लघुकथा : पाखे

“हैन, यत्रो ठूलो पार्टीमा आउने यो भिखारी को हो? ´मेनेजरले आफ्नो सहकर्मीसँग सोधे।
उनले आफू अनभिज्ञ रहेको बताउँदै भने, `निम्ता पठाउँदा पनि मानिसको स्तर हेर्नु पर्छ नि! आखिर मालिकको छोराको बिहे हो।´
मेनेजरले थपे , `छिटै गलहत्याउने काम गरौँ। पाहुना आउने बेला भैसक्यो।
ऊ भने कोहीसँग नबोली सरासर खाना लिएर टेबलमा बस्यो कपाकप खान थाल्यो। मेनेजर उसको छेउमा गए र हकारे , `तँ को हो? चिन्नु न जान्नुको मान्छे आएर यत्रो भव्य पार्टी बसेर खान लाज लाग्दैन, पाखे? यहाँबाट गइहाल्।´
ऊ रन्कियो, “को पाखे? खाइरहेको मान्छेलाई गइहाल भनेर मेरो अपमान गर्ने तिमी पो पाखे।´
मेनेजर पड्कियो , `लबस्तरो, बिना निम्तो आउने मान्छेको अझ यत्रो फुर्ती ?´
खल्तीबाट झिकेर निम्तो कार्ड देखाउँदै ऊ जङ्गियो, `कुरै नबुझी हकार्ने? मालिक विदेशमा भएकोले `मलाई जाऊ ´भनेर पो म आएँ नत्र यस्ता जङ्गलीको अनुहार त हेर्नु पर्ने थिएन।´
मेनेजर अली नरम भयो र भन्यो, `भव्य पार्टीमा आउँदा अलि ढङ्गको पहिरन त लगाउनु पर्ने थियो नि!´
उसले हाँस्दै भन्यो , `महाशय, लुगा भनेको लाज छोप्ने हो। कोट पाइन्ट लगाउँदैमा सभ्य हुने नत्र पाखे?´
गैंडाकोट ४, नवलपुर
Facebook Comment