प्रतिनिधिसभामा विपक्षीको अवरोध, बैठक स्थगित
![प्रतिनिधिसभामा विपक्षीको अवरोध, बैठक स्थगित](https://www.dcnepal.com/wp-content/uploads/2025/02/475719917_651993554009962_2621463100201927678_n.jpg)
काठमाडौं।विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बसेको बैठकको बीचमा रास्वपा र माओवादी केन्द्रले अबरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो। बैठकमा नियम भन्दा बाहिर गएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएको भन्दै प्रतिपक्षीले आपत्ति जनाएका छन्।
शून्य समय चलिरहेका बेला सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले कांग्रेस सांसद रामहरि खतिवडालाई बोल्नका लागि २ मिनेटको समय दिएकी थिइन्। समय पाएपछि खतिवडाले रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा बेथिती भित्र्याएको,१६ महिना जुनियरलाई बढुवा गरेको तथा मोलतोल गरेर सरुवा भएकोजस्ता आरोप लगाएका थिए।
खतिवडालगत्तै रास्वपा सांसद गणेश पराजुलीले कुन नियम अन्तर्गत बोल्न दिइएको भनेर नियमापत्ति जनाए। ‘सरकार पक्षको यो पेलाई कस्तो हो? गरिमामय संसद् प्रक्रियाको लागि हामीसँग नियमावली छ। आकस्मिक समय, शून्य समय र विशेष समयको व्यवस्था गर्ने अधिकार सभामुखकै हो,’ उनले भने, ‘तर सरकारले जसरी जतिबेल मन लाग्यो त्यही बेला पेलान गर्न पाइन्छ? नियमापत्ति गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो कि भाषण सुनाउने हो? प्रतिपक्षीलाई दुई तिहाईको धाक दिने हाे सम्माननीय सभामुख महोदय? संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? हाम्रो यसमा घोर आपत्ति छ घोर विरोध छ।’
उपसभामुख इन्दिराले झुक्किएर सदन सुरुलगत्तै दिइने ३ मिनेटको विशेष समय खतिवडालाई दिएकी थिइन्।
उनले आफूले लिष्ट हेर्दा झुक्किएर बोलाएको भन्दै सदनको कारवाही अघि बढाउन खोजे पनि माओवादीका सांसद समेत उभिएर अवरोध गरेका थिए। उनीहरुले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरेका छन्।
Facebook Comment