भ्रष्टाचार निवारण ऐन सम्बन्धि संशोधन विधेयक कार्यसूचीबाट हटाइएकोमा विरोध
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकलाई हटाउने कामको विरोध जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्र र रास्वपाले भ्रष्टाचार सम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाउने काम भएको भन्दै विरोध जनाएका हुन्।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारको आग्रहमा संसदले विधेयकलाई हटाइएको भन्दै आक्रोश व्यक्त गरे। उनले सरकारले संसद्लाई अपहेलना गरिरहेको र सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई ठीक ढंगले सुन्न नचाहेको आरोप लगाए।
भ्रष्टाचारका बिषय उठिरहदा राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकलाई नै हटाउनुले सरकार प्रति नै आशंका उत्पन्न भएको उनले बताए।
यता एमाले प्रमुख सचेतक महेश बर्तौलाले नियमावलीका आधारमा संसद चल्ने विषयलाई ख्याल राख्न माओवादीलाई सुझाव दिए। उनले संसदको सम्भावित कार्यसूचीलाई सभामुखको निर्देशन अनुसार हेरफेर गर्न मिल्ने धारणा राखे। प्रतिपक्षीले दलले नियमावली भन्दा बाहिर गएर धारणा राखेकाले केहि कन्फ्युजन भएको उनले बताए।
त्यस्तै रास्वपा सांसद गणेश पराजुलीले भ्रष्टाचार विधेयकलाई हटाउने काम भएको भन्दै आपत्ती जनाए। उनले संसदलाई सरकारले पेल्न खोजेको आरोप लगाए। सत्तापक्षले प्रतिपक्षीलाई दुईतिहाइको दम्भ देखाएको उनको भनाइ छ।
उनले संसद सञ्चालनमा सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने धारणा राखे। मंगलबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचार सम्बन्धी विधेयकलाई अघि बढाउने कार्यसूची रहे पनि अन्तिम समयमा हटाइएको थियो।
Facebook Comment