दक्षिण कोरियामा नेपाली कामदार : सुनौलो अवसर र सहकर्मी बीचको द्वन्द्वले निम्त्याउने दुष्परिणाम

अर्जुन बराल
२७ माघ २०८१ ११:३८

सोल। दक्षिण कोरिया पछिल्लो समय नेपाली युवायुवतीको रोजगारका निम्ति आकर्षण गन्तब्य बनिरहेको छ। पछिल्लो समय यहाँको द्रूत आर्थिक बिकास, आधुनिक जीवनशैली, उच्च पारिश्रमिक, सुरक्षित कार्य वातावरण र रोजगारीका अवसरहरुले लाखौं बिदेशी कामदारहरु रोजगारका निम्ति आकर्षित भैरहेका छन्।

तर कोरियामा बसोबास गर्ने आप्रबासी कामदारहरुको दैनिकी केवल सकारात्मक पक्षहरुबाट मात्र भरिएको छैन। श्रमको शोषण, भाषा अवरोध, मानसिक तनाव, आपसी द्वन्द्वसँगै कानुन उल्लंघनका समस्याले गर्दा आप्रबासी कामदारको दैनिकीमा चुनौतीपूर्ण परिस्थिति सिर्जना गरेको छ।

केही घटनामा नेपाली युवायुवतीको पनि संलग्नता देखिएको कारण कोरियाली समाजमा नेपालीप्रति नकरात्मक प्रभावमात्र होइन रोजगार कोटालाई समेत आगामी दिनमा प्रभाव पार्ने देखिन्छ।

गोरखाका पदम आले रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट दक्षिण कोरिया आएको आठ बर्ष भयो। सुरुका सात बर्ष एउटै कम्पनीमा कार्यरत उनी त्यस कम्पनीमा आउँदा एक्लै थिए।

उनको कामप्रतिको लगाव, मिहिनेतले गर्दा आएको केही बर्षमै रोजगारदाताले पाँच नेपाली थप गर्यो। तर रोजगारदाता असल, काम सहज, आम्दानी चित्त बुझ्दो हुँदाहुँदै पनि सहकर्मी नेपालीलेनै मालिक लगायत कम्पनी म्यानेजरसँग नकरात्मक कुरा गर्ने गरेको कारण कोरियनले समेत नेपालीहरु एक अर्काको मिहिनेतमा डाहा गर्छन् भनी उदाहरण दिँदै अनावश्यक तर्क गर्ने, काम हुँदापनि कम्पनीले अतिरित्त समय नदिने लगायतका कारण उनी कम्पनी परिवर्तन गर्न बाध्य भए।

हाल उनी ख्यङिदो क्षेत्रमा रहेको एक प्लास्टिक कम्पनीमा काम गर्दछन्। उनी कार्यरत कम्पनीमा भियतनाम, म्यानमार, थाइल्याण्डसँगै नेपाली कामदार उनी मात्र हुन्। उनी हाल आफू एक्लै हुँदा खुसी रहेको प्रतिक्रिया दिन्छन्।

बझाङका प्रदीप रावतसँगै एक नेपाली बुसानको एक मोटर पार्टस् कम्पनीमा कार्यरत छन्। उनी आफ्नो कम्पनीमा धेरैभन्दा धेरै नेपाली ल्याउन चाहन्छन्। तर कम्पनी र आम्दानी राम्रो हुँदाहुँदै पनि कम्पनी अवलोकनका लागि आएका कोही पनि नेपाली काम गर्न चाहनै नराखी फर्किन्छन्।

कारण खोज्दै जाँदा सहकर्मी नेपालीले नेपाली नबसुन् भन्ने नियत राखी अनापश्यक भ्रम पैदा गराउन तर्क गर्ने गरेको उनी बताउँछन्।
थेगुको दक्षिणी भागमा रहेको औद्योगिक क्षेत्रमा रहेका एक नेपाली कामदारले कामको समयमा आपनो सहकर्मी नेपालीसँग तलब र कामको जिम्मेवारीका बिषयमा विवाद गरेका थिए।

विवाद झैझगडामा परिणत भई हातपात भयो। सहकर्मीले प्रहरीमा उजुरी गरे। झगडा गर्ने ब्यक्तिलाई कोरियाली कानुन अनुसार सार्बजनिक स्थानमा हिंसा गरेको आरोपमा जरिवानासहित तीन महिनाको सजाय तोकियो भने घटनापछि दुबैजना आफनो कामबाट निस्काशित भए।

ख्यङिदोको इछन क्षेत्रको कृषि क्षेत्रमा नेपालबाट सँगै आएका दुई नेपाली चेली खानाको बिषयमा लुछाचुडी र हानाहानको स्थितिमा पुगे। पीडित सहकर्मी महिलाले प्रहरीमा उजुरी पश्चात प्रहरीले नियन्त्रणमा लियो।

कोरिया प्रबेश गरेको एकबर्ष नहुँदै डाहा, रिस, इर्ष्या लाई नियन्त्रणमा राख्न नसक्दा गम्भिर कानुनी समस्यामा परेसँगै सहकर्मी बीचको विवादका कारण कामबाट बर्खास्त भै नेपाल फर्कन पर्‍याे।

कोरियामा सहकर्मी बीचको विवादको अर्को मुख्य कारण भनेको इर्ष्या, प्रतिष्पर्धा, झगडासँगै आर्थिक ठगी, ऋण नतिर्ने, मदिरा सेवनका कारण हुने विवाद र हिंसात्मक घटनाका कारण पछिल्ला समय एकअर्कालाई सहयोग गर्ने संस्कृतिको अभाब देखिएको छ।

दक्षिण कोरिया सरकारले कानुनी, सामाजिक र कार्यक्षेत्रका दायित्वहरुलाई धेरै महत्व दिने गर्दछ। अपराधको प्रकृति र गम्भिरताका आधारमा कानुन उल्लघंन गर्दा त्यसको परीणाम गम्भिर हुने गर्दछ।

बिशेषत यस्ता घटनाहरु प्रायः झैझगडा, गालीगलौज, हातपात, चोरी र ब्यक्तिगत बिबादका कारणनै भएका हुन्छन् भने यस्तो अवस्थामा घटेका घटनालाई फौजदारी, मानहानी, गालीगलौज अपराधको रुपमा दर्ता गरिने गरेको देखिन्छ।

दक्षिण कोरियास्थित नेपाली दूतावास स्रोत पनि पछिल्लो समय दूतावासमा सहकर्मीबाट पीडित भएको, बिभिन्न कानुनी झमेलामा परेको लगायतका घटनामा उजुरी आउने गरेको र केही घटना दूतावासको पहलमा समाधान भएको स्वीकार गर्छ।

स्रोत भन्छ, ‘दूतावासमा सहकर्मीबाट मात्रै पीडित भएको घटना मात्र नभएर कोरियन रोजगारदाताले पनि नेपाली कामदारबाट काम नहुने, कम्पनीका नीति नियम पालना नगर्ने, अनावश्यक बहस गर्ने जस्ता समस्याको गुनासो गर्ने गरेको र यसबाट कालान्तरमा नेपाली कामदारको कोरियाको रोजगार कोटानै गुम्न सक्ने खतरा रहेकोले बिबादलाई सौहाद्रपूर्ण संबादबाट समस्या समाधान गर्न उपयुक्त हुन्छ।’

दक्षिण कोरियाको कानूनी प्रणाली नागरिक कानूनी प्रक्रिया र फौजदारी कानूनी प्रक्रियाको मिश्रण हो र यसले बिभिन्न प्रकारका अधिकार र दायित्वहरुलाई सुनिश्चित गर्छ भने कानूनी प्रक्रियामा सार्बजनिक सुरक्षा र न्यायिक निष्पक्षताको महत्व हुन्छ।

कोरियामा रहँदा कानूनी र कार्यस्थलका नियमहरुको राम्रोसँग अध्ययन, सुरक्षा मापदण्ड र श्रम कानूनको पालना, सहकर्मी र रोजगारदातासँग स्वस्थ संम्बन्ध, दुब्र्यवहार वा कानूनी उल्लंघनको रिपोर्ट, प्रमाण संकलन, कानूनी प्रक्रियाको अनुसरणको मद्दतले जस्तासुकै घटनाबाट सुरक्षित रहन सकिन्छ भने जो कोहीले अपराध गरेर अपराधी ठहरिएमा कैद सजाय अपराधको गंभिरता, प्रकार र बिशिष्ट कानूनी दायरामा निर्भर गर्दछ भने कठोर परिश्रम, अनुशासन, भाषा ज्ञानको साथसाथै कानुनी प्रक्रियाबारे सचेत हुन आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *