प्रधानसेनापति खुला म्याराथनमा खड्का प्रथम

काठमाडौं । प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ।
शनिवार सेना दिवसका अवसरमा सैनिक मुख्यालय खेल मैदानमा उक्त प्रतियोगिता भएको थियो भने प्रतियोगितामा कूल तीन सय तीन धावक सहभागी भएका हुन्।
यस प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन्। उनलाई रक्षामन्त्री मानवीर राईले तीन लाखसहित ट्रफी र पदक प्रदान गरेका छन्।
यसैगरी कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे। उनीहरुले क्रमश ः दुई लाख र एक लाख नगदसहित पदक र प्रमाणपत्र पाए।
त्यस्तै, २१ किलोमिटर दूरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल प्रथम, शेर गण दलका अमलदार गजिन्द्र राई द्वितीय तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तृतीय भए। उनीहरुलाई प्रधानसेनापति अशोकराज सिग्देले क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित प्रमणपत्र प्रदान गरे।
महिलातर्फको २१ किमी दूरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोष श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा गरुढ दल गणकी प्युठ निर्मला केसी तेस्रो भएका छन्। उनीहरुलाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगद र प्रमणपत्र प्रदान गरेका छन्।
सेनाका महिला अधिकृततर्फको १० किमी दूरीको दौडमा उपसेनानीत्रय जिना गुरुङ, कुसुम तामाङ र अस्मिता जीसी क्रमश ः प्रथम, द्वितीय र तृतीय भए। त्यस्तै सैनिक महाविद्यालय तथा विद्यालय र राष्ट्रिय सेवा दलका कक्षा १० देखि १२ कक्षासम्म अध्ययन छात्रतर्फ चाणक्य माध्यामिक विद्यालयका विश्वराज कुँवर, सैनिक आवासीय महाविद्यालयका अमित थिङ र राष्ट्रिय सेवा दलका छात्र सुजित मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन्। यो प्रतियोगिता विसं २०७२ देखि निरन्तर हुँदै आएको छ।
Facebook Comment