परराष्ट्रमन्त्री आरजु राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज ओमन प्रस्थान भएकी छन्। आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राणा आज त्यसतर्फ प्रस्थान गरेकी हुन्ऽ
उनलाई परराष्ट्र सचिव अमृतबहादुर राई र परराष्ट्रका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन्।
उनी ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ प्रस्थान गरेकी हुन्। सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा मन्त्री राणाले नेपालका तर्फबाट सहभागिता जनाउने छिन्।
मन्त्री डा. राणाले यस सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गर्ने छिन्।
भ्रमणका क्रममा मन्त्री डा. राणाले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्।
भ्रमणका क्रममा आपसी सहयोगका विभिन्न क्षेत्रहरूका केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ।
परराष्ट्रमन्त्री डा राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (जिसीसी)मा आबद्ध राष्ट्रमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि छ। उनी यही फेब्रुअरी २० मा स्वदेश फर्कंने कार्यक्रम छ।
Facebook Comment