महाकुम्भबाट फर्किएको कार भारतमा दुर्घटना: रुपन्देहीका तीन जनाको मृत्यु

डिसी नेपाल
५ फागुन २०८१ १६:३९

भैरहवा (रुपन्देही)। भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन्। महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरु सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए। देवदह नगरपालिका–९ का ३५ जनाको टोली कुम्भ मेलामा स्नान गर्न गएको थियो। पाँच कारमा सवार उक्त टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो। शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *