महाकुम्भः आध्यात्मिक ऊर्जा, धार्मिक आस्था र संस्कृतिको संगम

बंशीकुमार शर्मा
१४ फागुन २०८१ ७:५०

वैदिक सनातनीको महान मेला महाकुम्भ भारतको उत्तरप्रदेश प्रयागराजमा चलिरहेको छ। तीर्थहरुको अधिपति प्रयागमा १४४ वर्षमा लागेको मेलामा करोडौं सनातनीले स्नान गरेका छन्। ४५ दिनसम्म लाग्ने मेलामा ४५ करोड भन्दा बढीले स्नान गरेका छन्।

बृहस्पति (ग्रह) बृष राशिमा र सूर्य मकर राशीमा परेपछि कुम्भमेला लाग्दछ। तर यसपटक सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ संक्रान्ति परेकोले महाकुम्भ योग परेकोले यसैलाई महाकुम्भ भनिएको छ।

आगामी १४४ वर्ष पछाडि यस्तो योग पर्ने जोतिषहरुले भनेका छन्। धर्मशास्त्रमा लेखिए अनुसार कुम्भ जम्मा १२ स्थानमा हुने जस्मा ४ स्थान पृथ्वीमा र ८ स्थान स्वर्गमा देवताहरुले मनाउने भनिए पनि अहिले पृथ्वीका ५ स्थानमा कुम्भ मेला लागिरहेका छन्।

भारतका चार स्थान र नेपालको एक स्थानमा कुम्भ मेला लाग्दछ। ती ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्रत्येक ३-३ वर्षको अन्तरालमा लाग्दछ भने १ कुम्भ स्थल नेपालमा पर्दछ। ती स्थानहरू इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश) नासिक (महाराष्ट्र) हरिद्वार (उत्तराखण्ड) चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) कुम्भ मेला एक स्थानमा प्रत्येक १२ वर्षमा लाग्ने गर्दछ।

हिन्दू धर्मका सबै ग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ। धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ। कुम्भ मेला वैदिक सनातनीको गहिरो धार्मिक परम्परा र आस्थाको प्रतिक हो।

जसले मानिसहरूलाई शुद्धता, मोक्ष र आत्मशुद्धिको मार्गतर्फ प्रेरित गर्छ। यो विश्वकै सबैभन्दा ठूलो धार्मिक तथा आध्यात्मिक मेला मानिन्छ। महाकुम्भको इतिहास पुरानो छ। धार्मिक ग्रन्थहरूका अनुसार सत्ययुगमा पहिलो महाकुम्भमेला आयोजना भएको मानिन्छ।

त्यस पछि शंकराचार्यले सुरुवात गरेका हुन् भन्ने उल्लेख गरिएको छ। कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो। कुम्भमेला समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ) का लागि देवता र दानवबीच युद्ध भएको पौराणिक प्रसंगसँग जोडिएको छ।

समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृत घडा लिएर भागिदिए, त्यसपछि ती देवता र दानवहरू पनि कलश लिन जयन्तको पछि लागे।

यस समयमा देवता र राक्षसबीच भयानक युद्ध भयो। जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ। अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर संग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको धार्मिक ग्रन्थहरुमा लेखिएको छ।

उक्त युद्ध १२ देववर्षसम्म चलेको थियो र प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ। कुम्भमेला भारतका चार स्थानमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। दुईटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ।

महाकुम्भ मेला हिन्दू धर्मावलम्बीहरूका लागि एक प्रमुख धार्मिक उत्सव हो। यो मेला प्रत्येक १२ वर्षमा एकपटक आयोजना गरिन्छ र हिन्दू धर्मशास्त्र अनुसार चार पवित्र स्थल-हरिद्वार, प्रयागराज (इलाहाबाद), उज्जैन, र नासिकमा पालैपालो मनाइन्छ। हिन्दू ग्रन्थहरू अनुसार, समुद्र मन्थनको क्रममा अमृत कलशबाट चार थोपा यी चार स्थानहरूमा खसेका थिए।

त्यसैले यी स्थानहरूलाई अत्यन्तै पवित्र मानिन्छ। अमृत घडा नेपालको चतरामा खसेको भनेर नेपालमा पनि कुम्भ मेला लाग्ने गरेको छ। कुम्भ मेलामा शाही स्नान – प्रमुख दिनहरूमा साधु-सन्तहरूको अगुवाइमा विशाल जुलुस निकालिन्छ र तीर्थयात्रीहरूले पवित्र स्नान गर्छन्।

धार्मिक प्रवचन र सत्संग-विश्वभरका प्रसिद्ध गुरुहरूले प्रवचन दिन्छन्। अखाडा जुलुस- विभिन्न साधु-सन्तका अखाडाहरू आ-आफ्नो झाँकीसहित मेलामा सहभागी हुन्छन्। योग र ध्यान- मेलाको अवसरमा योग, ध्यान, तथा आध्यात्मिक गतिविधिहरूको आयोजना गरिन्छ। महाकुम्भ केवल धार्मिक मात्रै नभई सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ।

यस अवसरमा विश्वभरका लाखौं वैदिक सनातनीहरु तीर्थयात्री, साधु-सन्त, धार्मिक गुरु, तथा पर्यटकहरू मेलामा सहभागी हुन्छन्। यसको प्रभाव सामाजिक मेलमिलाप, धार्मिक सहिष्णुता, र आध्यात्मिक चेतनामा पर्छ।

अहिले भारतको उत्तर प्रदेशस्थित प्रयागराजको गंगा, जमुना र अदृष्य सरस्वती नदीको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला चलिरहेको छ। प्रयागराजमा जारी महाकुम्भ मेलामा भक्तजनहरूको अत्यधिक उपस्थिति रहेको छ।

मेलाको आकर्षणका त्रिवेणी संगममा गंगा, यमुना र अदृश्य सरस्वती नदीको सङ्गमस्थलमा स्नान गर्न करोडौँ सनातनी भक्तजनहरू उपस्थित भएका छन्। १४४ वर्षमा एकपटक लाग्ने यो दुर्लभ महाकुम्भमा अहिलेसम्म ४५ करोडभन्दा बढी श्रद्धालुहरूले पवित्र स्नान गरिसकेका छन्।

त्रिवेणी संगम क्षेत्रमा ब्यानर, पोस्टर तथा झिलिमिली बत्तीहरू सजाइएको छ। मेलास्थलमा तीर्थालुहरूका लागि सुविधासम्पन्न अस्थायी टेन्ट हाउसहरू निर्माण गरिएका छन्। मेलामा वास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर, तथा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन्।

६ हजार शय्या सहित सरकारी तथा निजी अस्पतालहरू तयारी अवस्थामा छन्। एयर एम्बुलेन्स, सडक एम्बुलेन्स, तथा हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने व्यवस्था गरिएको छ। भक्तजनहरूको सहज स्नानका लागि विभिन्न घाटहरू निर्माण गरिएका छन् भने मोटरबोट तथा डुङ्गाहरूको उचित व्यवस्था गरिएको छ।

महाकुम्भ मेलामा विश्वभरबाट आएका भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिन्छ, जसले यस मेलालाई विश्वकै सबैभन्दा ठूलो धार्मिक तथा आध्यात्मिक मेलाको रूपमा स्थापित गरेको छ। भक्तजनहरूको उपस्थितिले यो महाकुम्भ मेलाले विश्वमा हुने सबै जमघटलाई पनि उछिनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *