सांसद श्रेष्ठले मागे आफ्नो क्षेत्रमा विकास, प्रदेश सरकारसँग माग नै माग

डिसी नेपाल
२६ माघ २०८१ २०:०४

काठमाडौं। बागमती प्रदेश सभा सांसद गंगानारायण श्रेष्ठले सिन्धुली जिल्लास्थित आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका कामहरुलाई तिव्रता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

सिन्धुली क्षेत्र नं.२(ख) बाट बागमती प्रदेश सभामा निर्वाचित सांसद श्रेष्ठले मानव विकास सूचकांकको आधारमा आफ्नो क्षेत्र बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमध्ये ६६ औं नम्बरमा पर्ने भन्दै यहाँको विकास निर्माणको काममा प्रदेश सरकार संवेदनशील हुनुपर्ने बताए। उनले निर्माणाधिन आयोजनाहरुको काम सुस्त गतिमा भइरहेको उल्लेख गर्दै निर्माणाधिन आयोजनाहरुको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सरकारलाई आग्रह गरे। त्यस्तै विकास निर्माणका विभिन्न आयोजनाहरु आफ्नो निर्वाचन क्षेत्रमा थप गर्न पनि उनले माग गरे।

सांसद श्रेष्ठले हरिहरपुरगढी गाउँपालिका मरिण नदीको हाक्पारा–बखबर पक्की पुल १८ महिनामा काम सम्पन्न गर्नेरी आव २०७८÷०७९ मा शिलान्यास भएको भएपनि आजसम्म काम सम्पन्न नभएको भन्दै काम सम्पन्न हुन नसक्नुको कारण माग गरे । त्यस्तै क्यानखोलाको मोरङ्गे–बन्चरे जोड्ने पक्की पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए । उनले बागमतीको हरिहरपुरगढी गापा– २ चैनपुरबाट मकवानपुरको बागमती गापा– १ बोटगाउँ जोड्ने झोलुङ्गे पुल पनि निर्माण सम्पन्न गर्न माग गरे । सांसद श्रेष्ठले गुर्जी–हरिहरपुरगढी किल्ला सडकलाई बहुवर्षीयमा लैजान भौतिक योजना मन्त्रालयसँग माग गरे । त्यसैगरी पिपलभञ्ज्याङ, हायुटार, रामपुर (मोहनचन्द्र मार्ग) सडक प्रदेशको बजेटमा तीव्रतामा निर्माण भैरहेको उल्लेख गर्दै उनले यस सडकमा पर्ने हाँडीखोला, मरिणखोला र कालीखोलामा पक्की पुल निर्माण गर्न पनि सरकारलाई आग्रह गरे ।

सांसद श्रेष्ठले घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा घोषणा गर्दै शीतभण्डारण र तरकारी एम्बुलेन्सको व्यवस्था गर्न सरकारलाई माग गरे । वीपी राजमार्ग क्षतिग्रस्त भएपछि अर्को वैकल्पिक मार्ग नहुँदा यहाँका किसानहरूले ठुलो समस्या भोग्न परिरहेको उनको भनाई छ । उनले वीपी राजमार्गको विकल्पको रूपमा महाभारत मार्ग निर्माणका लागि संघीय सरकारसँग समन्वय गर्न अथवा प्रदेश आफैँले महाभारत मार्ग निर्माण गर्न पनि माग गरे ।

उनले सिन्धुलीको वीपी राजमार्ग पिपलभञ्ज्याङ हुँदै रामपुर काभ्रेको बनखू, तालढुंगा र ललितपुरको हेल्टार, बगुवा हुँदै कान्ति लोकपथ जोड्ने सडक स्तरोन्नतिका लागि पनि प्रदेश सरकारसँग माग गरे । त्यसैगरी मरिण, बागमती र क्यानखोला करिडोरलाई धान पकेट क्षेत्र घोषणा गर्न पनि उनको माग छ । मरिण, बागमती र क्यानखोला नियन्त्रणका लागि सरकारले विशेष ध्यान पु¥याउनुपर्नेमा उनको जोड छ ।

मदन भण्डारी राजमार्ग निर्माण सँगसँगै त्यस क्षेत्रमा बस्ती विकास तीव्रतामा बढिरहेको भन्दै उनले अहिलेदेखि नै आवासीय क्षेत्र किटान गरेर किटान गरिएको क्षेत्रमा मात्रै बस्ती विकास गराउनुपर्ने बताए । मरिणको सन्दर्भमा कपिलाकोट एरियालाई केन्द्र बनाएर वरिपरिको क्षेत्रमा बस्ती विकास गर्ने र हरिहरपुरगढीको सन्दर्भमा झनझने एरियालाई केन्द्र बनाएर वरिपरिको क्षेत्रमा बस्ती विकासको व्यवस्थित योजना बनाउनुपर्ने उनको भनाई छ ।

सांसद श्रेष्ठले हरिहरपुरगढी गापाको ८ वटा वडामध्ये १,४,५,६,७ वडामा, मरिण गापाको ७ वटा वडामध्ये १,४,५,६,७ वडामा, घ्याङ्लेखको ५ वटा वडामध्ये १,२ र ५ वडामा मोबाइल टावरको समस्या रहेको उल्लेख गर्दै संघीय सरकारसँग आवश्यक समन्वय गरी सञ्चार समस्या समाधान गर्न प्रदेश सरकार समक्ष माग गरे ।
हरिहरपुरगढी गापाको ८ वटा वडामध्ये १,३ र ५,वडा, मरिण गापाको ७ वटा वडामध्येमा १,५ र ३ वडामा र घ्याङलेख गापाको ५ वटा वडामध्ये ४ र ५ नम्बर वडामा विद्युतीकरणको समस्या रहेकाले विद्युतीकरण गर्न उनले माग गरे । उनले आफु निर्वाचित क्षेत्रमा स्वच्छ खानेपानी झन्डै ५० प्रतिशत जनतालाई पु¥याउन बाँकी रहेको भन्दै खानेपानीको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रदेश सरकारको बजेटमा निर्माण सुरु र सम्पन्न भएका योजनाहरू प्रदेशलाई नै थाहा नदिई संघीय सांसदले छापामार तरिकाले शिलान्यास र उद्घाटन गर्दै हिडेका भन्दै आपत्ति जनाए । उनले संघीय सांसदले संघीयताको सामान्य सीमालाई समेत नाघेका बताए । सांसद श्रेष्ठले सानातिना योजनामा समेत संघका मन्त्री र सांसदहरूलाई रिबन काट्न गुहारिने गरेको भन्दै यसको जवाफ सरकारले दिनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *