ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन

काठमाडौं। रुस-युक्रेन युद्धको बारेमा छलफल गर्न ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौता सुरक्षा ग्यारेन्टीद्वारा समर्थित हुनुपर्ने बताएका छन्।
राष्ट्रपति म्याक्रोनले युक्रेनमा शान्तिको अर्थ युक्रेनले समर्पण गरोस् भन्ने हुन नहुने बताएका हुन्। पत्रकार सम्मेलनमा उनले भने- ‘यो शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन, यसको अर्थ ग्यारेन्टी बिनाको युद्धविराम हुनु हुँदैन।’
ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने लागत र व्यय अमेरिकाले मात्र नभई युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका थिए।
ट्रम्पलाई जवाफ दिँदै म्याक्रोनले युरोपले सुरक्षा लागतलाई अझ समान रूपमा बाँडफाँड गर्ने आवश्यकता महसुस गरेको जवाफ दिएका थिए। उनले रुसी आक्रमणको तेस्रो वार्षिकोत्सवमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको पनि बताए।
ट्रम्पले आफूले सकेसम्म चाँडो युद्धविराम चाहेको बताउँदै यसबारे सहमति भएपछि उनी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रूस जाने बताएका छन्।
ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि दबाब बढाउँदै अमेरिका र युक्रेनबीच खनिज सम्झौता गर्ने अन्तिम तयारीमा रहेका छन्। उता युक्रेन अमेरिकासँग खनिज सम्झौता गरेर रुससँगको युद्धको सहज अवतरणको पक्षमा रहेको संकेत देखिएको छ। हालै जेलेन्स्कीले शान्ति वा नेटोको सदस्यता पाएमा आफू पद त्याग्न तयार रहेको बताउँदै यसको संकेत दिएका छन्।
Facebook Comment