केक प्रबृत्तिले समाजमा दिन खोजेको सन्देश के हो ?
सामाजिक संजाल फेरि तातियो कारण थियो तरवालले केक काटेको! या सोही अनुरूप फेरि अर्को लफडा केही समयदेखि देखिँदै आएको छ त्यो थियो गणेश चतुर्थीका दिन भक्तजनले ‘केक’काटेको दृश्यले फेरि सामाजिक सञ्जालमा समर्थन र आरोप प्रत्यारोपको बहस चलेको छ। सही/गलत वा सामाजिक सञ्जालमा यस्ता दृश्यले के प्रभाव पार्छ भन्ने पनि होला।
बिशेषत हाम्रो धार्मिक आस्था, सद्भाव र स्वतन्त्रता माथि कसैको हस्तक्षेप जायज होइन। आफूले मानने संस्कृति होस् या परम्परालाई दिगो राख्नु पर्ने हुन्छ तर बदलिदो समय परिबर्तन सँगै हाम्रो भाषा,संस्कार पनि अहिले पाश्चात्य शैलीको आगमन हुनुले यसमा ब्यापक बदलाव आएको पक्कै हो।
मन्दिरमा केक काट्नु ठिक हो या होइन भन्ने बहस होला, हुनत यो पहिलो घटना होइन। जनकपुरको जानकी मन्दिरमा केही भक्तजनहरुले जन्मदिन र वैवाहिक कार्यक्रम मनाउने उद्देश्यले २०७७ बैशाख ताका केक काटेको दृश्यले ठूलो रूप लियो।
अघिल्लो महीनामा हाम्रै नेपाली नायिकाको आमाको जन्मदिन पनि मन्दिरमानै केक काटेर मनाए तर त्यसले सामाजिक सञ्जाल तातिएन। लाग्छ की केक काट्नु आफूलाई भाग्यमानि वा गौरब महसूस गर्दछन्।
चथा:/चख: (गणेश चतुर्थी)का दिन मरु गणेश अशोक बिनायक स्थानमा भक्तजनले केक कट्नु न्यायोचित हो की होइन भन्ने पनि होला। हुनत श्रद्धा र आस्थाले अन्य फलफूल, प्रसाद,लड्डु पनि चढाउँन सकिन्थ्यो होला तर किन केकनै काटियो भन्ने मुख्य कुरा हो।
किन कि केक काटने चलन आजकल फेशननै भई सकेको छ।जन्मदिन होस् या ब्रतबन्ध हरेक शुभ कार्यमा केक काटने प्रबृति बढेको छ।यति सम्म बढ्यो अब केक काट्न र चढाउँन मन्दिरमानै पुग्न पर्ने भयो। यस्तै भयो भने भोलिका दिनमा ‘हैप्पी बर्थडे कृष्ण, लक्ष्मी, गणेश,शिव पार्बती’ भन्ने दिन आउछ जब की केक काटने प्रचलन हाम्रो पक्कै होइन।
साना बालबालिकालाई केक काटेर उत्सव मनाउने वा केक मात्रै काटेर भएपनि रमाइलो गर्ने परिपाटीलाई अहिले बुढा पाका तन्नेरीदेखि बृद्धसम्मले फेशन गर्ने बानी बस्यो। त्यहीको लतले मन्दिरसम्म पुग्न थालेको हो। खुशियाली साटासाटको केक भन्दा अरु केहि छैन भन्ने भान परेको छ।
यो घटनामा मन्दिरले गलत परम्पराको सुरुवात गरी अनुसरण गर्न लागेको हो मन्दिरले नै जानोस् तर हाम्रो संस्कृति, परम्परा रीतिरिवाजमा यस्तो क्रियाकलापको आलोचना वा बहस हुनु पर्दछ।
परम्परा संस्कृतिहरु पनि हाम्रा आफ्नै जाति समुदाय सम्प्रदायको पहिचानको रुपमा रहेको हुन्छ। त्यही पहिचानको रुपमा रहेका कतिपय संस्कृतिहरु अहिले विकृतिको रुपमा छ।
यस लेखले केक नराम्रो भनेर भन्न खोज्या होइन, केक तथा बेकरीका परिकारको व्यवसाय गरिरहेकालाई असर गर्ने नियत होइन। मात्र हाम्रो परम्परा संस्कारलाई कुन बेला कसरी प्रयोग गर्न सकिन्छ भन्ने हो।
नेवा:संस्कृतिको चाड पर्ब वा मन्दिरमा ‘अएला’ रक्सी चढाउँने र खाने परम्परा जिबितनै छ तर रक्सी नखानेलाई कर र प्रसादका नाममा खानै पर्छ भनेर लादिएको छैन। यही भनि रहँदा बली दिने प्रथा पनि जोड़न सकिन्छ। एकाथरि काटमार गर्न हुन्न भन्नेको जमात छ त अर्को थरि धार्मिक संस्कारका नाममा पशु वली चढाइने परम्परा कायम छ।
सबै धर्म सम्प्रदायले आफ्नो आफ्नो तरिकाले मान्ने चलन छ तर अहिले सबै भन्दा बढ़ी अझ भन्नु पर्दा धर्म निरपेक्ष भन्ने संस्कारले जातीय संस्कृति र हिन्दुत्वलाई नै केही असर पारेको देखिन्छ।
हाम्रो समाजनै अहिले उल्टो दिशा तर्फ मोडिएको जस्तो देखिन्छ। आधुनिकताको नाममा बढिरहेको विकृतिले नेपाली समुदाय बिस्तारै पाश्चात्य शैलीको गुलाम हुने अवस्था आउन बेर लाग्दैन।
हाम्रा आफ्नै मौलिक परिकारहरू बिस्तारै विस्थापित हुँदै जानु नै हाल देखा सिकी र पश्चात्यकरण अनुसरण गर्नु हो। जसले आगामी सहरी बिलसिता जीवनलाई बिस्तारै अंगाल्दै गई रहेका छन्।
घरमै बनाउने मिठाइ र अन्य परिकारहरूको महत्त्व, तिनमा हुने पौष्टक गुण, स्वास्थ्यका हिसाबले पनि फाइदा जनक हो तर भिडियो,फोटो प्रर्दशन गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने नियतिनै अहिलेको मुख्य समस्या हो तसर्थ भावी पुस्तालाई आफ्नो संस्कृति र संस्कार बारे स्कूल तह देखिनै सिकाउन जरुरी छ।
हाम्रा भाषा, संस्कृति, मौलिकता, भेषभुसा, रहनसहनको पहिचान रहेसम्म हामी नेपालीको अस्तित्व रहने हुँदा यसको जगेर्ना संरक्षण अति आवश्यक छ।
Facebook Comment