एकसय वर्ष पुग्न लाग्दापनि लेखनमा ब्यस्त चारुशीला मिश्र आमा

अमेरिका बस्ने ९६ वर्षीया सम्मानित एकजना आमा हुनुहुन्छ, चारुशीला मिश्र, एकसय पुग्न चारै वर्ष त बाँकी हो। कमैले विश्वास गर्लान्, यस उमेरमा पनि उहाँ कविता, काव्य र जीवनी लेखनमा ब्यस्त हुनुहुन्छ।
तीन साता अगाडि उहाँले मलाई एउटा मन छुने चिठी लेखेर आफ्ना तीनवटा कृतिको सम्पादन गर्ने काम सुम्पिनु भयो। उहाँका कृति पढेर धेरै ठाउँमा मेरा गह भरिए। कतिपय ठाउँमा त पढ्दा पढ्दै लाग्यो आँखाले मेची र महाकाली नै बगाए।
यस्ता कृति पढ्ने , सम्पादन गर्ने अवसर मिलाइदिनुहुने भर्जिनियाँ निवासी मेरी आदरणीय बुढी फुपू दिदी डा. दुर्गा पोखरेललाई पनि मैले धन्यवाद दिन कन्जुस्याइँ गर्न हुँदैन। धन्यवाद, दुर्गा दिदी।
प्रदर्शनीमार्गको आर आर क्याम्पस र गोराखपत्र दैनिकको जागीरबाट सेवा निवृत्त भएपछि मैले आफूलाई अरुका कृति सम्पादन गरिदिने काममा होमेको छु।
मैले जति किताब सम्पादन गरे चारुशीला आमाको किताबमा एक छुट्टै खालको मन छुने विशेषता पाएँ ।
आमाले कृतिहरुमार्फत ईश्वर परिधानमा आफूलाई सुम्पिनु भएको रहेछ। उहाँले आफ्नो तीलस्मी लेखनबाट पाठकहरुलाई पनि भौतिकवादको मरुभूमिमा भन्दा ईश्वरीय मार्गमा लाग्दा मानसिक शान्तिको आभाष हुने संकेत गर्नुभएको छ।
आदरणीय आमा चारुशीला मिश्रका रचनाहरुमा दया, प्रेम, सेवा, सहानुभूति, परोपकार र मानव सेवाका अति उच्च भावना बेजोड प्रवाहमा बगेका छन्। उहाँले मलाई चिठीमा लेख्नु भए अनुसार १० वर्षको कलिलो उमेरमा उहाँको विवाह भयो।
रजस्वला नभई छोरीको कन्यादान गरिदिंदा पुण्य कमाउने सोचका पितामाताबाट विवाहको महत्व नै नबुझेकी कलिली एउटी फुच्चीले विवाह बन्धनमा बाँधिनुपरेको थियो। विवाहपछि रुँदै पराई घर जानुभएको थियो, उहाँमा पढ्ने तीव्र इच्छा थियो।
त्यसबेलाको समाज छोरीलाई पढ्न दियो भने छोरी बोक्सी हुन्छे भन्ने रुढीवादी सोचले ग्रस्त थियो। एउटा घरकी मायालु छोरी अर्का घरकी बुहारी बनेर भित्रिएपछि एउटा गोठकी बाच्छी अर्कैका गोठमा सरी। त्यहाँ उसलाई बाँध्ने दाम्लो अर्कै थियो, किलो अर्कै थियो। तर जुन गोठमा गयो बाच्छीले त्यहीँ रमाउनपर्ने बाध्यता जीवितै थियो। चारुशीला आमाका जीवनमा पनि त्यही भयो।
ती सानी गट्टा र लुकामारी खेल्ने वयकी दुलही नानी चारुशीलाको पढ्ने इच्छा झनझन प्रवल हुँदै गयो। ठुला चउरमा भेडाबाख्रा बसेजस्ता कितावका पानामा भरिएका बाङ्गाटिङ्ग काला धर्साहरुलाई कसरी बोलाउने होला, ती अक्षर पढ्न सके कस्तो हुन्थ्यो होला भनेर उहाँ गहिरिएर सोच्न थाल्नुभयो।
खाने मुखलाई जुँघाले छेक्दैन। उहाँले परिवारका सदस्यका आँखा चलेर अक्षर चिन्नुभयो। उहाँले कुनै विद्यालय, महाविद्यालयको अनुहार देख्न नपाएपनि सहयोगीहरुको सान्निध्यमा नेपाली अक्षर चिनिसकेपछि किताब पढ्ने दिलचस्पी बस्यो।
किताब पढ्नमा रस बस्यो। चुरोटबाजले चुरोट छाड्न सक्ला, गँजडीले गाँजा छाड्न सक्ला, अफिमचीले अफिम छाड्न सक्ला अनि जँड्याहाले जाँड छोड्न सक्ला तर किताब पढ्ने लत लागेका मानिसले किताब छाड्न सक्दैन। भगवान्ले पनि तँ चिता म पु¥याउँछु भन्छन् रे। उहाँले पढ्ने , पढेरै छाड्ने कुरा चिताउनु भयो। परमात्मा परमेश्वरले त्यसलाई तथास्तुको वरदान दिनुभयो।
त्यसैबीच उहाँका एकजना साथी बन्नुभयो शरद अमात्य। शरद अमात्यले उहाँलाई किताब सुटुक्क उपल्ब्ध गराउनु हुन्थ्यो। अमात्यजीले जस्ता असल मित्रको सम्पर्कले उहाँले धेरै किताब पढ्न पाउनुभएको थियो।
आफ्नो पूर्वस्मृतिका पाना पल्टाउँदै चारुशीला आमाले मलाई चिठीमा लेख्नुभएको छ , भान्सा कोठामा भात पकाउँदै गर्दा पनि उहाँ किताब पढ्नुहुन्थ्यो तर त्यसैबेला भान्सामा केही मानिस पसिहाले भने डरका मारे उहाँ त्यो किताब दाउरामा लुकाउन बाध्य हुनुहुन्थ्यो।
यसरी उहाँले डर, त्रासको भूमरीमा परेर पनि उपन्यास कथा, कविता आदि पढ्नु भएको थियो। कसैले कसैलाई सधैं गुन लगाउन कहाँ सक्छ र? साथी शरद अमात्यले त्यस्ता कठिन दिनमा किताब पढ्न दिएर लगाउनु भएको गुनलाई उहाँले जीवनपर्यन्त बिर्सनुभएको छैन। उहाँले शरद अमात्यको प्रशंसा गरेर उहाँलाई धन्यवाद दिन बिर्सनु भएको छैन।
उहाँ आज एकसय वर्षको हाराहारीमा पुग्नुभएको भएपनि तत्कालीन रुढी र अन्धविश्ससले जकडेको नेपाली समाजमा विद्यमान कुरीति विरुद्ध उहाँले विद्रोहको चिराग बाल्नुभएको छ। रुढीग्रस्त अन्धविश्वासका काला धब्बाहरुलाई खुर्केर महिलालाई पशुवत् व्यवहार गर्ने त्यसबेलाको समाजका विरुद्ध उहाँले आगो ओकल्नुभएको छ।
उहाँले धेरै कृतिहरु लेख्नुभएको छ। चारुशीला आमाको एउटा कुराले निकै चित्त दुखेको रहेछ, वृद्धाबस्थामा आफ्नो मस्तिष्कको व्यायाम गरेर सिर्जना गर्नुभएको श्रीमद्भागवत गीताको व्याख्या एकजना कथित् विद्वान्ले आफ्नै नाममा छपाएर आमालाई धोका दिनु भएछ।
त्यसलाई पनि स्रष्टा आमाले गरम शब्द कतै प्रयोग गर्नुभएको छैन, आमाभित्र पीयूषको घडा रहेछ त्यहाँबाट विष त कहाँ निस्कन्छ र। त्यस्ता कुराले मन कुँडिएको छनक चाहिं सजिलै पाउन सकिन्छ।
आमाको सुस्वास्थ्य तथा आरोग्यताका लागि भगवान पशुपतिनाथसित प्रार्थना गर्दछु। आमाबाट अझै हीरा , मोती , मणि माणिक्य झैं सुन्दर पुस्तक सन्तानहरु पैदा भइरहून्। हामी पाठक बनेर ती एक एक पढिरहन पाऊँ। अस्तु।
(श्रीगुरागाईं आरआर क्याम्पसका पूर्व आं प्राध्यापक , गोरखापत्र दैनिकका पूर्व प्रबन्ध सम्पादक , मधुपर्क , मुना , शमी , नवऋचा आदिका पूर्व सम्पादक हुन्।)
Facebook Comment