बुलबुल भ्यालेन्टाइन डेमा फेरि रिलिज हुने
![बुलबुल भ्यालेन्टाइन डेमा फेरि रिलिज हुने](https://www.dcnepal.com/wp-content/uploads/2025/02/newskarkahna-news814690.jpg)
काठमाडौं । सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ ।
एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टीभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिडियो टीभी, रोकु टीभी एप र कम्प्युटरमा पनि उपलब्ध छ । यसैले हरेक वर्गका दर्शकले आफूले मनपर्ने फिल्म सजिलै हेर्न पाउँछन् ।
चलचित्रका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्न अत्याधिक माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको बताए ।
कहाँबाट कतिले चलचित्र हेरे र कति आम्दानी भयो भन्ने सबै चलचित्र निर्माता आफैँले पारदर्शीरुपमा हेर्न सकिने हुँदा चलचित्र निर्माताका लागि र दर्शकको लागि पनि घरमै बसीबसी विभिन्न प्लेटफर्ममा आफनो समयअनुसार चलचित्र हेर्न पाउनु आफैँ राम्रो भएको थापाले बताए ।
स्वस्तिमा खड्काले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरूमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् ।
निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए । यो चलचित्रले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो । संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो ।
चलचित्रमा अभिनेता मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ । मुकुनले २०१९ मा यही चलचित्रबाट आफ्नो फिचर सिनेमामा डेब्यू गरेका थिए ।
यही टिमले बनाएको हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शनमा आउँदै छ ।
Facebook Comment