प्रकृति लम्सालको शव आज साँझसम्म नेपाल ल्याइने

काठमाडौं । भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ ।
भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ। शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ। प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए।
गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन्। प्रकृतिको शंकास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए। तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै आक्रमण र दुर्व्यवहार गरेको थियो।
सयौं नेपाली विद्यार्थीलाई होस्टलबाट निकालिएको थियो। अहिले पनि करिब एक हजार नेपाली विद्यार्थी विभिन्न सहरमा पुगेका छन्। केही नेपाल आइपुगेका छन्।
नेपाल र भारतमै पनि चर्को आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेको छ। प्रहरीले नौजनालाई पक्राउ गरेको थियो। जसमध्ये पाँच जना २० हजार धरौटीमा छुटेका छन्।
प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। श्रीवास्तवले पटक/पटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिँदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भइरहेको छ।
Facebook Comment