प्रधानमन्त्री ओली अलोकप्रिय बन्दै गएका हुन्?

काठमाडौं। पहिलो पटक प्रधानमन्त्री बन्दा केपी ओली भारतीय नाकाबन्दी विरुद्ध लिएको अडानका कारण नेपालीे राजनीतिमा लोकप्रियताको शिखरमा थिए। त्यो बेला प्रधानमन्त्रीको रुपमा ओलीले भारतले नेपालमाथि लगाएको नाकाबन्दी युद्ध कालको भन्दा पनि अमानवीय भएको भन्दै चर्को विरोध गरेका थिए।
ओलीकै अडानका कारण भारतले झण्डै ६ महिना लामो नाकाबन्दी खोल्न बाध्य भएको थियो। ओलीको सक्रियता नेपाली जनताले खासगरी युवा समुदायले निकै मन पराउने गरेका थिए।
तर, परम्परागत रुपमै नेपालको राजनीतिमा चासो र हस्तक्षेप गर्दै आएको भारतविरुद्ध उभिएका कारण प्रधानमन्त्रीका रुपमा पहिलो पटक ओलीको कार्यकाल ९ महिना भन्दा बढी जान सकेन।
उनले लिएको राष्ट्रियताको अडानका कारण समाजिक संजालमा ओलीका प्रशंसकको संख्या अधिक हुने गर्दथ्यो। ओलीले उठाएका आर्थिक एजेण्डालाई जनताले निकै मन पराएका थिए।
जसको फलस्वरुप ०७४ सालको आम निर्वाचनमा नेकपा एमाले संसदको सबै भन्दा ठूलो दलको रुपमा उदाएको थियो। पछि माओवादीसँग एकता गरेपछि त नेकपाको मात्रै संसदमा झण्डै दुई तिहाइ बहुमत थियो।
त्यो बेला ओलीले विकास निर्माणका कामलाई मेहनतका साथ अगाडि बढाएका थिए। तर उनले पार्टीको आन्तरिक विवाद समाधान गर्न नसक्दा पार्टी विभाजित बन्यो ओलीले दुई दुई पटक संसद विघटन गरे। जसका कारण उनको सरकारलाई सर्वोच्च अदालतले हटाइ दियो।
देश र जनतालाई अहित गर्ने काम नगरेपनि ओलीको लोकप्रियतामा भने ह्रास आइरहेको कतिपयको टिप्पणी छ।
कतिपयले सर्वोच्च मार्फत सरकारबाट ओली हट्नुको मुख्य कारण भारत भएको दावी गर्छन् । सदियौंदेखि भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्शा जारी गरेपछि विदेशीको चलखेलमा अदालतमार्फत ओली नेतृत्वको सरकार हटाएको दावी गरिएपछि यसको पुष्टि भने हुन सकेको छैन ।
त्यो बेलासम्म पनि ओली नेपाली युवा जमातमाझ लोकप्रिय थिए। उनी युवा लक्षित गतिविधि गरिहन्थे। युवा र किशोरहरुले मन पराउने ओलीलाई आजभोलि तिनै युवाहरुले मन पराउन छोडेका छन्।
प्रधानमन्त्रीका रुपमा ओली अहिले पनि सरकारको नेतृत्व गरिरहेका छन्। तर अहिले परिस्थिति भिन्न छ। सरकारमा गएर ओलीले गलत काम गरेको किटानी गर्न सकिने अवस्था छैन तर उनको विरोध गर्ने जमात भने बढिरहेको छ।
हुन त यो बीचमा स्थानीय तह र संघीय संसदमा केही नयाँ दलको उदय भएको छ। पुराना पार्टीप्रति जनतामा वितृष्णा फैलिरहेका बेला नयाँ दल र स्वतन्त्र व्यक्ति जनप्रतिनिधिका रुपमा उदाएका छन्।
कतिपयले राम्रो काम पनि गरिरहेका छन्। जस्तो काठमाडौं महानगरपालिकामा मेयर बालेन साह, धनगढी उपमहागरपालिकामा गोपाल हमाल र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ जस्ता जनप्रतिनिधिले युवाको मन जित्ने गरी काम गरिरहेका छन्।
त्यसको असर यतिबेला पुराना पार्टी र त्यसको नेतृत्व गर्ने नेताहरुले व्यहोर्नु परिरहेको छ। प्रधानमन्त्री ओली समाजिक संजालमा निकै सक्रिय रहने गर्छन्। उनलाई निकटबाट चिन्नेहरुका अनुसार उनी समय मिलेसम्म सबै न्युज पोर्टल र समाजिक संजाल नियाल्ने गर्छन्।
सामाजिक संजालमा उनका फलोअर्स पनि धेरै छन्। तर प्रधानमन्त्रीले सामाजिक संजालमा कुनै विषयमा प्रतिक्रिया जनाउँदा त्यसमा समर्थन गर्ने भन्दा गाली गर्नेको संख्या धेरै छ।
ओली समकालीन नेताहरुमा ‘भिजिनरी’ नेता मानिन्छन्। उनी निकै अध्ययनशील पनि छन्। हास्य रस भएका उनी आफ्ना भाषणमा उखान टुक्का जोडेर स्रोतालाई हसाउन सक्ने खुबी पनि राख्छन्।
प्रतिकूल स्वास्थ्यका बावजुद उनी राजनीतिमा सक्रिय छन्। प्रधानमन्त्री ओलीको सक्रियताप्रति धेरै मानिसहरु नतमस्तक हुने गरेका छन्। त्यसका बावजुद पनि प्रधानमन्त्री ओलीले राम्रो बोल्दा पनि उनको आलोचना गर्नेहरुले त्यसको विरोध गरिहाल्छन्।
ओली पार्टीभित्र युवालाई अवसर दिने नेताका रुपमा पनि परिचित छन्। जस्तो कि यतिबेला एमालेका प्रमुख सचेतक युवा नेता महेश बर्तौला छन् भने सचेतक विद्यार्थी राजनीतिबाट संसद छिरेकी सुनीता बराल छिन्।
चुनावमा पनि उनले युवा र चुनाव जित्न सक्नेलाई टिकट दिने गरेका छन्। जस्तै काठमाडौं महानगरपालिकाको उपमेयर सुनीता डंगोललाई चुनावको मुखमा एमाले भित्र्याएर उपप्रमुख बनाए। उनले चुनाव पनि जितिन्। युवासँग घुलमिल हुन रुचाउने उनै ओलीप्रति यतिबेला युवाहरु भने सकारात्मक देखिँदैनन्।
ओलीप्रति युवाहरु बिच्किनुको पछाडि कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गिरफ्तारीसँग जोडेर हेर्ने गरेका छन्। सहकारी ठगी प्रकरणमा रवि पक्राउ पर्दा ओली प्रधानमन्त्री थिए। ओलीले नै रविलाई पक्राउ गरेको भन्दै उनको चर्को आलोचना हुने गरेको छ।
अर्कोतर्फ काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बेला बेलामा प्रधानमन्त्री ओलीसँग सामाजिक संजालमार्फत बहस गरिरहेका हुन्छन्। सामाजिक संजालमा ओलीलाई भन्दा रवि र बालेनलाई मन पराउनेको संख्या अधिक हुँदा त्यसको असर ओलीले व्यहोर्नु परिरहेको छ।
नेपाली कांग्रेससँगको गठबन्धन गरेर प्रधानमन्त्री बनेका ओलीमाथि यतिबेला चौतर्फी प्रहार भइरहेको छ। सरकारबाट हट्नु परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारमाथि लगातार भ्रष्टाचारीको सरकार भएको आरोप लगाइरहेका छन्। भ्रष्टाचारमा आफ्नालाई जोगाउन र विरोधीलाई फसाउन सरकार तल्लीन भएको उनको आरोपलाई सामाजिक संजाल प्रयोगकर्ताले समर्थन गरेको पनि देखिन्छ।
अर्कोतर्फ ओलीसँग छिमेकी मुलुक भारत पनि खुशी देखिँदैन। ओली प्रधानमन्त्री बनेको सात महिना हुँदासमेत अहिलेसम्म भारत भ्रमणको निम्ता आएका छैन। प्रधानमन्त्री ओलीले पनि आफू भारत जान मरिहत्ते गरेका छैनन्। देश र जनतालाई अहित गर्ने काम नगरेपनि ओलीको लोकप्रियतामा भने ह्रास आइरहेको कतिपयको टिप्पणी छ।
Facebook Comment