वाम एकताको चर्चा : सत्ता गठबन्धनमा हलचल, झस्कियो कांग्रेस
![वाम एकताको चर्चा : सत्ता गठबन्धनमा हलचल, झस्कियो कांग्रेस](https://www.dcnepal.com/wp-content/uploads/2024/07/deuba-olio.jpg)
काठमाडौ। मुलुकको राजनीतिमा पुनः एकपटक वाम एकताको विषयले चर्चा पाएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्यमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग कम्युनिष्ट सहकार्यका विषयमा छलफल गरेको अभिव्यक्ति दिएपछि पुनः वाम एकताको विषय चर्चामा आएको हो। महासचिव शंकर पोखरेलको कम्युनिष्ट पार्टीहरूबीच सहकार्य गर्ने प्रस्तावले सत्ता गठबन्धनमा समेत तरंग उत्पन्न भएको छ।
आइतबार माओवादी उपमहासचिव वर्षमान पुनसँगको टेलिफोन संवादबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले कम्युनिष्ट पार्टीबीचको धु्रवीकरणका लागि आफूले प्रयास गरे पनि पुनले कुरा नबुझेको बताएका थिए। पछिल्लोपटक वाम एकताको प्रसंग सरकारले हालै जारी गरेका अध्यादेशलाई सदनबाट पारित गर्ने प्रयाससँग जोडिएर आएको हो ।
शनिबार माओवादी केन्द्रका उपमहासचिव पुनले पाल्पामा आयोजित पार्टीको एक कार्यक्रममा एमाले महासचिव पोखरेलले टेलिफोन गरेर अध्यादेश पारित गर्न सहयोग मागेको जानकारी दिएका थिए। पुनले कुराकानीका क्रममा आफूले अध्यादेशमा सरकारलाई सघाउन नसक्ने स्पष्ट पारेको समेत बताएका थिए।
लगत्तै महासचिव पोखरेलले अनौपचारिक कुराकानीलाई सहयोगको याचना भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि प्रकट गरे। पुनसँग असन्तुष्टि पोख्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमा ‘कार्यकर्ताको मन जोडेर बलियो कम्युनिष्ट आन्दोलनको निर्माण अबको बाटो हो ।
वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुनसक्छ ।’ महासचिव पोखरेलले पुनसँगको संवाद कम्युनिष्ट एकताको सन्दर्भमा पनि हुनसक्ने संकेत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म राजनीतिक धु्रवीकरणका सन्दर्भमा त्यसप्रति नेकपा एमालेको नीति स्पष्ट छ। विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अब पुनःत्यही काम गर्नु उचित हुँदैन । कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलनको निर्माण अबको बाटो हो ।’
पोखरेलको अभिव्यक्तिपछि एमालेसँगको सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेस भने झस्किएको छ । आफूसँग सत्तामा रहँदा रहँदै अन्य कम्युनिष्ट पार्टीसँग मिलेर अघि बढ्न खोजेको स्वीकारोक्ति महासचिव तहकै नेताबाट बाहिरिएपछि कांग्रेसका नेताहरू गम्भीर बनेका छन् । कांग्रेसभित्र पोखरेलको उक्त भनाइलाई तल्लो तहका नेतादेखि पार्टी सभापति शेरबहादुर देउवासम्मले गम्भीरतापूर्वक लिएको नेताहरूको भनाइ छ । पार्टी कामले आइतबार दाङ पुगेका सभापति देउवाले आफ्नो सचिवालयमार्फत पोखरेलको उक्त भनाइको आधिकारिकता पत्ता लगाउन निर्देशन दिएको स्रोतको भनाइ छ ।
सभापति देउवा पक्षकै प्रभावशाली नेताहरूले समेत पोखरेलको अभिव्यक्तिप्रति गम्भीर हुँदै सजग हुनुपर्ने सुझाव नेतृत्वलाई दिइसकेका छन् । हुन त कांग्रेसमा संस्थापन इतर समूहले पनि एमालेसँग मिलेर सरकार गठन गरेको मन पराएको छैन ।
खुलेरै इतर समूहका नेताहरूले सरकार र प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गर्दै आएका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महासचिव पोखरेलले कम्युनिष्ट पार्टीबीचको सहकार्यको कुरा सामाजिक सञ्जालमै बताएपछि कांग्रेसभित्र हलचल ल्याएको छ ।
पुनले फोनमा भएको कुरा बाहिर ल्याइदिएपछि महासचिव पोखरेलले अब त वर्षमान पुनसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखिएको टिप्पणी गरेका थिए। तर, महासचिव पोखरेलले वाम एकताको प्रयास भइरहेको आशयको अभिव्यक्ति दिए पनि माओवादी केन्द्रको नेतृत्वले भने तत्काल एमालेसँग एकता असम्भव जस्तै भएको दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको दाबी गरेका छन्।
सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन ।’ पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको समेत आरोप लगाउँदै भने, ‘ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेका छन् । हामीले धेरैपटक भनिनै सकेका छौँ । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’ अध्यक्ष प्रचण्डले यसअघि पनि दुई-दुईपटक संसद् विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गर्दै भने, ‘मैले मधेसी जनताका लागि दुईपटक संसद्मा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके ।’
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले टाउको गनेर अब वाम एकता नहुने जिकिर गरेका छन्। वामपन्थीहरू अब टाउको गनेर नभई नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्ने तर्क गर्दै नेता खनालले भने, ‘वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था छैन । वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।’
Facebook Comment