प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन

नारायणगढ (चितवन) । स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ।
प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको हो।
तिलक सापकोटा प्रतिष्ठान नेपाल गैँडाकोट–८ नवलपुरको आयोजनामा आश्रमका आश्रित बालिकाहरूलाई मिष्ठान्न भोजन खुवाइएको हो।
सो अवसरमा स्व सापकोटाकी धर्मपत्नी दुर्गादेवी सापकोटा, छोरा विश्व सापकोटा, गैँडाकोटस्थित विजय सामुदायिक एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत बेलबहादुर दराई र कमल कँडेललगायतको सहभागिता थियो।
उनीहरूलाई आश्रमका बालिकाहरूले स्वस्ती वाचन गरी स्वागत गरेका थिए। प्रतिष्ठानले थुप्रै सामाजिक तथा परापकारी काम गर्दै आइरहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने स्व सापकोटाका छोरा विश्वले जानकारी दिए।
शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत क्षेत्रमा विशेष गरी प्रतिष्ठानले सहयोगकारी भूमिका निर्वाह गर्दै आएको उनले बताए। पिताले समाजका पुर्याएको योगदानलाई जीवन्त राख्नका लागि प्रतिष्ठानले सहयोगकारी भूमिका खेल्दै आएको उनले उल्लेख गरे।
कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत दराईले स्व सापकोटाले समाजका लागि दिनुभएको योगदानको चर्चा गर्दै उनी समाजमा सकारात्मक रुपान्तरणका शिखर व्यक्तित्वका रूपमा रहेको स्मरण गरे।
सादगी र सरल स्वभावका स्व सापकोटाले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। आफ्नो गाउँ–ठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारमा एक अभियन्ताका रूपमा परिचित स्व सापकोटाले सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए। रासस
Facebook Comment