प्रकृतिको मृत्युबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण, ओडिसाको विधानसभामा उठ्यो प्रश्न

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युबारे प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको बैठकमा सांसदहरूले नेपाली विद्यार्थीमाथि भएको घटना सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आवाज उठेको हो।
नेकपा माओवादीका सांसद माधव सापकोटाले मृतक प्रकृतिको न्यायको लागि तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरे।
‘सरकारको तिव्र पहल कदमीको लागि माग गर्न चाहन्छु। मृत प्रकृति र उनका परवारलाई न्याय दिन सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद यथासिघ्र थालनी गरेर समस्याको समाधान गर्न जोडदार माग गर्छु,’ उनले भने।
नेपाली छात्रा लम्सालको भारतमा भएको रहस्यपूर्ण मृत्युको विरोधमा नेपाली विद्यार्थीहरू उत्रिदा नेपालको कुटनीतिक सम्बन्ध राम्रो नहुँदा अपमानजनक व्यवहार भएकोमा आपत्ति जनाए।
उनले भने,‘भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्यु भयो। त्यसपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गरेर विरोध गर्नुभयो। त्यहाँ अपमानजनक काम गरियो अमानविय क्रियाकलाप गरियो र सिङ्गो नेपालमाथि धावा बोलियो। तर सरकारको कुटनीति असक्षमका कारण त्यहाँ असुरक्षित र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरिरहेको छ।’
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छिमेकमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भएको बताएका छन्।
प्रकृतिको मृत्यु भएको प्रसङ्ग जोडदै सांसद झाले छिमेकी देशसँग ‘डिप्लोम्याट’ कमजोर भएको बताएका हुन्।
‘छिमेक देशमा नै हाम्रो डिप्लोम्याट कमजोर भयो, चौकीदारले पनि सजिलै नेपालीलाइ पिटन पायो, तिम्रो देशका बजेट भन्दा मेरो विश्वबिधालयको बजेट धेरै छ भनेर भनिरहेका छैनन, यो भनेको छिमेकी देशमा हाम्रो आत्मसम्मान छैन् भन्ने हो,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले भने, ‘अब डिप्लोम्याटमा रि स्ट्रक्चर गर्नुपर्छ।’
उनका अनुसार २२ लाख नेपाली भारतका बिभिन्न सहरमा कार्यरत रहेको तर कुटनीतिमा भने जम्मा १६ जना मात्रै काम गरिरहेका छन्। ‘यसले के देखाउँछ भने १ लाख १६ हजार नेपालीलाइ जम्मा १ जनाले हेर्नु पर्ने बाध्यता छ,’ उनले भने। उनका अनुसार नेपालीको आत्मसम्मान बढाउने गरी राज्यले कुटनीतिक पहल गर्नु ढिलाइ भइसकेको छ।
यस्तै सांसदहरू छविलाल विश्वकर्मा, ध्रुवबहादुर प्रधान, ठाकुर गैरे, बिना लामा, शान्ति विक, शेरबहादुर कुँवरलगायतले पनि प्रकृतिको मृत्युबारे छानबिन, दोषीमाथि कारबाही तथा केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको माग गरेका छन्।
भारतको ओडिसा राज्यको विधानसभामा पनि प्रकृतिको मृत्यु भएको विषयले प्रवेश पाएको छ। प्रतिपक्षी दलका सांसद्ले सरकारले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै आलोचना गरेका छन्।
प्रतिपक्षी दलका नेताले घटनाले प्रदेशको अन्तर्राष्ट्रियस्तरमै आलोचना भएको भन्दै विरोध जनाए। पूर्वमन्त्री समेत रहेका विजु जनता दल (बीजेडी) का नेता देवले प्रदेशको राजधानीदेखि अन्य क्षेत्रमा पनि सुरक्षा स्थिति खस्किँदो अवस्थामा रहेको बताएका थिए।
Facebook Comment