अब म मुकुमलुङ जान्छु : राजेन्द्र महतो

डिसी नेपाल
२८ माघ २०८१ १८:४६

काठमाडौं । वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै नो केवलकार समूहले आन्दोलनको घोषणा गरेको छ। सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाइएको हो।

पत्रकार सम्मेलनमा संघर्ष समितिको तर्फबाट बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले अब आफू ८ गते मुकुमलुङ पद यात्रा गर्ने बताएका छन्।

आन्दोलनको कार्यक्रम मध्ये फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ घोषणा गरिएको छ। ‘८ गते समाजिक न्याय दिवस हो। त्यस अवसरमा मुन्धुम सभ्यता, मुकुमलुङको न्यायको निम्ति म त्यहाँ जान्छु। तपाईंहरू पनि जानुस् र विशाल पद यात्रा गरौं। अब लिम्बु एक्लै लड्दैन। अब कुनै समुदाय एक्ला एक्लै लडनु जरुरी छैन। डिभाइड एन्ड रुल अब चल्दैन। छुट्टाछुट्टै लडोस भनेर नै कोही बहिरिया यो आन्दोलनमा नआउनु भन्ने भाष्य निर्माण गर्न खोज्दै छ। तर, अब त्यो हुँदैन। अब हामी मिलेर लड्छौं,’ उनले भने।

अहिलेको सरकार निरंकुश तर्फ अघि बढेको उनको आरोप छ। ‘बोल्न पाइँदैन भन्ने आसयको कानुन ल्याउन खोज्दै छ। माघ १२ गते प्रहरीले सभ्यताको रक्षार्थ शान्तिपूर्ण संघर्ष गर्नेहरू उपर गोली चलाउने यी सबै निरंकुशताको उधारण हो। अब वार्तामा बोलाइरहनु जरुरी छैन। त्यहाँ केवलकार बन्दैन। निर्णय गरे पुग्छ,’ उनले भने।

आन्दोलित पक्षले माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेको थियो। सरकारले माग सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको महतोले बताए। अबको आन्दोलन अझै सशक्त हुने उनको चेतावनी छ।

आन्दोलनकारीले केबलकारको अनुभूति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने भएका छन्।

यससँगै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन्। त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहडताल गर्ने चेतावनी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *