संसद‍्माथि सरकारको निरन्तर बलमिच्याइ : सांसद शर्मा

डिसी नेपाल
१३ फागुन २०८१ १६:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसद‍्माथि सरकारको निरन्तर बलमिच्याइ भइरहेको बताएकी छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले संसद‍्बाट पारित विधेयकमाथि मन्त्रीले संशोधन हुने गरेको र संसद्‍मा विचाराधिन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुनुले संसदमाथि सरकारको निरन्तर बलमिच्याइ पुष्टि भएको बताइन्।

सांसद् शर्माले सरकारलाई सांसदहरुले सोधेका प्रश्नको जवाफ सरकारले नभइ सत्तारुढ सांसदले दिने अवस्था बनेको जिकिर गरिन्।

उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्ने भन्दै सभामुखले रुलिङ गर्न माग गरिन्।

सांसद शर्माले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दल खोलेर राजनीतिमा आउन सुझाव समेत दिइन्।

उनले सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै यसबाट बाहिर निस्कन सरकारले गरेको तयारी सदनमा जानकारी गराउन माग गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *