नियात्रा

न्युयोर्कमा नापिएको नेपाल

खेमराज पोखरेल
२४ फागुन २०८१ ७:०८

अँ त म यति बेला न्युयोर्कको म्यानहटनको मुटुमै अवस्थित रुबिन म्युजियमका अगाडि छु।

सारथि भदाहा सालो सुमेश मलाई भन्दै छन्-आज भिनाजुलार्ई रुविन्स म्युजियममा नेपाल देखाउनु छ। नेपालबाट हराएका मूर्ति र पेन्टिङ देखाउनु छ।

कुरा बुझ्नु भयो नि यो याममा म समयको फेर समातेर न्युयोर्कमा छु। विशुद्ध यायावरीय मुडमा छु। श्रीमती सुशीला साथमा छिन्। सारथि सुमेश छन्। खर्चपानीको जोहो पनि मिलेको छ। त्यसो त जेपायो त्यही किन्ने हुँडार बानी पनि छैन मेरो। समयले पनि ‘हतार गर बित्यो’ भनेको छैन। यत्तिको परिवेशलाई यात्राका लागि सुसंयोग मानिरहेको छु।

घुम्न पाएपछि न्युयोर्क पो घुम्नु भन्ने आहान छ फिरन्ते संसारमा। संझिरहेको छु, ती आफ्नै दिन। ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ थियो मेरा लागि न्युयोर्क। न चेत, न बुता, न प्रयत्न, न क्षुधा केही त थिएन न्युयोर्क घुम्ने।

यसो गमेँ। मभित्र नै छ नेपाल। परदेशमा कहाँ खोज्ने नेपाल? तर तत्क्षण सम्झिएँ अमेरिकामा नेपाल सम्झाउने कुनै कुरा भयो भने हृदय गदगद हुन्छ। हो यही गदगद नै नेपाल हो कि! त्यसो त अमेरिका घुमेका बेला अघिल्ला वर्षहरूमा विविध परिदृश्यमा नेपाल-नेपालीलाई सम्झेका-भेटेका क्षण मेरा मगजमा घुमिरहेका छन्।

एउटा क्षण-न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनअगाडि पुगेको थिएँ। त्यहाँ सदस्य राष्ट्रहरूका राष्ट्रिय झन्डा फर्फराइरहेका थिए। त्यसमा नेपालको झन्डा पनि एउटा थियो। तर अनुभूत भएको थियो कि यो त राजनीतिक विषय हो। संयुक्त राष्ट्रसंघको सदस्य हुनुबाहेक के छ र?

दोस्रो क्षण-अमेरिकाको साल्टलेक सिटीस्थित युनिभर्सिटी अफ युटाह घुम्न जाँदा स्वतन्त्र विद्यार्थी युनियन भवनमा संसारभरिका झन्डाहरू फहराइरहेका देखेको थिएँ। त्यहाँ फरफराइरहेको नेपालको झन्डा देखेर एकपल्ट नेपाल नै पुगेजस्तो आह्लादित भएको थियो मन।

संसारभरिबाट विद्यार्थी पढ्न आउने भएपछि भावनात्मक रूपले विश्वविद्यालय पनि संसारभरिका सबै देशका हुने नै भयो। यही उदात्त भावनाले काम गरेको थियो सायद। तर म त खोइ किन हो नेपालको झन्डा देखेर मनभरि आफैँ मुस्कुराएको थिएँ।

तेस्रो क्षण- न्युयोर्कको ज्याक्सन हाइट घुम्न जाँदा बजार ठ्याक्कै नेपालजस्तो लागेको थियो। नेपालको जस्तै सडक पेटी कब्जा गरेर बेच्न राखेका तुलफूल। सडकमा फालिएका प्लास्टिक। नेपालमा पाइने के पाइन्न होला र ज्याक्सन हाइटमा ! त्यसैले न्युयोर्कको ज्याक्सन हाइटलाई मिनी नेपाल नै भनिन्छ नि। त्यहाँ त जताततै नेपालका यादहरू देखिन्छन् नि।

चौथो क्षण -एकपल्ट न्युयोर्ककै बियर माउन्टेन घुम्न गएका थियौँ। साँझको बखत भएर पनि होला। शिखरबाट वरिपरि निलाम्य देखिएथ्यो परिवेश। त्यहाँ नेपाली जस्ता देखिने करिब २५ जना जति थिए। नेपाली देखेपछि बोलिहाल्ने थुतुनो परेको छ आफ्नो। ती मान्छेलाई देखाएर मैले सुमेशलाई सोधेको थिएँ — सुमेश बाबु ! ती नेपालीजस्ता छन्। सोधौँ है कहाँका रहेछन् ?

सुमेशले मलाई भनेका थिए- आ भिनाजु ! न्युयोर्कमा त्यसरी नेपालीसँग बोलेर पनि साध्य हुन्छ। कुम पो ठोकिन्छ त।

तर पनि म तिनीहरूको नजिकै गएर ‘बा बोली हाल्छन् कि’ भनेर आफ्नै श्रीमतीसँग नेपालीमा उनीहरूले सुन्ने गरी बोल्न थालेको थिएँ। तर उनीहरूले मेरो नेपाली बोलीलाई मतलब गरेनन्। उनीहरू भने नेपाली भाषामा नै कुरा गरिरहेका थिए।

पाँचौँ क्षण – न्युयोर्कको रक फिलर सेन्टर पुगेका थियौँ नेपाल खोज्न। यो सेन्टरमा नेपालको झन्डा फहराइ रहेको देखेर मन त्यसैत्यसै आह्लादित भएको थियो त्यो बेला। न्युयोर्कको म्यानहटनको मिड टाउनमा रहेको त्यो रक फिलरमा संसारका प्राय सबै देशका झन्डाहरू टाँगिएको देखेको थिएँ।

एकसरो रक फिलरका बारेमा बुझि टोपलेको थिएँ। मूलत यो रक फिलर रेडियो सिटी, आइस स्केटिङका लागि रिंक, रुफटप गार्डेनका लागि विश्व प्रशिद्ध रहेछ। पर्यटकलाई आफ्नो देशमा पुगेको महसुस होस् र अपनत्व होस् भन्ने अभिप्रायले सन २०१९ मा विश्वका १९३ देशका झन्डा राखिएका रहेछन्। यसरी मैले न्युयोर्कमा नेपाल खोजेको थिएँ।

यी त भए मैले विविध प्रसङ्गमा अमेरिकामा भेटेका नेपाल-नेपाली।

तर यो पल्ट सुमेश बाबुले मलाई रुबिन म्युजियम घुमाउन ल्याएको कुराले उत्साहित मात्र भएको छुइनँ, हर्षले विभोर पनि भएको छु। त्यसो त न्युयोर्क यस्तो सहर हो जहाँ जुनी नै बिताए पनि घुमेर सकिन्न। त्यसैले गन्तव्य छान्नु नै पर्छ। छिमल्नु नै पर्छ फिरन्तेले। तर अहिले भने हाम्रो छनोट रुबिन म्युजियम परेकोले न्युयोर्कमा नेपालको यात्रालाई पर्खेर बसेको छु।

सन २०२१ को मध्य नोबेम्बर महिना छ। बिहानको याम भड्किँदै छ। नोबेम्बरको याम भनेको हिउँद हो। न्युयोर्कमा हिउँद ज्यादै पन्पिन्छ। विज्ञान तथा प्रविधिले प्रकृतिमाथि विजय प्राप्त नगरेको भए न्युयोर्कमा मान्छे के बस्न सक्दा हुन् र हिउँदमा ?

टिकट काटेर भित्र प्रवेश गर्दैछौँ। पस्तापस्तै पहिलो तलामा पुगिएको छ। सो पहिलो तलामा गणेशको मूर्तिले स्वागत गरेको छ। तर यो गणेशको मूर्ति नेपाली काँटको छैन। ११ औँ शताब्दीको भारतको मध्यप्रदेशलाई प्रतिनिधित्व गरिरहेको छ यो ढ्याब्रे भुँडे गणेशले। ३८०० पेन्टिङ, मूर्तिकला, हस्तलिखित सामाग्री सङ्कलन र प्रदर्शन गरिएको भन्छ सूचनाले।

त्यसपछि अन्डरग्राउन्ड तलामा प्रवेश गर्दै छौँ। अन्डर ग्राउन्ड तलालाई छोड्ने हो भने जम्मा ६ तलामा फैलिएको छ म्युजियम। अन्डरग्राउन्ड तलामा हिमालीय शृङ्खलाहरूका पूर्ण तथा पानोरमिक दृश्य भित्ताभरि फैलिएको छ।

आकाशे भिउबाट खिचिएको र बनाइएको हिम चित्रकला यति सशक्त छ कि हिमालका कान्लाकान्ला शिखर र खोँचखोँच दुरुस्त देखिएका छन्। बिजुलीका टहकमा चम्किएका ती तस्बिरका शृङ्खलाहरूलाई हेरिरहूँ जस्तो लागेको छ। न्युयोर्कमा पुगेर चित्रमा हेर्दा पनि म अनुभूत गरिरहेको छु कि अहो ! मेरो नेपाल कति सुन्दर छ।

यही बेला मैले रुबिन म्युजियम स्थापना गर्ने डोनाल्ड र सेली रुबिनलाई झन् श्रद्धाले सम्झेको छु। जानकारीले भन्छ कि डोनाल्ड तथा रुबिनले व्यक्तिगत तबरले सन १९७४ देखि सङ्कलन गरेका हिमालयन आर्टको प्रदर्शनी हो यो म्युजियम।

कलाप्रेमी रुबिनले यो म्युजियम बसेको भवन २२ मिलियन अमेरिकी डलरमा किनेर, त्यसलाई रिमोडलिङ गरेर सन २००४ देखि म्युजियम सञ्चालनमा ल्याएका हुन्। सन २०११ मा फेरि रुबिनले म्युजियमलाई २५ मिलियन डलरको गिफ्ट दिएर आफू म्युजियमको कार्यकारीबाट अवकास लिए।

आफैँले खर्च गरेर बनाएको म्युजियमको पद छोडे। यो सूचना थाहा पाउँदा म आश्चर्य चकित भएको छु। कसरी संकलन गरे होलान् यति धेरै कलाकृति ? वैद्य बाटो वा अन्य बाटो ? कति धेरै लगाव ? कति धेरै धैर्य ? कस्ता दानी मान्छे जन्मन्छन् यो धरतीमा। अहिले पनि रुबिनको नाम म्युजियम संसारमा श्रद्धाले लिइन्छ।
नमन डोनाल्ड तथा रुबिन !

यो म्युजियमको विशेषता नै हिमालय खण्डमा प्राचीन तथा मध्यकालमा विश्वलाई चकित पार्ने खालका कलाकृतिको सङ्ग्रह, सङ्कलन र प्रदर्शन गर्नु नै हो। गौतम बुद्धले भारतमा ज्ञान प्राप्त गरे र भारतबाट नेपाल, चिन, मंगाेलियमा फैलियो बुद्ध धर्म।

हिमालयन क्षेत्रमा बौद्ध धर्मको प्रचार प्रसार भयो। यो ऐतिहासिक सत्य मेराअगाडि नै लिखित थियो। यही बुद्ध धर्मसँग सम्बन्धित चित्रकला तथा मूर्तिकलाको प्रदर्शन म्युजियमको हेतु हो।

अन्डरग्राउन्डबाट भर्याङ उक्लेर दोस्रो तलामा प्रवेश गरेको छु। दोस्रो तलालाई ‘गेट वे अफ हिमालयन आर्ट’ नामकरण गरिएको छ। यो तलामा नेपाल, भारत, मङ्गोलिया, भुटान, चिन तथा पाकिस्तानका मूल रूपमा बुद्ध धर्मसँग सम्बन्धित चित्रकला तथा मूर्तिकलाका सामग्रीहरूको प्रदर्शन गरिएको छ। हस्तलिखित ग्रन्थ पनि प्रदर्शित छन्। यी कलाकृतिले हिमालयन सभ्यता तथा तत्कालीन संस्कृतिलाई मजाले उजागर पारेका छन्। विश्वका सामू पुर्याएका छन्।

घुम्दाघुम्दै मेरो नजर साइनबोर्डमा परेको छ। त्यहाँ ‘नेपलिज कनेक्सन’ भनेर लेखिएको छ। जाहिर छ म नेपाल कक्षमा प्रवेश गर्दै छु। नेपाल कक्षमा प्रवेश गर्नुको मतलब म मानसिक रूपले नेपाल प्रवेश गर्दै छु। नेपाल प्रवेश गर्दै गरेको भनेको म केही समय प्राचीन तथा मध्यकालीन नेपाली कलाको संसारमा पुग्दै छु।

त्यहाँ एउटा क्लिप बोर्डले बताएको छ कि बुद्ध धर्मसँग सम्बन्धित भए पनि तिब्बतका कलाकृतिले धार्मिक विषयवस्तुलाई प्राथमिकताका साथ बोकेका हुन्छन् भने तत्कालीन नेपाली कलाकृतिले तत्कालीन सामाजिक सांस्कृतिक विम्बलाई प्राथमिकताका साथ प्रस्तुत गर्दछन्। त्यसैले नेपाली कलामा समाजको सहनशील प्रवृत्ति, तन्त्र शास्त्र तथा बौद्ध धर्मको प्रयोगपरक रूप देख्न पाइन्छ।

प्रकारान्तरले भन्ने हो भने यो म्युजियममा प्रवेश गरेदेखि नै बौद्ध संसारमा प्रवेश गरेको अनुभूति भइरहेको छ मलाई। हिन्दुत्व बुझाउने सामग्री त चामलका बियाँ जस्ता मात्र देखिएका छन्। तर बौद्धसँग जोडिएर आएका हिन्दु देवीदेवताका सामग्री संलग्न छन्।

बज्र, मन्डला, सिद्धलक्ष्मी, बोधिसत्व अवलोकितेश्वर, गणेश, महाशिद्ध, हरित तारा, महाचक्र बज्रपाणी, भैरव, ईन्द्र, पद्मसम्भव तथा शाक्य मुनि बुद्धका जीवनसँग समबन्धित पेन्टिङ मात्र होइन नाग, विरुपाक्ष आदि विषय यो कक्षमा आकर्षण देखिएका छन्।

मजाको कुरा त के भने भित्तामा राखिएको एउटा साइनबोर्डले नेपालको कलाको इतिहास पनि बताइरहेको छ। काठमाडौँ उपत्यकाका नेवार कलाकारहरू हिमालयन क्षेत्रमा बौद्ध सम्बन्धी चित्रकलाका लागि प्रसिद्ध थिए भन्ने तथ्य लेखिएको छ यहाँ।

नेवार कलाकारकै कारणले गर्दा नेपालबाट तिब्बतमा कलाकारिता प्रचारप्रसार भएको ऐतिहासिक तथ्य उजागर गर्दै छ लिखत। नेपालका नेवार कलाकारहरूको माग तिब्बतमा थियो भन्दै छ लेखौट। नेपालको चित्रकारिता शैली, सुन्दरता, कलाकारिता सन १५०० भन्दा पहिले ‘शाक्य स्कुल अफ टिबेटियन बुद्धिज्म’ का लागि आधारस्तम्भ नै थियो भन्छ सूचना। त्यसपछि भने टिबेटियनहरूले नेपाली शैलीका चित्रकारिता तथा शैलीमा आफैँ बनाउन थाले भनेको कुरा पनि साँचो हो नि।

मध्यकालीन नेपाली बौद्ध परम्पराका चित्रकलामा तन्त्रले खेलेको भूमिकालाई पनि मजाले देखाइएको छ यो कक्षमा। मध्यकालीन नेपालमा तन्त्रविद्याले नेपाली जनजीवन तथा कलाको क्षेत्रमा विछट्टै प्रभाव पारेको तथ्यका बारेमा मैले पनि कक्षाकोठामा पढाएको सम्झना छ मलाई नै पनि।

नेपाल कक्षमा सबैभन्दा बढी महत्व दिएर १३ औँ १४ औँ शताब्दीको बोधिसत्व अवलोकितेश्वरको मूर्ति राखिएको छ (सी२००५ं१६.८)। नेपालमा अवलोकितेश्वरका १०८ रूप प्रशिद्ध छन्। तामाको यो मूर्तिलाई ज्यादै महत्त्वपूर्ण मानेर उललेख गरिएको छ।

नेपाल खण्डका अन्य आकर्षणमा ६ हाते महांकाल, मन्जुश्री, भैरवको बज्र बनाइएको मण्डला, बज्राचार्यले विशेष अवस्थामा लाउने मुकुट, प्रज्ञापारिमिताको हस्तलिखित ग्रन्थ तथा दुर्गादेवीले महिषासुरको बध गरेको मूर्तिलाई पनि महत्त्व दिएर राखिएको छ। विशेष आकर्षण भैरवको मखुन्डो छ। भगवान शिवले भैरवलाई शत्रुलाई तर्साउनका लागि प्रदान गरेको मखुन्डोलाई महत्व दिइएको छ। यसले तत्कालीन नेपालमा धर्म सहिष्णुता थियो भन्ने कुरा पुष्टि गरेको छ।

यसरी म पूराका पूर नेपाल पुगेको छु। नेपालको गौरवमा बशीभूत भएको छु। नेपालको तत्कालीन समयका कलाकारलाई सम्झेर धन्य भएको छु।

नेपाल कक्षबाट नचाहँदा नचाहँदै पनि पाइलाहरू अगाडि बढिरहेका छन्। दोस्रो तलाका कलाकृति हेर्दै खुला भर्याङ चढेर तेस्रो तलामा पुगेको छु। तेस्रो तलालाई ‘मन्डला ल्याब’ नामकरण गरिएको छ। यो ल्याबमा समावेश गरिएका मन्डलाहरू सबै नेपालमा बनेका जस्ता लागिरहेका छन् मलाई।

सायद मेरो नेपालीत्व बोलेको होला। मैले विश्वविद्यालयको कक्षा कोठामा प्राध्यापन गर्दा मध्यकालीन नेपालको व्यापार निकासीको एउटा कोमोडिटिज नेपाली मन्डला र श्रीयन्त्रका पेन्टिङहरू थिए भनेर पढाएको याद छ अझै। पछि नेपाली कलाकारहरूलाई तिब्बतमा नै झिकाएर बनाउन लगाए।

तिब्बती कलाकारहरू आफैँले पनि मन्डला बनाएर हिमालयन क्षेत्रमा व्यापार गरे। जे होस्, मन्डलालाई गौर गरेर हेरिरहेको छु। यो ल्यावमा ‘चेन्ज इमोसन इन्टु विज्डम’ भनेर लेखिएको छ। मन्डला साधनाको प्रमुख कुरा नै मान्छेमा हुने विकारजन्य इमोसनहरूलाई विज्डममा बदल्ने प्रक्रिया रहेछ। यसको साधना त मैले गरेको छुइनँ। तर पनि यो वाक्यले मेरो मनदिमाग हल्लाइदिएको छ।

चौथो तलामा टिवेटन बौद्धको पूजा गर्ने परम्परा बुझाउने कोठा छ। त्यो विशिष्ट प्रकारको छ। केही अन्तर्य फरक होला तर मेरा खुला आँखाले हेर्दा भने नेपालको बौद्ध, स्वयम्भु आदि बौद्ध स्तुपहरूमा देखिने बौद्ध परम्पराको पूजाकोठाभन्दा केही फरक लागेन। पाँचौ तलामा ‘जर्नी थ्रो हिमालयन आर्ट’ रहेको छ। बौद्ध धर्मसँग सम्बन्धित मान्यता तथा विचार कसरी हिमालयन क्षेत्रमा फैलियो भन्ने बारेमा बताइएको छ।

छेटौँ तथा अन्तिम तलामा ‘जर्नी टु अवेकनिङ’ का प्रक्रियाहरू देखाइएका छन्। गौतम बुद्धले भनेका आफ्नै वाणी ‘आई एम नट ए गुड और म्यान, आई एम अवेक’ लाई उद्दृत गर्दै जीवनको लक्ष्य चेतनाका हिसाबले ब्युझिनु हो भनिएको छ। जीवनको चक्रमा जरामरण छ।

पटकपटक जन्मनु पर्ने र मर्नु पर्ने ‘इन्डलेस साइकल अफ रिबर्थ’ बाट मानिसलाई कसरी मुक्त गर्ने भन्ने कुराबाट जीवन सुरु गरिएको छ। गौतम बुद्धका ८ वटा उपदेशलाई साइन बोर्डमा लेखिएको देखेर मनमा हलचल उत्पन्न भएको छ। वैराग्य उत्पन्न हुन खोजेको छ। साइनबोर्डलाई उभिएर गौर गरेर हेरिरहेको छु। राइट भिउ, राइट रिसोल्भ, राइट स्पिच, राइट कन्डक्ट, राइट लिभ्लीहुड, राइट इफोर्ट, राइट माइन्डफुलनेस, र राइट समाधि। कुरा त यत्ति छ। तर तिनका गुढ रहस्यका अन्तर्यभित्र पस्ने बुता खोजिरहेको छु।

अन्तत म्युजियम घुमाइ सकिएको छ। गाडीमा गएर सुस्ताएको छु। गाडी घरमुहाँ भएको छ। मेरो सुस्ततालाई ख्याल गरेर सुमेशले प्रश्न गरेका छन् — भिनाजु ! कस्तो लाग्यो म्युजियम ?

म कस्तो लाग्यो भनूँ ? र पनि भनेँ- ज्यादै सुन्दर लाग्यो। नेपाल पुगेजस्तै भयो।
यो मेरो औपचारिक तथा बनिबनाउ उत्तर थियो।

फेरि सुमेशले नै सोधे-तपाईँले जति नेपाल बोले पनि, लेखे पनि, खोजे पनि नेपालले तपाईँलाई पलायनवादी भनिहाल्छ। हो कि होइन लु भन्नु त ?

यो प्रश्नले मेरो मुटुमा छोएको छ।
यही बेला सम्झेको छु। एकपल्टको नेपाल यात्रामा मेरा अति शुभेच्छुक, नेपाली ज्ञानी मित्रले मलाई भन्नु भएथ्यो — तपाईँ जस्तो मान्छेले नेपाल छोडेर अमेरिका पलायन हुन नहुने।

मैले जबाफ दिएको थिएँ- म अमेरिका पलायन हुने मात्र होइन, कहिल्यै पनि जान्न। तर मलाई अमेरिकामा पाल्ने मान्छे छन्, नेपालमा पाल्ने कस्ले ?
उहाँ बेस्सरी हाँस्नु भएथ्यो।

म भने त्यही ज्ञानी साथीको कुरालाई सम्झेर यो बेला कल्पिरहेको छु। अमेरिकामा म आम नेपालीले बोल्ने नेपाली भाषा बोल्छु। नेपाली भाषा र साहित्यको वृत्तभित्र घुमेको छु। नेपाली खाना खान्छु। नेपालीले सोच्ने सोच्छु। अमेरिकाको राजनीतिक परिवर्तन वा अवस्थाले मलाई छुन्न। नेपाललाई दुख्दा म दुख्छु। म कसरी नेपाली होइन हँ ? म कसरी पलायनवादी भएँ हँ ?

तर त्यो मेरो ज्ञानी साथीको पारा देखेर भनेँ हाँस पनि उठेको छ। उसलाई अमेरिकी भिसाको लाइनमा उभिएको देखेको छु। सन्तानलाई भिसा लगाएर उडाएको पनि देखेको छु। फेसबुकमा फोटो राखेर निकै ठूलो युद्ध जितेको हुङ्कार गरेको देखेको छु। भिसा नलागेका क्षण त्यही फेसबुकमा अमेरिकामा बसेका वा पुगेका नेपालीहरू राष्ट्रद्रोही भएको, पलायनवादी भएको स्टाटस राखेको पनि याद छ मलाई।

उसले ‘अङ्गुर त अमिलो छ’ भन्ने आहानमा तुष्टि लिएको पनि सम्झना छ मलाई। त्यस्तै छ मेरो साथी। कुण्ठा लिएर बाँच्छ। ऊ यसरी बोल्छ कि अमेरिकामा बसेका नेपालीले नेपालका बारेमा सोच्न, बोल्न तथा लेख्न हुन्न। ‘कुवाको बेँङ’ हो मेरो साथी। खैर छोडौँ ती कुरा। मेरो आफ्नै साथी हो। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ। मैले हिँडिरहनु पर्छ। अनवरत। अनवरत। तर यो कुरा मैले मेरै हितैषी साथीलाई भनेको हुँ। सत्तेसत्ते तपाईँलाई भनेको होइन है।

अँ त मेरो साथीले मेरो कुरा मन पराए पनि वा मन नपराए पनि के मतलब ? बरु म अमेरिकामा अलमस्त र स्वतःस्फूर्त तालले नेपाल खोजिरहेको हुन्छु। तुलना चाहिँ गर्दिनँ। केको तुलना गर्नु यार ? कहीँ मीठाई र मासुको स्वादको तुलना हुन सक्छ र ? दुवै आफैँमा पूर्ण स्वादका होइनन् र ? मिसायो भने जीवनको स्वादको के नतिजा आउला ?

फेरि म्युजियमको एउटा साइनबोर्ड देखेर मनमा दिक्क लागेको छ। म्युजियममा गौतम बुद्धको बौद्ध धर्मलाई उत्तरी भारतमा जन्मेको भनेर लेखिएको छ (सी २०१३.१४)। कम्तिमा नेपालको लुम्बिनीमा बुद्ध जन्मेका हुन् भनेर लेखिदिएको भए पनि हुने नि यार !

साँच्ची फेरि एकपल्ट दिक्क लागेको छ कि ती कलाकृति नेपालका खाँटी तस्करले नेपाललाई रित्याएर बेचेका पनि हुनसक्छन् नि। त्यो मेरो साथी पनि त्यही कन्जरभेटिभ तस्कर पो हो कि ? मूर्ति बेचुवा पो हो कि ?

घर आइपुगेको छु। खानापछि ओछ्यानमा पल्टिएको छु। दिउँसोको बौद्ध संसार फेरि आँखामा आएको छ। मलाई यो बेला कस्तो बज्रस्वाँठ भएको अनुभूत भइरहेको छ। जिन्दगीलाई झेल र झमेला मात्र देख्दै छु। फोकटियाका वचनमा पनि चिन्तित छु। थैलीको आकारले ग्रसित छु। स्वाभाविक विस्मृतिभित्र अस्वाभाविक स्मृति खोज्दै छु। आफन्तका कोर्राले मर्माहत छु। सन्तानका मायामा लिप्त छु। देश दुखेर म दुख्छु। परदेश भोगेर आत्तिन्छु। टाउकोदेखि पुछारसम्म भौतिक दुखाइ छन्-पिरोलिन्छु।

सामाजिक सम्बन्धहरू धान्न नसकेर पसारा परेका छन्- बिनाबित्थाँमा चोचोमोचो मिलाउन खोज्छु। मदमा रमाउँछु। रन्किन्छु। दायित्व र सम्झौतालाई प्रेम भन्छु। मान्छे स्वार्थका गाडी चढ्छन्-म स्वार्थकै धुरी चढ्न खोज्छु। आडम्बरका खोल ओढ्छु। भित्र एउटा छु बाहिर अर्कै देखिन्छु। खोइ म के खोज्न हिँडेको हुँ कुन्नि ? मेरो यात्राको गन्तव्य कता छ ? कहाँ छ ?

आजको घुमाइले त म झन् थाकेको छु। मनवदन थाकेको छ। जीवनका आँख्लाआँख्ला दुखेको छ। सोच्दै छु मोक्षका सूत्रहरू कहाँ पुगे कुन्नि मेरो जीवनबाट ? खोइ मेरो मुक्तिको ज्ञान ? तर पनि म बुझ्दै छु, मेरो जीवनलाई। मैले आफैँले हुँदो न खाँदोसँग रुमल्याएको छु आफ्नै जीवनलाई। सांसारिक मायामोह, तृष्णा, मद, घृणा, स्वार्थ, भौतिक लेनदेन, नाफाघाटा, घोचपेच जस्ता कुराहरूलाई जीवनको मानक बनाइरहेको छु। म आफैँले आफैँलाई दुषित बनाइरहेको छु।

एउटा प्रश्न मेरासमीपमा उब्जिएको छ यति बेला। म अरूलाई उपदेश दिन माहिर छु। भनिरहेको छु। जान्ने पल्टिन्छु। तर आफैँ ब्युँझिने र आफैँबाट आफैँलाई जोगाउने चाहिँ कहिले हँ ? र कराएर बुद्धसँग सोध्दै छु कि ए बुद्ध ! दुनियाँ जता जान्छ जाओस्, म चाहिँ ‘इनलाइटेन्ड’ हुने कहिले ? प्लिज भनन यार ! आफैँबाट आफैँलाई जोगाउने कहिले ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *