नेपालप्रति अमेरिकी राष्ट्रपतिको अभिव्यक्ति आपत्तिजनक : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपाललाई दिएको सहयोगप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बास्कोटाले अमेरिकाले सहयोग दिएपछि नै नेपालले लिएको भन्दै सहयोगप्रति ट्रम्पको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन्।
उनले अब वैदेशिक सहायता स्वीकार गर्दा आँखा खोल्नुपर्ने अवस्था आएको धारणा राखे। नेपाललाई आएको सहयोगलाई लिएर नेपाललाई ठग बनाइएको र उल्टो प्रहार भएको भन्दै उनले सहयोगका सीमाहरू स्पष्ट पार्नुपर्नेमा जोड दिए।
अन्तराष्ट्रिय सहयोगका विषयमा नेपालको बजेटको सिष्टमलाई पनि सुधार गर्नुपर्ने उनको भनाइ छ। सांसद बास्कोटाले राजतन्त्र फर्काउने र गणतन्त्र मास्ने सपना कहिल्यै पूरा नहुने बताए। उनले सरकारको कामलाई लिएर व्यवस्थामाथिको प्रहार उचित नभएको जिकिर गरे।
बास्कोटाले प्रतिपक्षीमा रहेका माओवादी लगाएतका दलले पनि मुलुकको व्यवस्थालाई आघात पर्ने काम गर्न नहुने बताए।
Facebook Comment