भारतमा नेपाली विद्यार्थीको मृत्यु : घटना दबाउन नेपाली विद्यार्थीहरुलाई बलपूर्वक धपाइँदै

काठमाडौं । भारतको ओडिशा राज्यको भुवनेश्वरमा रहेको कालिंगा इन्स्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजीको होस्टेलमा एक नेपाली विद्यार्थीको शंकास्पद अवस्थामा मृत्यु भएपछि कलेज प्रशासनले निकै विवादित निर्णय गरेको छ । कलेजले नेपाली विद्यार्थीका लागि विश्वविद्यालय स्थायी रुपमा बन्द गरिएको भन्दै सबैलाई आफ्नो घर जान लिखित रुपमा निर्देशन दिएको छ ।
आइतबार साँझ विश्वविद्यालयको होस्टेलमा नेपालकी प्रकृति लम्सालको शंकास्पद अवस्थामा मृत्यु भएको थियो । उनी बीटेक तेस्रो वर्षकी विद्यार्थी थिइन् । उनका साथीहरुले आरोप लगाएअनुसार सोही कलेजमा मेकानिकल इन्जिनियरिङका विद्यार्थी अद्विक श्रीवास्तवले उनको शोषण गरेका थिए । तीन वर्षदेखि प्रेमको नाममा शोषण गरेका अद्विकले अचानक जागिर पाएपछि उनलाई छोडेर अर्कै शहर जान खोजेपछि प्रकृतिले यस्तो अप्रिय निर्णय गरेको विद्यार्थीहरु बताउँछन् ।
विश्वविद्यालयले भने आइतबार एक लिखित सूचना जारी गर्दै नेपाली विद्यार्थीका लागि विश्वविद्यालय स्थायी रुपमा बन्द भएकोले सबै नेपाली विद्यार्थीहरुलाई आफ्नो घर जान निर्देशन दिइएको बताएको छ । स्रोतलाई उद्धृत गर्दै ओडिशा टिभीले जनाएअनुसार खासगरी मेकानिकल इन्जिनियरिङसहित सबै नेपाली विद्यार्थीहरुलाई सामान प्याक गरेर बसमा चढ्न निर्देशन दिइएको छ ।
उनीहरुलाई जबरजस्ती युनिभर्सिटी बसमा चढ्न लगाइएको छ र उनीहरुलाई कटक रेलवे स्टेशन लगेर छोडिएको छ । उनीहरुलाई रेलवे स्टेशनमा छोडेपछि त्यहाँबाट आफ्नो घर जान निर्देशन दिइएको छ । नेपाली विद्यार्थीहरुलाई टिकटबिना र आफ्नो सबै सामानसमेत लिन नदिइ घर जान आदेश दिइएपछि विद्यार्थीहरुले विश्वविद्यालय बाहिर र रेलवे स्टेशनमा प्रदर्शन गरिरहेका छन् ।
‘हामीलाई कुनै ट्रेन टिकट वा अन्य कुनै जानकारी दिइएको छैन । हामीलाई जबरजस्ती बसमा हालियो, कटक पठाइयो र जतिसक्दो चाँडो आफ्नो घर जान भनिएको छ’ एक नेपाली विद्यार्थीले ओडिशा टिभीसँग भने । नेपाली विद्यार्थीहरुले विश्वविद्यालयले नै घटना दबाउन खोजेको र प्रमाण लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
केही विद्यार्थीहरुले आरोप लगाएअनुसार प्रकृतिले आफ्नो मृत्युपूर्व आफ्ना पूर्वप्रेमी अद्विक श्रीवास्तवले गरेको शोषणबारे विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उजुरी गरेकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले यो विषय दबाउन खोजेको र अहिले प्रकृतिको मृत्युपछि प्रमाण दबाउन खोजेको विद्यार्थीहरुको आरोप छ ।
‘विश्वविद्यालय प्रशासनले सत्यलाई दबाउन सक्रिय रुपमा प्रयास गरिरहेको छ । उनीहरुले उनको (प्रकृतिको) लिएर गए र अहिलेसम्म फिर्ता दिएका छैनन् । उपकुलपति र विश्वविद्यालय प्रशासनका हरेक व्यक्ति प्रमाण लुकाउन खोजिरहेका छन्’ प्रदर्शनकारी विद्यार्थीहरुको एक भिडियो रेकर्डिङमा एक विद्यार्थीले भनेको आवाज सुनिन्छ ।
विद्यार्थीहरुले सामाजिक संजाल पोस्टमार्फत विश्वविद्यालय परिसरमा विशाल प्रदर्शनको आह्वान गर्दै सहयोगको लागि आग्रह गरेका छन् । विश्वविद्यालय प्रशासनले भने विद्यार्थीहरुले लगाएको आरोप र प्रकृतिको मृत्यु प्रकरणका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । त्यहाँ प्रदर्शनकारीलाई दबाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Facebook Comment