- भोट सम्बन्ध ऐतिहासिक पृष्ठभूमि, दोस्राे अध्यायमा विवादको पृष्ठभूमि, तेस्रो अध्यायमा विवादको उत्पत्ति र चौथो अध्यायमा युद्धको तयारीको बारेमा उल्लेख गरिएको छ।

त्यसैगरी पाँचौ अध्यायमा बार्ता र सम्झौता, छैठौं अध्यायमा विवादमा अंग्रेजको नीति र सातौं अध्यायमा निष्कर्ष राखिएको छ। पुस्तकमा प्रयोग भएका चिठ्ठीपत्रहरुलाई अनुसूचीहरुमा राखिएकोले पुस्तकमा व्याख्या गरिएका कुराहरुलाई थप विश्वसनीय बनाउनका लागि सहयोग गरेको छ भने सन्दर्भसामग्री विवरण हेर्दा परराष्ट्रमन्त्रालयमा वा अन्य सरकारी निकायमा भएका पोकाहरुमा पहुँच पु¥याएर दुर्लभ सरकारी दस्तावेजका आधारमा पुष्टी गर्दै व्याख्या विश्लेषण गरेको पाइएकोले यस्तो पुस्तक उच्चकोटीको सबैले एक पटक पढ्नै पर्ने गरि अनुसन्धानात्मक पुस्तक लेखनका सबै अंगहरु पुरागरेर तयार गरिएको छ।

लेखन क्षेत्रमा लेखकको परिश्रम 

प्रस्तुत पुस्तकका लेखक मिश्रले प्राथमिक स्रोतका रुपमा परराष्ट्र मन्त्रालय अभिलेखाय, काठमाडौंमा रहेका १४ वटा पोकाबाट र शाही जंगीअड्डा अभिलेखाय, काठमाडौंमा रहेका ६ वटा कितावहरुबाट साइसेटन गरेका पाइएको छ। ४३ वटा प्रकाशित ग्रन्थ र सातवटा अनुसन्धानात्मक लेख र ६ वटा पत्रपत्रिकाबाट साइटेशन गरेर अथक परिश्रम गरी सूचनाहरु संकलन र प्रस्तुतिकरण र विश्लेषण प्रात्रिक रुपमा गरेको देखिन्छ।

साथै ९ वटा दुर्लभ सामग्रीहरुलाई अनुसूचीका रुपमा समावेश गरेकोले पुस्तक प्रतिको विश्वसनियतामा प्रमाणिकरणका सबैपक्ष समेटेको देखिन्छ। पहिले पहिले फुटनोट राख्ने चलन विस्तारै अहिले हराउदै ‘मिडनोट’मा जाने प्रबृत्ति वढेकाले नयाँ यूवा पाठकहरुका लागि भने पुराना शैलीमा साइटेशन गरेको अनुभुति हुने सम्भावना देखिन्छ।

बिषयबस्तुको प्रस्तुतिकरण 

पुस्तकले ग्याल्बु शेर्पाले व्यापार क्षेत्रमा गरेको प्रगतीका कारणले डाह गर्ने भोटका बासिन्दाले उजुरी भोटको प्रशासनमा हालेको देखिन्छ। भोटले शुरुमा आफ्नो नागरिक भनेर पक्राऊगरी थुनेको पछि थुनाबाट भागेर नेपाली वकिलको संरक्षणमा बसेको देखिन्छ।

नेपालले ग्याल्बु शेर्पालाई नेपाली भनेर दावी गरेको र ग्याल्वु स्वयंले आफूलाई नेपाली नागरिक भएकोले नेपालको कानुन अनुसार व्यवहार गरिनु पर्ने माग गरिरहेका हुन्छन्। ल्हासामा बस्ने नेपाली वकिलले समेत ग्याल्वुलाई आफ्नो नागरिक भएको उल्लेख गरेर ल्हासासंग र नेपाल सरकारसँग कुराकानी गरेको देखिन्छ।

यति हुँदा हुँदै पनि नेपालको ल्हासा स्थित वकिलको कार्यालयभित्र पसेर भोटका सुरक्षाकर्मीहरुले ग्याल्बु शेर्पालाई लुटेर आफ्नो कब्जामा लगेपछि नेपालीको कार्यालयमा धावा गर्नु भनेको नेपाल देशमाथी नै दागा धरेजस्तो भएको नेपाल पक्षलाई लागेको हुन्छ र नेपालले शुरुमा चन्द्र शमशेरले युद्धको तयारी गर्दा गर्दै उनको मृत्यु हुन्छ।

चन्द्र शमशेर पछि भीम शमशेरले अंग्रेजलाई मध्यस्तता गरिदिन अनुरोध गरेपछि अंग्रेज प्रतिनिधिको रोहवरमा नेपालका श्री ३ संग भोटले माफीमागेको पत्र आएपछि समस्या समाधान हुन्छ। नेपालसंग भोटले माफी मागेकोमा नेपालका शासकहरुले ठूलो जीत भएको अनुभुति गरेर उत्सव समेत मनाएको देखिन्छ।

ल्हासा स्थित नेपाली वकिलको कार्यालयबाट लुटेर लगिएका ग्याल्बु शेर्पाको भोट प्रशासकको कुटाईका कारण थुनामै मृत्यु हुन्छ। तर उनको मृत्यु पछि पनि भोट प्रशासनले माफी नमागेको भन्दै नेपाल सरकारको तर्फबाट युद्धको तयारी गरेको देखिन्छ भने भोटले पनि युद्धको तयारी गरेको हुन्छ।

यसमा अङ्ग्रेजले भोटलाई हतियार दिएर सहयोग गरिरहेको हुन्छ भने नेपालका श्री ३ चन्द्र शमशेरले सहयोग माग्दा अङ्ग्रेजले दोखा दिन्छ भन्ने शुरुमा देखिए पनि मध्यस्थता गरेर नेपालसंग माफी माग्न भोटलाई राजी गराउने पनि अङ्ग्रेज नै भएकोले अङ्ग्रेजको रण्(ानीति जानिनसक्नु हुन्छ भन्ने पनि देखिन्छ।

लेखकले पुस्तकमा भोटको प्रशासनले खटाएको सुरक्षाकर्मीहरुले जवरजस्ती नेपालको वकिलले राखेको स्थानबाट लगेको र चरम यातना दिई ग्याल्बोको मृत्यु भएको सन्दर्भलाई रोच रुपमा सप्रमाण प्रस्तुत गर्नु भएको छ।

ग्याल्बुको मृत्युपछि नेपालले यसलाई प्रतिष्ठाको विषय बनाएको, गल्ती गरेकोमा माफी माग्न दवाव दिएको तर तिब्बतले वकिल वा भोटमा रहेका नेपाली जनप्रतिनिधिहरुसँग नमाग्ने तर श्री ३ सँग माग्ने भनेर पत्र पठाउने तर माफी मागी नहाल्ने रणनीति लिएर विवादलाई लम्व्याई रहेको देखिन्छ।

नेपालले पनि माफी मागि हाल्छ कि भनेर आशा गर्दा गर्दै चन्द्र शमशेरको मृत्यु भएकोले भीम शमशेरले अङ्ग्रेजको साथ लिएर समस्या समाधान गर्न सकेकोमा उनको कूटनैनिक सफलता भएको पुस्तकले देखाएको छ।

पुस्तकले नेपाल र भोट बीचको यो समस्या नै अन्तिम ठूलो समस्याको रुपमा रहेको र युद्ध विना नै समाधान गर्न सकेकोमा ठूलो नोक्सानीबाट नेपाल र भुटान दुबै बचेको तर्क प्रस्तुत गर्नुले पुस्तकको निष्कर्ष मौलिक छ। यसमा लेखको आफ्नो पन झल्किएको छ।

निष्कर्ष 

पुस्तकका लेखक समग्र इतिहासले फरक धारबाट व्याख्या विश्लेषण गरेर इतिहासको दायरालाई नै फराकिलो बनाउन सफल हुनु भएको छ। पुस्तकले नेपाल भोटको विवाद र त्यसमा अङ्ग्रेज र चीनको भूमिका बारेमा जान्न बुझ्न चाहने र विशेष गरेर अङ्ग्रेजको नेपाललाई विस्तारै तिब्बतमा कमजोर पार्ने र आफ्नो व्यापार बढाउने नीतिलाई कसरी कार्यान्वयनमा ल्याएको रहेछ भन्ने बुझ्नका लागि पुस्तक उपयोगी छ।

साथै एउटा नागरिकका लागि पनि देश–देशबीच युद्ध हुने स्थितिसम्म आउने रहेछ भन्ने सन्दर्भको सटिक विश्लेषण पुस्तकमा पाइन्छ। नागरिक केन्द्रित इतिहासको स्वाद फरक ढङ्गले आएको छ जसमा लेखक प्राध्यापक डा. तीर्थप्रसाद मिश्रले पाठकको सबै किसिमको कौतुहलतालाई पुरा गर्न कतिपय नयाँ जानकारीहरु प्राथकित स्रोतहरुबाट ल्याएर राख्नु भएकोले यसमा लेखकको आफ्नै मौलिकता झल्केको छ।

समग्रमा पुस्तकले अनुसन्धानका सबै खाले विधिहरु प्रयोग गरेकोले सबैका लागि उपयोगी, उत्कृष्ट र इतिहास लेखनमा एउटा मौलिक, पृष्ठभूमि, कारण घटना, परिणाम समेतलाई क्रमशः उल्लेख गरेर एउटा मौलिक नयाँ धार थप्न सफल हुनु भएकोमा बधाई छ ।

लेखकलाई यो जस्तै अन्य क्षेत्रीय, स्थानीय, नागरिक स्तरीय घटनाहरुमा केन्द्रित रहेर थप कृतिहरु लेख्न अवसरहरु मिलोस भन्दै इतिहास लेखनमा एउटा स्वर्ण ईंट थप्ने काम गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु।

मिश्र, तीर्थप्रसाद (२०८१), नेपाल– भोट विवाद: ग्याल्बु (ग्याल्पो) काण्ड (१९२८–३०), भक्तपुर ः पुष्पा मिश्र। (पृष्ठ : १३२, मूल्य ५००।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *