पोर्चुगल र जापान पठाइदिने बहानामा साढे १४ लाख ठगी, दुई पक्राउ
![पोर्चुगल र जापान पठाइदिने बहानामा साढे १४ लाख ठगी, दुई पक्राउ](https://www.dcnepal.com/wp-content/uploads/2024/09/arrested-pakrau.jpg)
काठमाडौं । वैदेशिक रोजगारीको लागि पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं-१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ घर बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारा र लामालाई आइतबार पक्राउ गरेको हो।
जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख रुपैयाँ रकम ठगी गरेको आरोप छ। यस्तै, लामाले जापान पठाइदिने बहानामा एक व्यक्तिबाट ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ।
आकर्षक तलबको प्रलोभन पारेर रकम बुझेपछि फरार भएका जेठारा र लामाविरूद्ध पीडितले प्रहरीमा जाहेरी दिएका थिए।
दुबैलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comment