मकुनाबाट सिक्नुपर्ने पाठहरु

बाबुकृष्ण कार्की
३० माघ २०८१ ७:२५

जुन दिन मकुना धर्ती हल्लिने गरी ढल्यो, त्यसले संरक्षण इतिहासमा एउटा तरंग ल्यायो। संरक्षण अभियन्ता, प्रकृति अधिकारकर्मी, पशुअधिकारकर्मी र मुख्यतः हात्तीका अध्येता, अनुसन्धाता र विज्ञहरुलाई गहिरो असह्य चोट पुर्‍यायो।

म आफू हात्ती संरक्षक, हात्ती गोठालो जस्तो गरेर स्वदेश विदेशबाट तारैतार फोनहरु आउन थाल्यो। पाथीभरा केवलकार विकास भ्रमले थकित् बनाएको दिमागलाई मकुनाको मृत्युले थप पीडादायी बनाएपछि म शान्ति खोज्न मोटरसाइकल यात्रा गरेर हिमाल पुगें।

हिउँको चिसोले ठण्डा दिमागमा फुरेका विगत र वर्तमान संरक्षण विरासतलाई लिपिवद्ध गर्दै गएँ। वयस्क हात्तीको अतृप्त आत्मासँग माफी माग्दै मकुनालाई स्वच्छ सफा हिमालमा उभिएर कञ्चन जल चढाउदै हार्दिक श्रद्धाञ्जली पुकारें। सफा हिमालमा पुगेर स्वतन्त्र मनले तयार पारेको त्यही लिपि नै यो आलेख हो।

ऐतिहासिक विरासत

२५ वर्ष अघि मलाई बाघ मार्ने आदेश आयो। आदेश दबाबमा परिणत भयो। चौतर्फी जोडबलको दबाब। खपिनसक्नु दबाबका दौरान बाघले एक बाट दुई बाट तीन जना मान्छे मार्‍यो। सबैजनालाई निकुञ्जको कोर एरिया भित्र मार्‍यो। बाघ आफ्नो लक्ष्मणरेखाबाट बाहिर आएन।

मलाई धर्मसंकट पर्‍यो। एउटा बाघ मार्नु हजार मान्छे मारेको पापले मलाई पोल्छ भनेर। हामीले बाघ पक्रिने प्रयास गर्‍यौं। लामो समय, ठूलो खर्च र उच्च जोखिम मोलेर बाघ समाउँदा “औराही पोथी” नामकी वयस्क बघिनी स्वस्थ थिइन्।

तुरुन्तै बँदेल सिकार गरेर उनले शक्तिशालीको प्रमाण पत्र पेश गरिन्। स्वस्थ डमरुहरुलाई जन्म दिइरहिन्। बाघको डरले अवैध घुसपैठ शून्य भयो। बाघ-मानव द्वन्द्व पनि शून्य भयो। बाघ मारेको भए १ मिनेटमा समस्या समाधान हुने। खर्च, जोखिम शून्य। तर म आजीवन बाघ हत्यारा हुने थिएँ।

बाघसँग मेरो ३ पटक जम्काभेट भयो। साथको बन्दुक छड्काउने विकल्पलाई आत्माले कहिले आदेश दिएन। बाघले मलाई सुँघेर जीवन दान दिएपछि त्यो जीवले मान्छेलाई विनाकारण मार्दैन र खादैन भन्ने आत्मविश्वास झाँगियो।

राम्रो आहारविहारको स्वस्थ बासस्थान र सहअस्तित्व स्थापित सुन्दर शान्त वातावरणले हुनुपर्दछ, तुलनात्मक रुपमा बर्दियाका बाघ र हात्ती शान्त, भद्र, नम्र देखिन्थे। स्थानान्तरण भै आएका गैंडा उत्पात् रिसाहा र तनावमा देखिन्थे।

मैले धेरै पटक तुफान दौडेर, रुख चढेर, कर्णालीमा हाम फालेर ज्यान जोगाएँ। पूरै फौजलाई अनिवार्य पौडी र रुख चढ्ने अभ्यास गराएँ। हजारौं जम्काभेट, सयौं आक्रमणलाई फौजले बन्दुक उठाएनन्।

यो ब्यवहारिक असल अभ्यास, ज्ञान र अनुभवबाट सिकेको पाठलाई हामीले संरक्षण मूल्य, मान्यता र आदर्श बनायौं- “आफूले संरक्षण गरेको अवोध वन्यजन्तु ईश्वर सरह छन्, अथवा, आफ्ना सन्तान बराबर हुन्। आत्मरक्षाको सवालमा समेत ती ईश्वर वा सन्तानमाथि गोली नदाग्ने। पश्चाताप र पापको भारी नबोक्ने।”

आजतक् यो शिक्षा र मान्यता सम्पूर्ण संरक्षणकर्मीहरुको भावना र रगतको कण–कणमा छ। केही दृष्टान्त हेरौं-

ध्रुवे हात्तीले अकल्पनीय मानवीय क्षति गर्‍यो। चीफ वार्डेन र उहाका सुरक्षाकर्मीलाई तनावग्रस्त राख्यो। पागल बनायो। धेरैको जागिर उडायो। तुरुन्त मार्नु र दाह्रा-खुर ल्याउनु भन्ने हजारौं आदेशलाई छलेर, जितेर हवाईफायरले हात्ती सुध्रियो।

आजसम्म ज्ञानी र शान्त भएर सहअस्तित्वमा ध्रुवे बाँचिरहेको छ। सुध्रेको ध्रुवेलाई मार्न निरन्तर दबाब आइरह्यो तर निकुञ्जले ध्रुवेको रातदिन अनुगमन गरेर उ सुध्रेको एकीन गरिरहेको छ।

आक्रमक हात्तीबाट भिडलाई जोगाउँदै गर्दा होनहार युवा क्याप्टेनलाई हात्तीले आक्रमण गरी ज्यान लिएको चितवनको घटना ताजै छ। तर संरक्षणकर्मीले हात्तीमाथि फायर खोलेनन्।

१५ वर्ष अघि गस्तीको अन्तिम सिपाहीलाई टिपेर ध्रुवेले नारायणीमा फ्याँकिदियो। गस्तीले फायर खोलेनन्। गत वर्ष चितवनमा गस्ती माथि भालुले धावा वोल्यो। एकजनालाई मराणासन्न आक्रमण गर्‍यो। भालुलाई जोगाउँदा सिपाहीको खुट्टामा गोली लाग्यो। तर, भालुलाई जोगाई छाडे।

मकालु बरुणमा भालुको आक्रमणबाट किसानको दुखद् मृत्यु भयो। पार्क हेक्वा र पार्क कर्मचारीमाथि गाउलेले प्रतिशोध धावा बोले। एकजना जम्दारले छाती थापेर पार्क कार्यालय र कर्मचारीको रातभर बचाउ गरे। वार्ताबाट द्वन्द्व समाधान भयो।

पर्सामा हवाई फायरलाई हात्तीले टेरेन। झन् उग्र भयो। हात्तीसारेको ज्यान लियो। गस्तीलाई धर्मसंकट। हात्ती जोगाउनु कि हात्तीसारे। जोगाउनु पर्ने दुबैलाई हो। तर चाहेर पनि संभव भएन। गस्तीलाई गाल पर्‍यो। गाल भन्दा ठूलो आजीवन पोलिरहने पश्चाताप।

यस्ता वन्यजन्तु आक्रमण र जीवन मरणका घटनाहरु असंख्य छन्। निकुञ्जभित्र हरेकले मृत्युसँग जुध्नैपर्छ र जित्नैपर्छ। हरेक वातावरण र वन्यजन्तु अध्येता अनुसन्धाताले मृत्युलाई नजिकबाट देखेको हुन्छ र जितेको हुन्छ।

स्थायी भएकोले निकुञ्ज कर्मचारीहरु, प्राविधिक, हात्तीसारेले अनगिन्ती मृत्युलाई पछारेका छन्, पचाएका छन्। मध्यवर्ती क्षेत्रका संरक्षणप्रेमी समुदाय र सिबिएपियुको मृत्यूसंगको लडाई र जित-हार उस्तै अकल्पनीय र पीडादायी छ।

नेपाली सेनाको पछिल्लो ३ दशकको मानव अधिकार सचेतना र पालना प्रशंसायोग्य छ। एक गोली फायर नखोली लगातार धेरै बर्ष शून्य शिकार हाँसिलको उपलब्धि यसको प्रमाण हो।

नेपाली सेनाले हँदैसम्मको संयमता, धैर्यता, लचकता, सहनशीलता, र जवाफदेहीता प्रदर्शन गरेर छाता संगठन पार्क प्रशासनको मातहतमा रही सम्पूर्ण संरक्षण साझेदार संघ-संस्थाहरुसँग हात साथ काँध मिलाएर यो जिम्मेवारी पूरा गर्दै आएको छ। स्थानीय समुदायलाई निकुञ्ज आरक्षको वास्तविक मालिक मानेर हरेक विपतको साथी र सुरक्षाको प्रत्याभूति भएर देखाएको छ।

हरेक सिपाहीले मन मस्तिष्कमा पहिला निकुञ्ज कर्मचारी, पर्यटक, स्थानीय समुदाय, वन्यजन्तु तथा उसको वासस्थान र आफ्नो सुरक्षालाई अन्तिम प्राथमिकतामा राखेको हुन्छ। यही आदर्शको अक्षरश पालना गर्दा हो ११६ सैनिकको ज्यान गएको। धेरैको अंगभंग भएको।

मकुनाको मृत्यु

मकुना नियन्त्रणको प्रयास काबु बाहिर गएको देखिन्छ। २ राउण्ड हवाई फायरले दच्किएको मकुना झन् रिसाएर आइलाग्छ। अर्को २ राउण्ड हवाइफायरले उ झन् उग्र हुन्छ र झम्टिन आउँछ। कुरुक्षेत्रमा मृत्यु सँगको त्यो खेलमा भुईँमा लडेका रेञ्जर तामाङको आत्मरक्षालाई मकुनामाथि फायर खोल्नै पर्ने बाध्यात्मक स्थिति आइलागेको देखिन्छ फायररलाई।

धन्य, रेञ्जर सहितको संयुक्त गस्ती रहेछ त्यो। नत्र झन् ठूलो अवगाल आइलाग्ने। चितवनमा ५० वटा पोष्टबाट २४ घण्टामा ५ सय गस्ती निस्कन्छन्, त्यो पनि अपर्याप्त हुन्छ। ४ सय गस्तीलाई रेञ्जर गेमस्काउट पुग्दैन, सेना एक्लै हुन्छ।

रेञ्जर तामाङ नभएर जमदार अल्फा भएको भए त्यही बन्दुक मान्छेप्रति निर्मम भएर हात्तीप्रति नम्र हुने थियो होला। पूर्व नजिरहरुले त्यही भन्छ-

कमाण्डरको मृत्युमा सिपाहीले वन्यजन्तु माथि फायर खोलेको देखिँदैन। धेरै मान्छे भन्दा थोरै दुर्लभ वन्यजन्तुलाई संरक्षण प्राथमिकता। तर निःशस्त्र रेञ्जर तामाङ दुर्लभ जनशक्ति हुन, बाचेदेखि आजीवन सय हात्ती, सय बढी बाघ र छ सय बढी गैडा संरक्षण व्यवस्थापन गर्ने स्थायी अधिकारी। उनको जीवनरक्षा र लगनले तुरुन्त नयाँ मकुनाहरु उत्पादन हुने छन्।

मकुनाको अतृप्त आत्मासँग म माफी माग्छु। किनभने २५ वर्ष देखि म प्रत्यक्ष अप्रत्यक्ष प्रशिक्षक अग्रजको भूमिकामा छु। यस अर्थमा, पापको भागेदार सामुहिक होइन म एक्लै लिन पनि तयार छु।

मानौं त्यहाँ सहकर्मी रेञ्जर, उनको फुच्चे हात्ती र गस्तीको मृत्यु हुन्थ्यो भने भुत्ते बन्दुकको के काम? भुत्ते लुते गस्ती भनेर आलोचना खेप्नुपर्ने थियो।
आलोचना र आक्रोसलाई हामीले सकरात्मक र रचनात्मक संरक्षण सुधारको अपेक्षा भनेर लिनुपर्दछ।

मकुना ढल्दा विश्व भरिका नेपालीको मुटु दुख्यो। त्यो समग्र प्रकृतिको अगाध मायाप्रेम हो र, संरक्षणको हुटहुटी हो। त्यसैले अव, शेष भइसकेको प्रकृति र पृथ्वीको भविष्य उज्वल छ भनेको हो।

मौन मुटुको व्यथा

विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जको मुटु मौन छ। आम आक्रोश र आलोचनाको रामवाण ओखती धैर्यता र सहनशीलताले भरिएको मौनता हो। प्रकृति र पृथ्वी जस्तै मौन रहनु पर्दछ निकुञ्ज र सुरक्षाकर्मी।

अहिले म पनि आलोचक हुँ। संरक्षण हुटहुटी र माया बोकेको आलोचक। तर आलोचना गर्नु अघि मैले स्वीकार्नै पर्छ- यो पृथ्वीमा सवैभन्दा धेरै तनाबग्रस्त र संकटग्रस्त ठाउँ कुनै छ भने त्यो विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्ज नै हो। जति धेरै मान्छे र विकास उति धेरै संकट। निकुञ्ज भरि मान्छे। गाउँभरि हात्ती गैंडा र बाघ। मान्छे र वन्यजन्तुको व्यवस्थापन संरक्षण कार्य प्रलय कठिन छ।

अर्को सत्य हेरौं, जसरी मातृभूमि अतिक्रमण भएर खुँडे छिन्, हरेक निकुञ्ज आरक्ष संरक्षणक्षेत्रको हालत झन खुँडे छ। राजपत्रमा उल्लेखित ९३२ वर्ग किमि क्षेत्रफल कागजमा हो, जमिनमा विश्व सम्पदा चितवन अपहरित छ, महाखुँडे छ।

हिजो भूमिहीनलाई राप्ती पारि बाँडेको सेतो लालपुर्जामा आज  तारे झिलिमिलि होटलहरु खडा छन् र पारि गैंडालाई गिज्याई रहेका छन्। नयाँ लालपुर्जाले पुनः गैंडालाई ताकिरहेका छन्। प्रार्थना छ-अब निकुञ्ज झन् खुँडे नहुन्।

संकटग्रस्त निकुञ्जका तनावग्रस्त व्यवस्थापक एवं संरक्षणकर्मीलाई हामीले हतोत्साहित होइन मनोवल र हौसला भर्ने काम गरिदिनु पर्दछ। प्रकृतिको भाग्यले संकटग्रस्त त्यो निकुञ्जले ऐले पृथ्वी कै अति योग्य, व्यावशायिक, स्वाभिमानी, दक्ष व्यवस्थापक र सुरक्षा कमाण्डर पाएको छ। बिग्रे भत्केको विश्व सम्पदा टाल्ने, मरमत संभार गर्ने र टल्काउने चम्काउने जिम्मेवारी त्यो टिमको काँधमा छ।

सुरक्षाकर्मीहरु औधी रोएछन्। मकुनालाई फूल माला चढाएर सलामी दिएछन्। छाक छाडेछन्। मुटु, हो त्यस्तो हुनुपर्दछ। बन्दुक होइन मुटुले गरेको संरक्षण सुन्दर, पक्का र दिगो हुन्छ। भविष्यमा यस्तो भवितब्यमा इतिहासबाट असल पाठ सिकेर फायर खोल्नु हुँदैन।

मकुनाले राष्ट्रिय मुटुलाई पनि रुवायो। छानविन समिति बनायो। राज्यलाई माथिसम्म दुख्नु सह्रानीय काम हो। संरक्षण संकल्प हो। यसलाई फिल्डले उच्च सम्मान गर्नुपर्दछ।

सुझाव

सानो हात्तीले भिमकाय जंगली हात्ती धपाइँदैन। कति गौरवशाली संरक्षण इतिहास थियो। साहसिक जब्बर हात्तीसारेले जब्बर जंगली हात्ती समातेर तालिम दिएर जंगली हात्ती अचेट्थे। धपाउँथे। महेन्द्रगञ्ज, दीपेन्द्रप्रताप, ठाकुरगज, धीरेन्द्र प्रसाद कुन्की हात्तीहरु र हात्तिसारेबाट पाठ सिकेर हात्तीसारकै सुधारमा ध्यान दिन सके त्यो स्वर्ण युगलाई फर्काउन सकिन्छ कि।

भारतस्थित गुजरातमा अनन्त अम्मानीले निजी लगानीमा ३ हजार एकड जमिनमा माउते, सुसारे, भेट डाक्टर, प्राविधिक, मान्छे र ३ हजार किसान राखेर अर्गानिक घाँस उत्पादन गर्ने, दैनिक १ हजार केजी पोषिलो सख्खर हालेको खिचडी र हजारौं केजी फलफूलको भोज खुवाउने र २ सय हात्तीलाई खुशी मस्त राखेको धार्मिक सेवाबाट पाठ सिकेर हाम्रो राज्यले हात्तीको स्वर्गमा हात्तीसारको हात्तीलाई स्वस्थ र शक्तिशाली राख्न विशेष ध्यान दिनुपर्ने देखिन्छ।

चितवनमा जंगली र पाल्तु २ सय हात्तीको समाज छ। गोविन्दे, ध्रुवे, रोमियो, रोनाल्डो, यमजग कमजोर भइसकेको अवस्थामा प्रजनन निरन्तरताको लागि तुलनात्मक शान्त र भद्र मकुना वरदान थियो। अपूरणीय क्षति भयो।

हात्ती संसारमा यो अपूरणीय क्षतिको संचार भइसक्यो र २ वटा भाले हात्तीहरु सर्लाही, महोत्तरी, रौतहटमा आइसकेको खबर छ। ती बीउ बैंकको विशेष निगरानी माया सुरक्षामा संवेदन भै ध्यान दिन जरुरी छ।

समग्र संरक्षण क्षेत्रहरु गम्भीर अतिक्रमण र क्षयीकरणको भुमरीबाट गुज्रिरहेको वर्तमान संक्रमणकालमा प्रकृतिले ठूलो न्याय पाएपछि राष्ट्रिय हौसला र मनोवल बढेको तथा सर्वत्र राष्ट्रिय खुशी छाएको मनोविज्ञान देखिन्छ। जुन फिल्डको लागि शक्तिशाली र रामवाण संरक्षण बुटी हो।

द्वन्द्व, संक्रमणकाल, कोभिड, डेंगु, प्राकृतिक विपतले तित्तर वित्तर पारेको बृहद टिमलाई सर्वोच्चको फैसलाले एउटै संरक्षण छातामुनि एकढिक्का भएर गोलवद्ध पारेको देखिन्छ। संरक्षणमा समर्पित सम्पूर्ण निकायहरुको एकता र टिमवर्कले उज्वल संरक्षण भविष्य इंगित गर्छ।

जुन अति जरुरी छ। राष्ट्रिय संरक्षण टिमले नेपाल भरि ओहोर दोहोर गर्ने हात्तीमाथि गोली हान्ने निर्णय गर्नु हुँदैन। त्यसले नेपालको संरक्षण छविमा कलंक लाग्दछ।

अन्त्यमा, कम शक्ति प्रयोगको सिद्धान्तलाई अक्षरशः पालना गर्दै आएको सुरक्षा फौजले शून्य फायरबाट सर्वोत्कृष्ट संरक्षण नतिजा हासिल गर्दै आइरहेको छ। र, भविष्यमा बिना फायर संरक्षण सुदृढीकरण एवं सुरक्षाको प्रत्याभूति दिन दत्तचित्तसाथ लागि पर्नुपर्दछ।

इतिहासमा नभएको यस्तो अप्रिय घटना पुनः दोहोरिन दिनु हुँदैन। भविष्यको संरक्षण बन्दुकबाट होइन संरक्षण माया भरिएको मुटुबाट हुनुपर्दछ।
हार्दिक श्रद्धाञ्जली प्रिय मकुनालाई।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *