च्याम्पियन्स ट्रफीको मुखैमा बलिया टिमका स्टार खेलाडीहरु बाहिरिए
![च्याम्पियन्स ट्रफीको मुखैमा बलिया टिमका स्टार खेलाडीहरु बाहिरिए](https://www.dcnepal.com/wp-content/uploads/2025/02/co79kb9da72e1.jpg)
काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी सुरु हुन केही दिन बाँकी रहँदा उपाधिका दाबेदार मानिएका टोलीहरुबाट स्टार खेलाडीहरु बाहिरिएका छन् । एकदिवसीय विश्वकपको बहालवाला च्याम्पियन अस्ट्रेलियाबाट कप्तान प्याट कमिन्स नै बाहिरिएका छन् । यस्तै टि–२० विश्वकपको बहालवाला च्याम्पियन भारतका स्टार बलर जसप्रित बुमराह पनि प्रतियोगिता खेल्न नसक्ने भएका छन् ।
अस्ट्रेलियाको टोलीका कप्तान कमिन्स बाहिरिएपछि अब टोलीको कप्तानी स्टिभ स्मिथले गर्ने भएका छन् । यस्तै अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कले व्यक्तिगत कारण देखाउँदै टोलीबाट नाम फिर्ता लिएका छन् । अस्ट्रेलियाका स्टार बलर जोश हेजलवुड र अलराउण्डर मिचेल मार्श पनि चोटका कारण खेल्न नसक्ने अवस्थामा छन् । अलराउण्डर मार्कुस स्टोइनिसले सन्यास घोषणा गरेका छन् ।
भारतका स्टार बलर जसप्रित बुमराह सिड्नी टेस्टका क्रममा घाइते भएका थिए । उनी यो चोटबाट पूर्णतया निको भइसकेका छैनन् । उनले भर्खरै बैंगलुरुमा गराएको स्क्यानले उनी तत्काल बलिङमा फर्कन नसक्ने देखाएको इएसपिएनक्रिकइन्फोले जनाएको छ । बुमराह यसअघि चोटका कारण टि–२० विश्वकप पनि खेल्न सकेका थिएनन् । बुमराहको ठाउँमा भारतीय टोलीमा हर्षित राणालाई ल्याइने भएको छ ।
दक्षिण अफ्रिकाका स्टार फास्ट बलर एनरिक नोर्किया पनि घाइते भएपछि प्रतियोगिताबाट बाहिरिएका छन् । उनको ठाउँमा कोर्बिन बोचलाई टिममा ल्याइएको छ । पाकिस्तानका सइम अयुब पनि चोटका कारण प्रतियोगिता खेल्न नसक्ने भएका छन् । यस्तै अफगानिस्तानका स्टार फिंगरस्पिनर अल्लाह गजनफर पनि चोटका कारण बाहिरिएका छन् ।
Facebook Comment