वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं ठगी, दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलाम सूर्योदय नगरपालिका-१० घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी छन्।
सरनले सिंगापुर पठाइदिछु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
Facebook Comment